राजेन्द्र कार्कीको हाँस्य व्यङ्ग्य निवन्ध खाइराइडको दोस्रो संस्करण सार्वजनिक

डिसी नेपाल
२२ असार २०८१ ७:३१

क्यानडा। खाइराइड हाँस्य व्यङ्ग्य निवन्ध संग्रह खाइराइडको दोस्रो संस्करण प्रकाशन भएको छ। क्यानाडाको भ्यानकुभरबाट नेपाली साहित्यमा निरन्तर रुपममा कलम चलाउँदै आएका राजेन्द्र कार्कीको यो पहिलो कृति हो।

विषयवस्तु, प्रस्तुति र बिम्बात्मक व्यङ्ग्यको प्रयोगले कार्कीका निबन्धहरु रसिला बनेका छन्। उनका व्यङ्ग्यहरु समाज तथा व्यक्तिका प्रवृत्तितिर सोझिएका छन्। उनका व्यङ्ग्य-निबन्धमा हास्तचेतका साथै विचार, मौलिकता तथा दार्शनिकताको ओज दर्बिलो छ।

हाँस्य व्यङ्ग्य लेखन “मृत” अवस्थामा रहेको वेला खाइराइड चर्चित बनेको छ। २०८० भाद्रमा पहिलो प्रकाशन भएको यो कृति २०८१ असारमा दोस्रो संस्करण प्रकाशन हुनुले हाँस्य व्यङ्ग्य लेखन पनि सम्भावना भएको क्षेत्रको रुपमा देखिएको छ।

फित्कौली अनलाइन मिडियाले प्रकाशन गरेको खाइराइडको दोस्रो संस्करणमा प्रा डा खगेन्द्र लुइँटेल, प्रकाश सायामी, खेमराज पोख्रेल, चट्याङ मास्टर (कृष्ण मुरारी गौतम), श्याम तमोट, साहित्यपोस्ट, चन्द्र घिमिरे, बद्रीप्रसाद दाहाल, केदार शर्मा, अञ्जु कार्की, कृष्णप्रसाद निरौला, गायत्री लम्साल, प्रमोद आमात्य, सर्वज्ञ वाग्ले, डा. कुसुमाकर शर्मा, ठाकुर शर्मा भण्डारी, अनिता काेइराला, डा. रमेश शुभेच्छु, मीनु राजभण्डारी, र रेहित सैंजुका प्रतिक्रिया समावेश गरिएका छन्।

३१ वटा निबन्धमा धेरै विषय समाज र व्यक्तिका प्रवृति्तसँग सम्बन्धित छन्। राजनीति र अदालतका विषयमा लेखिए पनि कहीँ कतै कसैलाई गाली नगरी व्यंग्य, त्यो पनि हास्यरससहित लेख्नु राजेन्द्र कार्कीको सफलता हो।

गित उखानलाई ठाउँ ठाउँमा जुन प्रयोग गरिएको छ, त्यसले नछुने कुरै भएन। खाइराइडमा जुन भाषिक मिठास छ, कहिल्यै पनि यो लाग्दैन कि यो वाक्य पछि पढौं कि नपढौं। यो एक प्रकारले लागु पदार्थ नै हो पढेपछि छोड्ने मन लाग्दैन भनेर प्रतिक्रियामा लेखिएको छ।

खाइराइड्मा विशेषतः सामाजिक विषय छन्। खाइराइडका निबन्धमा परम्परावादी सोचभन्दा माथि उठेर आधुनिकताका पक्षमा पनि निबन्धहरू लेखिएका छन्। कामलाई सानो ठूलो भन्ने मान्ने परम्परावादी प्रचलनलाई भत्काएको छ र काम भनेको काम हो भन्ने आधुनिक चिन्तन समावेश गरेको छ।

भाषा प्रक्षेपणमा सुन्दरता देखिन्छ। अनुप्रास मिलाउने, उखान तथा टुक्काको प्रयोग गर्ने, टुक्काले प्रहार गर्ने तथा शालिन तरिकाले आक्रमण गर्ने शैली देखिन्छ। जहाँ जुन वादका थिममा निबन्ध लेखिएका छन्, त्यहाँ प्रगति खोजिएको छ भनेर समिक्षकले लेखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *