जबजविरोधी दुई दलीय शासन प्रणालीको पक्षमा एमाले महासचिव शंकर पोखरेल

शरद रिजाल
२१ असार २०८१ १०:५०

काठमाडौं। एमालेको २०४९मा सम्पन्न पाँचौं महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीले पेश गरेको ‘नेपाली क्रान्तिको कार्यक्रम’ नामक राजनीतिक दस्ताबेजलाई एमालेले हालसम्मै जनताको बहुदलीय जनबाद(जबज) का रुपमा आफ्नो पथप्रदर्शक सिद्धान्त मान्दै आएको छ।

एमालेमा झलनाथ खनाल, सीपी मैनालीलगायत नेताहरुले सुरुदेखि नै जबजमा असहमति राख्दै यसको विरोध गरेका थिए। उनीहरुले जबजलाई कम्युनिष्ट पार्टीको राजनीतिक कार्यक्रमका रुपमा अस्वीकार गर्दै यसलाई संसदीय पूँजीवादी चरित्रको दस्ताबेजका रुपमा चित्रण गरेका थिए।

त्यस बेला राजनीतिक कार्यक्रमका रुपमा पार्टीमा बहुमतले पारित भएपछि यसप्रति असहमति राख्ने नेताहरुले पनि स्वीकार्न बाध्य भएका थिए। यद्यपि २०५४ र २०७८मा  एमाले दुई पटक विभाजित हुँदा पनि केही समय जबजको स्वामित्व लिने दुबै पक्षको होडबाजी नै चलेको थियो।

अहिले जबजमा फरक मत राख्नेहरु अलग भइसके पछि एमालेले जबजको पक्षमा आफ्नो दर्बिलो अडान कायमै राख्दै एकल स्वामित्व लिने भएको छ। एमालेबाट विभाजित एकीकृत समाजवादीले जबजलाई आगामी राजनीतिक कार्यक्रमका रुपमा अस्वीकार गर्दै नयाँ समाजवादी कार्यक्रम तय गर्ने बताएको छ।

यता, एमाले अध्यक्ष केपी ओलीले केही दिन अघि जननेता मदन भण्डारीको ७३औं  जन्मजयन्तीको अवसरमा जबजको सान्दर्भिकता यथावत रहेको बताएका थिए।यद्यपि, जबज तत्कालीन परिस्थितिमा तय गरिएको एमालेको राजनीतिक कार्यक्रम थियो। अहिले राजनीतिक परिवेश नितान्त भिन्न अवस्थामा पुगेको छ।

मुलुकमा राजतन्त्रात्मक शासन व्यवस्था रहेको समयमा तय गरिएको राजनीतिक कार्यक्रम जबज अहिलेको सन्दर्भमा यसको उपादेयताको बारेमा पनि बहस हुँदै आएको छ।

तत्कालीन महासचिव भण्डारीले त्यसबेलाको राजनीतिक अवस्था र सोही अनुरुपको मार्गचित्र प्रस्तुत गरिएकोे राजनीतिक दस्ताबेजका रुपमा रहेको जनताको बहुदलीय जनवाद(जबज)लाई एमालेले अहिले पनि आफ्नो कार्यदिशाका रुपमा हुबहु अपनाउँदै आएको छ।

यसको व्याख्याता मानिने नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले नेपालमा दुई दलीय शासन प्रणालीको आवश्यकता रहेको वकालत गर्दै आएका छन्। एमालेमा अध्यक्ष ओलीको जबजप्रतिको अडानजत्तिकै प्रतिबद्धता महासचिव पोखरेलको पनि छ। उनलाई एमालेभित्र जबजको पक्षमा दृढतापूर्वक उभिएका जानकारका रुपमा चित्रण गरिन्छ।

जबजले स्पष्टताका साथ बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरेको छ। अर्थात् प्रतिस्पर्धाका आधारमा श्रेष्ठता हासिल गुर्न नै एमालेको प्रस्तावित राजनीतिक कार्यक्रमको रुपमा रहेको जबजको मूलमन्त्र हो।

तथापि महासचिव पोखरेलले राजनीतिक स्थायित्व र समृद्धिका लागि दुई दलीय व्यवस्था अपरिहार्य भएको बताउँदै आएका छन्।

नेपालको सन्दर्भमा धेरै दल नै अस्थिरताको कारक भएको उनको निचोड छ। उनले दुई दलीय धु्रबीकरणमा जोड दिँदै एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गरिरहेका छन्।

महासचिव पोखरेलले दुई दलीय प्रणालीको पक्षधरता दर्शाउँदै गर्दा उनीमाथि राजनैतिक रुपमा जबज विरोधी अभिव्यक्ति दिएको जबजका दस्ताबेजबाटै प्रष्टै भएको छ।

जबजमा संवैधानिक सर्वोच्चता, बहुदलीय प्रतिस्पर्धा, विधिको शासन, बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष, शक्ति पृथकीकरणको सिद्धान्त र आवधिक निर्वाचनलगायतका प्रतिस्पर्धात्मक प्रजातान्त्रिक प्रणालीलाई समावेश गर्दै त्यसलाई अंगीकार गरिने बताइएको छ।

जबजकोे ३ नं बुँदाको उपबुँदा ९को पहिलो बुँदामा स्पष्टरुपमा ‘संविधानको मर्यादाभित्र सबै राजनीतिक पार्टीहरुलाई राजकीय निकायहरुमा शान्तिपूर्ण ढंगले प्रतिस्पर्धा गर्ने स्वतन्त्रता रहनेछ’ भनी उल्लेख गरिएको छ।

यस्तै जबजले निर्दिष्ट गरेको यसका थप विशेषताहरु अन्तर्गत बुँदा ४ (५) को ‘बहुदलीय प्रतिस्पर्धाको प्रणाली’मा एउटा मात्रै पार्टीको एकछत्र शासन प्रणाली एकप्रकारको निरंकुश र तानाशाही हुने उल्लेख गरिएको छ।

यद्यपि महासचिव पोखरेलले एकदलीय कम्युनिष्ट प्रणालीको पक्षमा भने आफ्नो धारणा व्यक्त गरेका होइनन्। तर उनले नेपालमा वामपन्थी र प्रजातान्त्रिक गरि दुई कित्ताको राजनीतिक धु्रबीकरणका पक्षमा जोड दिएका हुन्।

यसको अभिप्राय पनि बहुदलका बीचको प्रतिस्पर्धालाई निषेध गर्ने नीति हो। यसले नयाँ दलको राष्ट्रिय राजनीतिमा आगमनलाई बञ्देज लगाउँदै दुई दलीय आधिपत्य कायम गराउने छ।

पोखरेलको दुई दलीय प्रणालीले जबजमा समावेश गरिएको वाम एवं प्रजातान्त्रिक समान शक्तिकाबीच आपषमा हुने प्रतिस्पर्धालाई पूर्णतया निषेध गरेर अधिनायकत्वलाई बढावा दिने देखिन्छ। यसलाई एमालेको जबजमा कहिँकतै पनि स्थान दिइएको छैन।

उनको यो अवधारणा पूर्णतया जबजमा समाविष्ट कार्यक्रमको विरुद्धमा छ । उनकोे दुई दलीय प्रणालीको वकालत र जबजको पक्षधरता परस्पर विरोधी अभिव्यक्ति हुन्।

बहुदलीय प्रतिस्पर्धालाई किटानका साथ स्वीकार गरिएको जबजमा महासचिव पोखरेलको पछिल्लो अभिव्यक्तिले विरोधाभाष उत्पन्न गराएको छ। उनले दुई दलीय प्रणालीको पक्षधरता कायम राख्ने हो भने जबजले दर्शाएको बहुदलीय प्रतिस्पर्धाको अवधारणालाई एमालेले परिमार्जन गर्न जरुरी छ।

जबजको औचित्य कायमै रहेको बताउने महासचिव पोखरेलको अभिव्यक्तिले नेपाली क्रान्तिको कार्यक्रमका रुपमा प्रस्तुत जबजमा समावेश राजनीतिक कार्यक्रम औचित्यहीन तुल्याउँछ।

जबजमा परिमार्जनको आवश्यकता नदेखेका उनले दुई दलीय प्रणालीको अपरिहार्यता व्यक्त गर्नु घोर जबज विरोधी कदम हो।

यसकै उपज उनकै प्रमुख सक्रियतामा सोमबार दुई ठूला र प्रतिस्पर्धी दल कांग्रेस एमालेको सत्ता सहकार्य सुरु भएको समेत चर्चा गरिएको छ।

समानुपातिक निर्वाचन प्रणालीका कारणले संसदीय आकार बढाएका दल लक्षित निर्वाचन प्रणाली संशोधन गर्ने द्विपक्षीय सहमति भएको समाचार सार्वजनिक भएको छ। मिश्रित निर्वाचन प्रणाली परिमार्जन गरिएमा त्यसको प्रत्यक्ष मारमा साना दल पर्ने निश्चित छ ।

एमाले महासचिव पोखरेलले आवश्यकता औंल्याएको दुई दलीय प्रणालीमा मुलुकलाई लगिएमा त्यसले बहुदलीय प्रतिस्पर्धालाई निष्तेज गर्दछ, जुन जबजको मूलमर्म विपरित रहेको छ।

सबै दलबीच समान प्रतिस्पर्धालाई स्वीकार गरेको जबजले अमुक दलीय सिण्डीकेटलाई पूर्णतया अस्वीकार गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *