आगामी रणनीतिबारे सत्ता साझेदार दलहरुसँग प्रधानमन्त्रीले गरे छलफल

दिपा पौड्याल
२१ असार २०८१ १८:०३

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने जानकारी सत्ता साझेदार दलहरुलाई गराएका छन्।

शुक्रबार प्रधानमन्त्री निवास सिंहदरबारमा रास्वपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उम्मुक्ति पार्टी लगाएतका दलका नेताहरुसँग छलफल गर्दै आफूले सदनमा विश्वासको मत लिन लागेको जानकारी गराएका हुन्। प्रधानमन्त्री प्रचण्डले सदनमा आफूमाथि अविश्वास आए त्यही अनुसार दृढतापूर्वक सामना गर्ने बताएको छलफलपछि नेताहरुले जनाएका छन्।

बैठकपछि एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी कदमका बारेमा छलफल भएको जानकारी दिए। उनले आफ्नो पार्टी लामो समयसम्म माओवादीसँग साथमा रहने भन्दै सदनमा विश्वासको मतको पक्षमा मत दिने प्रतिबद्धता जनाएको धारणा राखे। उनले नयाँ गठबन्धनको उद्देश्य पवित्र नरहेको र षडयन्त्र पूर्वक आएको निष्कर्ष रहको जिकिर गरे।

त्यस्तै रास्वपा सभापति रवि लामिछानेले पछिल्लो राजनीतिक घटनाक्रममा बारेमा छलफल भएको जानकारी दिए। उनले प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थामा पार्टीको धारणा तय गर्न आन्तरिक छलफल गरिने बताए।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले अहिलेको राजनीतिक परिघटनाले लोकतन्त्रलाई सदृढ गर्ने भन्दा पनि मुलुकलाई अराजकता र पश्चगमनतर्फ लैजाने होकी भन्ने आशंका उत्पन्न भएको बताए। प्रधानमन्त्रीले अविश्वास आए त्यसको सामना गर्ने बताएको र यसमा आफ्नो पार्टीको साथ रहने आफुहरुको भनाइ रहेको उनले बताए।

खनालले अर्को समिकरण बनाउने एमालेको कदम राजनीतिक नौटंकी भएको टिप्पणी गरे। प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिनका लागि संसद सचिवालयमा पत्र नै दर्ता गरिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *