राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य हुँदैन : मन्त्री श्रेष्ठ

डिसी नेपाल
२० असार २०८१ १९:३०

चितवन। बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने बताएका छन्।

बिहीबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि.सं. ५ गोताखोर तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने भन्दै दीर्घकालीन राजनीतिक स्थायित्वका लागि मुख्यगरी तीन कुरामा संविधान संशोधन गर्नुपर्ने बताए। उनले विद्यमान मिश्रित निर्वाचन प्रणालीको ठाउँमा प्रत्यक्ष प्रतिस्पर्धासहितको पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनु पर्ने बताए।

त्यस्तै, वर्तमान शासकीय स्वरुप परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली बनाउनुपर्ने उनको भनाइ छ। मन्त्री श्रेष्ठले पहिचानको ५ र सामथ्र्यको ४ आधारमा राज्य पुनर्संरचना गर्नुपर्ने पनि बताए।

मन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बलले गोताखोरजस्तो सामान्य मानिसले गर्न नसक्ने जोखिमपूर्ण तालिम र तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गरेर विपद्मा परेका मान्छेको जीवन बचाउने काम गरेको भन्दै प्रशंसा गरे।

उनले आगामी दिनमा प्रदेश सरकारले सशस्त्र प्रहरीलाई सहयोग जारी राख्ने बताए। उनले गोताखोर तालिम केवल व्यक्तिगत वृत्तिविकासका लागि मात्र नभई संगठन र जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व बहन गर्नु भएको बताए।

उनले बाढी, पहिरो र डुवानका समस्याहरुमा आमजनतालाई सेवा प्रदान गर्नको निम्ति पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिए । उनले गोताखोर तालिममा सिकेका सिपको अधिकतम प्रयोग गर्न पनि जोड दिए।

पाँच हप्ता अवधिको उक्त तालिममा १९ सशस्त्र प्रहरी कर्मचारी सहभागी रहेका थिए। तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई चितवनको कुरिन्टारस्थित त्रिशुली नदी, कास्की जिल्लाको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराईएको थियो।

गोताखोर तालिम प्राप्त जनशक्तिलाई थप विस्तार गर्दै लैजाने उद्देश्य अनुरुप २०७६ सालदेखि सशस्त्र प्रहरी कर्मचारीहरुलाई नेपालमा नै पहिलो पटक गोताखोर तालिम प्रदान गर्न सुरु गरेको र हाल सशस्त्र प्रहरी बल नेपालमा ११० जना गोताखोर तालिम प्राप्त जनशक्ति रहेको बताइएको छ ।

सशस्त्र प्रहरी बल नेपालबाट हालसम्म २ सय ७३ वटा घटनामा परिचालित भई ८ सय २ जनाको जीवितै उद्धार गरिएको र ३ सय १७ वटा शव निकालिएको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *