नक्कली भुटानी शरणार्थी प्रकरण

बेचन झाले लिएका थिए नेता मिलाउने जिम्मा, समातिएपछि ढल्यो सरकार

डिसी नेपाल
२१ असार २०८१ १२:३८

काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार छोरा प्रतीक थापा र बेचन झा पक्राउ परेपछि सत्ता समीकरणमा हलचल आएको चर्चा गरिएको छ। तिनै चर्चाका पात्र थापा पुर्पक्षका लागि जेल चलान भैसकेका छन् भने झा अहिले अनुसन्धानकै क्रममा रहेका छन्।

झालाई राजनीतिको माथिल्लो ‘नेक्सस’का रुपमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। झालाई प्रहरीको विशेष ब्युरोको टोलीले भारतबाटै पक्राउ गरी नेपाल ल्याएको थियो। झाविरुद्ध भने जिल्ला प्रहरी परिसर काठमाडौंले किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधमा थुनामा राखेर अनुसन्धान गरिरहेको छ।

अनुसन्धानमा संलग्न अधिकृतहरुले झा ले कुनै पनि कुरा खुलाउन नमानेपछि थप तहकिकात गर्नुपर्ने बताइरहेका छन्। उनले लिएको रकम र अरु प्रमाण जुटाउनुपर्ने आवश्यकता रहेको बताइरहेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजी सूचीमा सबैभन्दा महत्वका साथ खोजिएका भएपनि पक्राउ पर्न सकेका थिएनन । ‘जब पक्राउ परे तब बोल्दै बोल्दैनन्,आफूलाई यसबारे कुनै पनि जानकारी नभएको मात्र बताउँछन’, अनुसन्धानमा संलग्न रहेका एक अधिकारीले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सांसद टोपबहादुर रायमाझीदेखि बहालवाला सचिव टेकनारायण पाण्डे नै पक्राउ परेका थिए । जिल्ला अदालतले पक्राउ परेकामध्ये अधिकांशलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। गएको मंसिरमा उच्च अदालत पाटनले भने ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका, उनकै स्वकीय सचिव नरेन्द्र केसी, हज समितिका अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाल, टोपबहादुरका छोरा सन्दीप रायमाझी, हरिभक्त महर्जन र रामशरण केसीलाई थुनामुक्त गर्ने आदेश गरेको थियो।

टोपबहादुर रायमाझीसहित नक्कली भुटानी प्रकरणका मुख्यआरोपी दाङका सन्देश शर्मा र सुनसरीका केशव दुलालसहितका १० आरोपी सचिव पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा विज्ञ डा. इन्द्रजित राई, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी र रामबहादुर थापाका छोरा प्रतीक थापा पुर्पक्षमै रहेका छन्।

अनुसन्धानका खटिएका प्रहरीका अनुसार बेचन झाको सम्पर्क राजनीतिक दलका माथिल्लो तहका नेताहरुसँग सम्पर्क देखिएको थियो । त्यसबाहेक शरणार्थी प्रकरणमा पक्राउ परेर हाल उच्च अदालतको आदेशले छुटेका रामशरण केसीसँगसमेत उनको निकट सम्बन्ध देखिएको थियो।

प्रहरीले केसीको साथबाट झाकै नामका काटिएको दुई करोडको चेक समेत बरामद गरेको थियो। बयानमा केसीले शरणार्थी प्रकरणमा राजनीतिक दलका नेताहरू मिलाउने जिम्मा झाले लिएको र सोही कारण चेक काटेको बताएका थिए।

झाले केसीसँग आफू भारतीय दूतावास नजिकको भनी परिचय दिएको खुलेको थियो। उनी त्यसबाहेक सचिव टेकनारायण पाण्डेसँग पनि उनको सम्बन्ध खुलेको थियो। पक्राउ परेका झाले कोही कसैसँगको सम्बन्ध पनि नखुलाएपछि अहिले झाले बोकेका दुई वटा मोवाइल फोन परीक्षण गर्न प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ। प्रहरीसँगको प्रारम्भिक बयानमा भने उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफू अनभिज्ञ बताउँदै आएका छन्।

रामशरण केसीले दिएको बयानलाई आधार मान्ने हो भने मन्त्रिपरिषदबाटै बेचन झाले निर्णयहरू गराउन सक्छन्। त्यसपछि अमेरिका तथा तेस्रो मुलुकमा नेपालीलाई पठाउन सजिलो हुने कुरा सानु भण्डारीले रामशरण केसीलाई भनेको अनुसन्धानबाट खुलेको थियो।

तर, झाले चेक बुझेर पनि कुनै निर्णय गराउन सकेनन्। चेक लिएसँगै उनी शरणार्थी प्रकरणबाट बाहिरिएका थिए। रामशरण केसी रङसम्बन्धी काम गर्दागर्दै ‘अमेरिका सपना’ देखेर ठगीधन्दामा संलग्न भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। २०७४ मा चिनजान भएका जनक कार्की र गोकुल थापामार्फत शरणार्थी नेता टेकनाथ रिजालसम्म रामशरण पुगेका हुन्।

रामशरणले सानु भण्डारीलाई बैंक मार्फत १ करोड ३४ लाख, केशव दुलाल मार्फत पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई १ करोड ५० लाख र टेकनाथ रिजाललाई ११ लाख बुझाएको बयान दिएका छन्। गोकुल थापालाई ६० लाख दिएको बयानमा खुलाएको बुधवार अदालतमा दायर गरिएको अभियोग पत्रमा उल्लेख छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार रामशरण दोस्रो लेयरका आरोपी हुन् ।

बेचन झा बारे रामशरण केसीको बयान

मिति २०७८।०८।१३ गते मन्त्रिपरिषद्को बैठकबाट भुटानी शरणार्थी सम्बन्धी केही हामीलाई काम लाग्ने निर्णयहरू हुन लागेको छ। उक्त निर्णय गराउन बेचन झाले केही रकमहरू मागेका छन् उनीलाई चेक काटी दिनु भनी प्रतिवादी सानु भण्डारीले भनेपछि मेरो नाममा हिमालयन बैकमा रहेको खाताबाट बेचन झाको नाममा रु २,००,००,०००।–(दुई करोड) को चेक काटी मेरो दस्तखत समेत गरी उक्त चेक बेचन झालाई काठमाडौँ स्थित बानेश्वर ह्रवाइट हाउस अगाडि बाटोमा मिति २०७८ मंसिर ८ गते राति २०ः०० बजे तिर भेटी दिएको हुँ।

उक्त चेकको फोटो समेत खिची मेरो साथी प्रेमराज पन्थी लाई पठाएको तथा म पक्राउ पर्नु भन्दा अगाडि मेरो साथी पबिता राईलाई सो घटना सम्बन्धमा प्राप्त भएको कागजातहरू सुरक्षित साथ राख्न दिएकोमा निजले अनुसन्धानको क्रममा पेस गरेको हुँदा सो चेकको विवरण खुल्न आएको हो।

बेचन झालाई चेक दिँदा मेरो मोबाइलमा उक्त चेक दिइएको भिडियो समेत खिचेकोले उक्त भिडियो आवश्यक परेमा पछि पेस गर्न सक्छु । सानु भण्डारीले भुटानी शरणार्थीमा अमेरिका पठाउने कार्यको लागी मन्त्रिपरिषदबाटै बेचन झाले केही निर्णयहरू गराउँछन्। उक्त निर्णयहरूको आधारमा अमेरिका तथा तेस्रो मुलुकमा शरणार्थी बनाएर पठाउन सजिलो हुन्छ सानु भण्डारीले भनेको उक्त रकम मैले चेक मार्फत दिएको हुँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *