एयर युरोपाको विमान टर्ब्युलेन्समा फस्यो, ब्राजिलमा आकस्मिक अवतरण

डिसी नेपाल
२० असार २०८१ १५:५०

काठमाडौं । स्पेनको राजधानी म्याड्रिडबाट उडेको एउटा विमान ब्राजिलमा आपतकालीन अवतरण गरिएको छ ।

उरुग्वेका लागि उडेको एयर युरोपाको विमान टर्ब्युलेन्समा फसेको थियो, जसमा करिब ३० यात्रु घाइते भएका छन् । यसपछि विमानलाई डाइभर्ट गरी ब्राजिलको नताल एयरपोर्टमा अवतरण गरिएको हो ।

सोसल मिडियामा विमानका तस्बिर र भिडियो भाइरल भइरहेका छन् । घटनाको समयमा विमानको एक भागको छतमा क्षति पुगेको रिपोर्टहरूले दाबी गरेका छन्। धेरै सिटमा पनि क्षति पुगेको छ ।

शक्तिशाली कम्पनका कारण धेरै यात्रु विमानको छतमा ठोक्किए । यस क्रममा एक यात्रु अड्किए, जसलाई पछि अन्य मानिसहरूले तल ल्याएका थिए।

टर्ब्युलेन्सको क्रममा एक महिलाको घाँटीमा चोट लागेको थियो । धेरै मानिस घाइते भए । एयर युरोपा कम्पनीले आफ्नो विज्ञप्तिमा बलियो टर्ब्युलेन्सका कारण विमानको आपतकालीन अवतरण गरिएको जनाएको छ ।

घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ । यात्रुहरूलाई उरुग्वे लैजान दोस्रो विमानको व्यवस्था गरिएको छ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरूले भनेअनुसार टर्ब्युलन्समा घाइते भएका अधिकांशलाई सामान्य चोटपटक लागेको छ ।

तर, कतिपयको हड्डी र मांसपेशीमा पनि चोट लागेको छ । यसअघि गत मे २१ मा सिंगापुर एयरलाइन्सको विमान टर्ब्युलेन्समा फसेको थियो ।

यस क्रममा ७३ वर्षीय यात्रुको मृत्यु भएको थियो भने १०४ जना घाइते भएका थिए । उक्त विमान लण्डनबाट सिंगापुर जाँदै थियो ।

खराब मौसमका कारण एयर टर्ब्युलेन्समा फसेको उडान ३ मिनेटमै ३७ हजार फिटको उचाइबाट ३१ हजार फिटमा ओर्लिएको थियो । एक्कासी उचाइ घटेपछि धेरै यात्रु आफ्नो सिटबाट खसेर घाइते भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *