झापामा दुई वर्षमा एक सय २० किलोमिटर तटबन्ध

डिसी नेपाल
२० असार २०८१ २३:१६

झापा। जनताको तटबन्ध कार्यक्रमअन्तर्गत झापाका विभिन्न नदी किनारमा दुई वर्षमा एक सय २० किलोमिटर बाँध निर्माण भएको छ। बाँध निर्माणपछि हजारौँ बिघा खेतीयोग्य जग्गा र मानव बस्ती बाढीबाट जोगिएको छ।

आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा उक्त तटबन्ध निर्माण भएको हो। बाँध निर्माणमा रु तीन अर्ब ८९ करोड ३५ लाख खर्च भएको तटबन्ध निर्माण आयोजना कार्यालयका सूचना अधिकारी महेश खत्रीले बताए।

जिल्लामा छ वटा नदीमा तटबन्ध निर्माण भइरहेका छन्। कार्यालयले मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा र मावा नदीको बाढी र जमिन कटान रोक्न विसं २०७४ मा विस्तृत परियोजना प्रतिवेदन बनाएर तटबन्ध निर्माण आयोजना अघि बढाएको थियो।

आव २०७९/८० मा एक सय १७ किमी र आव २०८०/८१ मा तीन किमी बाँध निर्माण भएको छ। पछिल्लो वर्ष सरकारले तटबन्धका लागि विनियोजन गरेको बजेट पर्याप्त नभएको आयोजनाले जनाएको छ।

विगत दुई वर्षमा मेची नदीमा १० दशमलव ५३ किमी, बिरिङमा २७ दशमलव ८५ किमी, कनकाइमा २७ दशमलव ९८ किमी, कमलमा १४ दशमलव ९८ किमी र रतुवा–मावामा ३८ दशमलव ६१ किमी बाँध निर्माण भएको खत्रीले जानकारी दिए।

जिल्लाका प्रमुख पाँच नदीमा तीन सय चार किमी लामो तटबन्ध निर्माण गर्ने आयोजनाको लक्ष्य छ। दुई वर्षमा लक्ष्यको तुलनामा ३९ दशमलव पाँच प्रतिशत मात्र भौतिक प्रगति भएको पाइएको छ।

लक्ष्यअनुरूप तटबन्ध निर्माण गर्न रु १७ अर्ब ६१ करोड सात लाख ५२ हजार बजेट आवश्यक पर्छ। आव २०८०/०८१ मा रु छ करोड ६५ लाख विनियोजन भएको थियो। तटबन्ध निर्माण १९ ठाउँमा भइरहेको छ। सबैभन्दा बढी रतुवा–मावा नदीको छ स्थानमा बाँध निर्माण भइरहेको छ। कमल नदीमा चार, कनकाइमा चार, विरिङमा तीन र मेचीमा दुई ठाउँ तटबन्ध निर्माण भइरहेको आयोजनाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *