यात्रा संस्मरण बारेका केही कुरा
विश्वका विभिन्न ठाउँहरूको यात्रा पश्चात् लेखिएका लेख तथा संस्मरणहरू पढ्ने रहर र ती ठाउँहरूको प्रत्यक्ष भ्रमण गर्ने इच्छा मेरो मनमा सानै छँदादेखि जागेको हो।
निकै सानो छँदा माता-पितासँग राजधानीभित्रैका मन्दिरहरू जस्तै दक्षिणकाली, सूर्यविनायक, बुढानिलकण्ठ, साँखु बज्रयोगिनी, पशुपतिनाथ, गुह्येश्वरी, बौद्ध, स्वयम्भू आदि र काठमाडौं, पाटन, भक्तपुरका दरवार क्षेत्र र गोकर्ण, गोदावरी, ककनी, अनि उपत्यका बाहिरका नजिकका ठाउँहरू जस्तै बनेपा, धुलिखेल, पनौती, तातोपानी आदि घुम्न जाँदा मन निकै प्रसन्न हुन्थ्यो।
मेरा पिताजी गोविन्दप्रसाद लोहनीले यस्ता ठाउँहरू घुम्न जानु भन्दा पहिले ती ठाउँका ऐतिहासिक र सामाजिक पाटाको बारेमा हामीलाई बताउने गर्नुहुन्थ्यो बिहानीको चिया पिउँदै।
त्यति नै बेलादेखि यात्रा सम्बन्धी बाल साहित्य तथा कमिक्सहरू पढ्ने अवसर पाइयो। क्रिस्टोफर कोलम्बसको यात्रा वा कमिक्समा भेटिने टिनटिनको विश्व यात्रा र अमर चित्र कथामा भएका भारतवर्षको इतिहास र अश्वमेध यज्ञ गरेर विश्व विजयमा हिँडेका सम्राटहरूका सचित्र कहानीले पनि त हाम्रो ज्ञानको दायरा बढाउन ठूलो मद्दत पुर्याएको थियो नि।
आमसञ्चार र प्रविधिको त्यति धेरै विकास नभएको त्यो बेलामा पिताजीले अमेरिकन, व्रिटिश, भारतीय, जर्मन, चिनियाँ, कोरियन तथा रुसी पुस्तकालय र सांस्कृतिक केन्द्रहरूमा सिनेमा तथा डकुमेन्ट्री प्रदर्शन हुँदा साथमा लिएर जाने गर्नुहुन्थ्यो।
चन्द्रमामा मानिस पुगेको दृश्यदेखि विभिन्न मुलुकका अन्वेशकहरूले निकै दुख र कष्ट सहेर गरेका लामा यात्रा, हिमाल आरोहण, टोनी हेगनको सम्पूर्ण नेपालको पदयात्रा आदि इत्यादि बारे पनि सुन्ने र डकुमेन्ट्री हेर्ने मौका पाइयो। अनि घरमा आएपछि ती सिनेमा र डकुमेन्ट्रीमा देखिएका ठाउँ, ऐतिहासिक घटना तथा संस्कृति र प्रविधि आदि बारे हामीलाई राखेर बुझाउनु हुन्थ्यो उहाँले।
उहाँ निकै अध्ययनशील व्यक्ति हुनुभएकोले आफूले पढेका पुस्तक र पत्रिकाहरूमा छापिएका तथा हामीलाई रोचक लाग्ने जस्ता सामग्रीहरू बारे हामीलाई सुनाउनु हुन्थ्यो। विभिन्न ठाउँका फोटोहरू हेर्दा फोटोमा कैद भएका सबै कुराहरू निकै ध्यानपूर्वक विस्तृत रूपमा अवलोकन गर्नुपर्छ भनेर सिकाउनु हुन्थ्यो।
हामी जान नपाए पनि कामको सिलसिलामा मुलुक भित्र र बाहिरको उहाँको भ्रमणको रोचक कहानी हामीलाई सविस्तार सुनाउनु हुन्थ्यो। ती ठाउँहरू बारेका सचित्र पुस्तिकाहरू र आफुले खिचेका फोटोहरू पनि हामीलाई देखाएर निकै राम्ररी वर्णन गर्नु हुन्थ्यो। यस्ता कुराले बच्चैदेखि घुमघाममा निकै चाख पैदा भएर आएको हो ममा।
पिताजीको साथमा सानै छँदादेखि मुलुकका विभिन्न ठाउँको भ्रमण गर्ने मौका मिल्यो भने भारतका पटना, आग्रा, मथुरा, दिल्ली पनि सानै छँदा घुमेँ। पहिलो पटक हवाइजहाज चढेको पनि काठमाडौँबाट पटना जाँदा सन् १९७१ मा हो मैले।
त्यतिबेलाको भारतीय रेलको लामो यात्रा र स्टेशनहरूको घुइँचो, विशाल जनसंख्या तथा चरम गरिवीको दृश्य पहिलो पटक त्यही भ्रमणमा देखेको थिएँ। तर पछिल्ला भ्रमणहरूमा भारतका आमजनताको समृद्धिको स्तरमा निकै बढौती भएको पनि देखेँ।
सन् १९७८ मा पिताजी पाकिस्तानको लागि नेपाली राजदूत नियुक्त हुनु भएपछि हामी सपरिवार पाकिस्तानमा ४ वर्ष बस्ने मौका पायौँ र मेरो स्कूले अध्ययन र दाजुहरूको विश्वविद्यालयको अध्ययन पनि त्यहीँ सम्पन्न भयो।
त्यतिबेला पाकिस्तानका विभिन्न प्रदेश र गाउँ-शहर, अफगान शरणार्थी शिविर, विशाल विद्युतीय प्लान्ट तथा मानव निर्मित ताल र नहरहरू, उद्योगधन्दा र खेतीपाती, तक्षशीला र सिन्धुघाटीको सभ्यताका केन्द्र मोहेन्जोदारो, हरप्पा आदि पनि अवलोकन गर्ने मौका मिल्यो।
मैले म कक्षा ८-९ मा अध्ययन गर्दा नै घनश्याम राजकर्णिकारको ‘विदेशको यात्रा स्वदेशको सम्झना’ नामक नियात्रा संग्रह पढ्ने मौका पाएँ। सो पुस्तकबाट म निकै प्रभावित भएको थिएँ। त्यसपछि आजसम्म मैले यात्रा संस्मरणलाई आफ्नो पठन सामग्रीको लिस्टमा अति महत्वका साथ राखेको छु र धेरै नेपाली तथा विदेशी लेखकहरूका त्यस्ता संस्मरणहरू पढेको छु।
टेलिभिजनको युगसँगै यात्राका कहानीहरू टीभीमा समेत हेर्न पाइने जमानाको शुरुवात भयो भने राजा, प्रधानमन्त्री तथा नेताहरूको विदेश भ्रमण तथा विश्वका अन्य नेता र विख्यात व्यक्तिहरूका विस्तृत वर्णन सहितका यात्राका दृश्यहरू टीभीमा हेर्न पाइन थाल्यो। आज आएर त जे बारेको सूचना चाहिए पनि विश्वका सबै मानिसले इन्टरनेट र अन्य इलेक्ट्रोनिक मेडिया मार्फत तत्कालै हेर्न र पढ्न पाउँछन्। सिर्फ इच्छा मात्र हुनु पर्यो।
मेरा पिताजीले सन् १९४५ ताकादेखि दैनिक रूपमा डायरी लेख्न थाल्नु भएको रहेछ र यो क्रम करिव ६० वर्षसम्म चलेछ। उहाँको निधन हुनु भन्दा केही वर्ष पहिले उहाँले ती डायरीहरू मलाई हस्तान्तरण गर्नु भयो।
डायरीमा त्यो बेलाको चालचलन, घटना, राजनीति र सामाजिक परिवेश, लेख्ने मानिसको दिनचर्यादेखि जीवनशैली, विभिन्न घटनाक्रम र व्यक्तिहरू बारेको विचार, नितान्त गोप्य व्यक्तिगत कुराहरू र अझ धेरै विवरणहरू लेखिएका हुन्छन्। पिताबाटै प्रभावित भएर मैले पनि सन् २००० देखि डायरी लेख्न शुरु गरेको र बीचमा केही वर्ष टुटे पनि हाल २० वटा जति डायरी भएछन्।
केही वर्ष पहिलेदेखि पिताजीको र मेरो आफ्नो पनि विभिन्न विषयका पुस्तकहरू वर्षेनी प्रकाशन गर्दै आएको छु। पुस्तकको बिक्री नेपालमा ज्यादै थोरै हुने गर्दछ। त्यसैले छापिएका पुस्तकहरू केही स्थापित पुस्तक पसलमा विक्रीको निम्ति राख्नुका साथै वौद्धिक व्यक्तित्वहरू तथा केही अध्ययन प्रेमी साथिहरूलाई उपहार स्वरुप बाँड्ने र भावी पिँढीको निम्ति पुस्तकालयहरूमा निशुल्क वितरण गर्ने गरेको छु मैले।
नेपालमा पुस्तक किनेर पढ्ने वा पुस्तकालय जाने संस्कृतिमा पहिले भन्दा पनि निकै ह्रास आउँदै गएको छ। यसो हुनुमा डिजिटल प्रविधिलाई मुख्य कारक तत्व ठानिए पनि त्यहाँ उपलब्ध गौढ लेख, साहित्य र ज्ञानका कुरा पढ्नेको संख्या पनि निकै न्यून हुने गरेको पाइएको छ।
तर भिडियो गेम, सिनेमा, संगीत र हल्का मनोरञ्जनका सामग्री र राजनीतिक नौटंकी रूपी भाङ सेवन गर्ने र घन्टौँ भिडियो च्याट गर्ने र समय कटाउने माध्यमको रूपमा नै डिजिटल प्रविधिको उपयोग भइरहेको पाइएको छ।
कारागारमा रहेका बिचरा कैदीहरूले आजको डिजिटल प्रविधिबाट प्राप्त हुने ज्ञानको भण्डारबाट पनि वञ्चित हुनु परेको छ र कारागारको चार दिवारीमा पशु सरह जिउन बाध्य छन्। आजको विश्वका सभ्य भनिएका मानवको अर्को मानव माथिको यो एउटा अति नै क्रुर र निर्मम व्यवहार हो।
ज्यादै थोरै संख्यामा पाठकहरू भएकाले पनि लेखकहरूको पहिचान र इज्जत नेपाली समाजमा निकै कम छ। ‘हाल के गर्नु हुन्छ ?’ जस्ता प्रश्नको जवाफमा ‘म लेखहरू लेख्छु’ भन्दा धेरै मानिसहरूले ‘काम नपाएर बसेको रहेछ’ भनेझैं गरी हेयको दृष्टिले हेरेको कुरा उनीहरूको मुहारबाट नै बुझ्न सकिन्छ।
करिव ३५ वर्ष जागीरे जीवन बिताएको मैले निरन्तर रूपमा लेखन कार्यमा लागेको आज एक दशक भयो। हुन त म सन् १९९० तिर देखि नै पत्रकारितामा लाग्न थालेको हुँ र एउटा अङ्ग्रेजी द्वैमासिक पत्रिका ‘द माइलस्टोन’को त्यतिबेला नै कार्यकारी सम्पादकको रूपमा प्रकाशन गर्ने गरेको थिएँ।
कोभिड-१९ महामारीको शुरुवातदेखि यानी सन् २०२० को मार्चतिरदेखि आजको दिनसम्म आइपुग्दाका करिव ४ वर्ष भन्दा बढीको अवधिमा मैले अटुट रूपमा प्रत्येक हप्ता अर्थतन्त्र, वातावरण, विपत् व्यवस्थापन, राजनीति, कूटनीति, इतिहास, संस्कृति, मनोरञ्जन, गीत–संगीत, साहित्य र विभिन्न व्यक्तित्वहरू र अन्य धेरै विषयमा २५० वटा भन्दा बढी लेखहरू लेखेर डिजिटल सञ्चार माध्यम मार्फत प्रकाशन गरिसकेको छु।
अखबारमा छापिने औसत ८०० शव्दका लेख भन्दा दोब्बर भन्दा पनि लामो हुने भएर पट्यार लाग्ने जस्ता देखिने मेरा लेखमा मैले सकेसम्म व्यावहारिक ज्ञान तथा नविनतम कुराहरू खाँद्ने प्रयत्न गरेको हुन्छु।
कागजी पत्र-पत्रिकामा लेख पठाउँदा नबुझेर महत्वपूर्ण कुरा पनि काटि दिने तथा केही अग्रणी दैनिक छापामा कार्टेलिङ शैलीमा नै केही छानिएका लेखकको मात्र लेख छापिने भएकोले म त्यस्ता छापामा आफ्नो लेख पठाउँदिन र समय र शक्ति खेर पनि फाल्दिन।
प्रत्येक वर्ष पिताजीको कम्तीमा एक पुस्तक प्रकाशन गर्ने अठोट मुताविक यो वर्ष उहाँको यात्रा संस्मरणको पहिलो भाग पाठकहरू माझ ल्याउने विचारका साथ युद्धस्तरमा काम गर्दैछु।
यस प्रथम संस्मरणमा उहाँले सन् १९५८ मा गर्नुभएको अष्ट्रेलियाको भ्रमणदेखि सन् १९७० सम्मका यूरोप र एशियाली मुलुकहरूको भ्रमण बारेको बयान रहनेछ। उहाँले यात्रा सकेर फर्के पछि त्यतिबेलाको एउटा मात्र राष्ट्रिय दैनिक छापा गोरखापत्रमा छपाएका लेख र उहाँको त्यतिबेलाका डायरीहरू पढेर निकै मेहनतका साथ यो यात्रा संस्मरण तयार गर्दैछु। गोरखापत्रमा प्रकाशित उहाँका यात्रा संस्मरणलाई नियात्रा भन्दा पनि फरक नपर्ने।
किनकी डायरीमा सिधा तवरले लेखिए पनि अखवार तथा अन्य पत्रपत्रिकामा प्रकाशित उहाँका यात्रा संस्मरणहरू निकै आकर्षक ढङ्गले लेखिएका छन् भने विभिन्न मुलुकको यात्राको विवरण मात्र नभई आफु ती भ्रमणका नायकका रूपमा रहेर उहाँले त्यस्ता मुलुक र क्षेत्रका यावत कुराहरूलाई कुनै साहित्यिक लेख वा निवन्धको रूपमा नै प्रस्तुत गर्नुभएको छ।
नेपाल राष्ट्र बैंकको कर्मचारी भएपछि सन् १९५८ मा उहाँले पहिलो पटक विदेश भ्रमण गर्नु भएको रहेछ। पहिलो पटक तालीमको सिलसिलामा अष्ट्रेलियामा ३ महिनाको निम्ति जानु हुँदा उहाँले भारतको कलकत्ता हुँदै सिंगापुर र फर्कँदा इन्डोनेशिया, थाइल्याण्ड र पुनः कलकत्ता हुँदै नेपाल फर्कनु भएको रहेछ। त्यो पहिलो विदेश भ्रमण भन्दा पहिले उहाँले भारतमा नै अधिकांश औपचारिक शिक्षा प्राप्त गर्नुभएकोले भारतका धेरै ठाउँहरू घुमिसक्नु भएको थियो।
उहाँका अधिकांश विदेश भ्रमण नेपाल राष्ट्र बैंक र विभिन्न मन्त्रालयमा काम गर्दा र योजना आयोगको सदस्य हुँदा अनि राजदूत छँदा सरकारी खर्चमा नै भएको रहेछ। वास्तवमा अहिले पनि सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरूको विदेश भ्रमण संस्थागत खर्चमा नै हुने गर्दछ भने बिदा मनाउन निजी खर्चमा विदेश भ्रमण गर्ने चलन पनि निकै बढिसकेको छ।
हिजो आज मेरा पिताजी जस्तै जागीरेको रूपमा तालीम, गोष्ठी वा सम्मेलनमा भाग लिन यात्रा गर्ने, धर्मकर्म, रोजगारी वा शिक्षा आर्जन र स्वास्थ्य परिक्षणको निम्ति, व्यापार, प्रदर्शनी, खेलकुद, कलाकारिता वा भनौँ निर्वाचन पर्यवेक्षण वा पत्रकारिताको लागि यात्रा गर्ने र शान्ति सेनाको रूपमा वा विदेशी सेनामा भर्ती भएर वा विदेशमा नै स्थायी नोकरी पाएर यात्रा गर्ने मानिसहरूको संख्या लाखौँमा पुगेको छ। पर्यटकको रूपमा र हालको नविन चलन अनुसार बिहे गर्न विदेश जाने समेतको संख्या ज्यादै नै बढिरहेको छ।
विश्वमा बसाइँसराइ गर्ने चलन लाखौँ वर्षदेखि कै हो। विगत २-३ सय वर्ष देखि नै आजको नेपालबाट विभिन्न देशमा बसाइँसराइ गर्ने क्रमको थालनी भएर आजसम्म पनि यो क्रम जारी नै छ।
यस्ता यावत यात्रुहरूले आफ्नो यात्राको वर्णन गुपचुप राखे भने त्यो न साहित्य बन्न सक्दछ, न त त्यस्तो विशाल अनुभवले अरूलाई ज्ञान नै दिन सक्दछ। त्यसैले यात्राको वर्णनलाई लेखको रूपमा र पुस्तकाकारमा प्रकाशन गर्नु निकै नै महत्वपुर्ण कुरा हो।
यसो गर्नको लागि यात्रु वा भ्रमणकर्ता प्रकाण्ड विद्वान वा सुशिक्षित व्यक्ति नै हुनु पर्छ भन्ने कुनै जरुरी छैन। जो कोहीले पनि आफ्नो अनुभवलाई प्रकाशन गर्न सक्दछ। हिजोआज आफुले भनेका कुरालाई मिलाएर र बुट्टा भरेर आकर्षक शैलीमा लेखिदिने गोष्ट राइटर वा प्रेत लेखक पनि त पाइन्छन् नि।
मेरा पिताजीले अखबार र पत्रपत्रिकामा विभिन्न समयका आफ्ना विदेश भ्रमणहरू प्रकाशन गर्नुभएको छ भने कतिपय ज्यादै रोचक र महत्वपुर्ण भ्रमणहरू डायरीमा नै सिमित रहेको पाइयो।
त्यसैले पनि उहाँ जस्ता विद्वत व्यक्तित्वको अनुभवलाई प्रकाशन गरिदिन पाए समकालिन तथा नयाँ र भविश्यका पिँढीले पनि पढेर आफ्नो समय र त्यतिबेलाको समयको लेखाजोखा गर्न सक्ने थिए। आखिर आर्थिक वा सामाजिक वा कुनै पनि विकास भनेको पनि एकअर्का देशसँग वा पहिलेको समयसँग आजलाई दाँजेर हेर्ने मापदण्ड नै त हो नि। नत्र कति विकास भयो भनेर के को आधारमा मापन गर्ने र ?
त्यतिबेलाको विश्वभर कै नागरिक उड्डयन सेवा शैशवावस्थाबाट गुज्रिरहेको र काठमाडौँको गौचर विमानस्थल पनि प्रारम्भिक स्वरुपमा नै रहेकोले नेपालबाट विदेश जान पहिले भारतको कलकत्ता वा दिल्ली जानु पर्ने अवस्था थियो।
दिल्ली नै जान पनि त्यतिबेला साना विमान तथा थोरै यात्रु हुने भएकोले काठमाडौँबाट पटना, लखनउ आदि ठाउँमा रोकिँदै विमान दिल्ली पुग्दोरहेछ। विभिन्न मुलुकको भिसा लिन समेत भ्रमणमा जाने व्यक्ति आफैं दिल्ली पुगेर ती राष्ट्रका दूतावासमा सम्पर्क गर्नु पर्दथ्यो।
विदेशी मुद्रा सटही गर्न पनि कलकत्ता वा दिल्ली नै जानु पर्ने। आज नेपालमा धेरै मुलुकका दूतावास भए पनि बेलायत, अष्ट्रेलिया आदि मुलुकको भिसा उनीहरूको दूतावास यहीँ भएर पनि किन हो कुन्नी भारतबाट मात्र प्राप्त हुन्छ। तर पहिले जस्तो आफैं उता जान भने पर्दैन।
एक अर्थशास्त्रीको हैसियतले पिताजीले आफुले घुम्नु भएका मुलुकहरूको आर्थिक, राजनैतिक र सामाजिक परिवेशका साथै नेपालसँग दाँज्न मिल्ने अन्य विभिन्न कोणबाट अध्ययन गरेर लेख्ने गर्नु हुँदो रहेछ।
ती मुलुकका शासक, शासन व्यवस्था र आर्थिक गतिविधि र नेपालको तत्कालीन अवस्था बारे निकै रोचक तवरले लेख्नु भएको छ। यात्राका कुराका साथै ऐतिहासिक, आर्थिक, राजनैतिक, सांस्कृतिक हिसाबले गरिएका वर्णनमा सो मुलुकका जनताको जीवनशैली र खानपान बारे पनि निकै रोचक कुराहरू लेख्नु भएको छ।
नेपालका विभिन्न मुलुकमा रहेका दूतावासका कर्मचारी, विदेशमा सँगै घुमेका नेपाली नेता तथा प्रशासक आदि बारे पनि उहाँले आफ्नो डायरीमा उल्लेख गर्नु भएको रहेछ तर आफु कर्मचारी भएको हैसियतले कैयन् कुरा भने गोरखापत्रमा प्रकाशित लेखमा समावेश गर्नु भएको थिएन। यी सब कुराहरू सकेसम्म दुरुस्त राखेर प्रकाशन गरी पाठकहरूलाई त्यतिबेलाको विश्वको अवस्था र नेपाली परिवेश बारेको विवरण जस्ताको तस्तै पस्किने प्रयत्न गर्दैछु।
त्यतिबेलाको विश्व र आजको सानो संसारमा निकै ठूलो भिन्नता आइसकेको छ। त्यतिबेलाका कैयन् कुराहरू पढ्दा आज अचम्मको अनुभूति हुन सक्छ भने यो पुस्तकमा वर्णन हुने ती मुलुकहरूले आज प्रगति गरेर कति ठूलो फड्को मारिसकेका छन्। स्वयम् नेपालले नै जस्तो सुकै आरोह र अवरोहको सामना गर्न परेको भए पनि आज यो मुलुक ज्यादै नै फरक भइसकेको छ।
विदेश जान नपाएर नेपालमा नै खुम्चिएर बसेका त्यतिबेलाका नेपाली भन्दा आज ६० लाखको हाराहारीमा विदेशमा बसोवास गरिरहेका र वर्षेनी लाखौँको संख्यामा विदेश भ्रमणमा निस्कने नेपालीहरूले पनि आफ्नो ज्ञान र शिक्षाको स्तर मुताविक धेरै नै अनुभव बटुलिरहेका छन्।
तर त्यस्ता अनुभवीहरूलाई देशमा भित्रिने वातावरण बनाएर मातृभूमिको सेवामा लाग्न प्रोत्साहन दिने र आमजनतालाई समृद्धिको बाटो देखाउनुको सट्टा पलायनको बाटोतिर मोड्ने गरिन्छ।
यो देशको अस्तित्व नमेटिउञ्जेलसम्म यसको दोहन गरेर धन कमाउने र यहीँ बसेर तथाकथित सुखी जीवन बिताउनेमा अब नवशासक वर्ग, अधिकांश राजनैतिक पार्टीका नेता, कार्यकर्ता र तिनका आसेपासेहरू तथा चोर-फटाहा-लुच्चा-लफंगा र गलत तरिकाले धन आर्जन गर्न पल्केका केही व्यवसायीहरू मात्र रहने देखिन्छ।
यस्तो कुचक्र धेरै समयसम्म टिक्न सक्दैन। यहीँ बस्न वाध्य लाखौँलाख अति विपन्न नेपाली जनताको मनको भारी बाँध फुटेर छिटै ठूलो विद्रोहको बाढी र आक्रोशको आगो फेरी पनि दन्किन बेर छैन हाम्रो नेपालमा।
लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।
Facebook Comment