बागलुङमा ठेउलेखोला जलविद्युत आयोजनाको बाँध पुरियो, ग्रामीण सडक अवरुद्ध

डिसी नेपाल
२२ असार २०८१ १६:२३

बागलुङ। अविरल वर्षसँगै आएको पहिरोले जिल्लाको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरिएको छ। जैमिनी–१ र वडा नं ४ को बीच भएर बग्ने ठेउलेखोलामा निर्माण भएको जलविद्युत् आयोजनाको बाँध पहिरोका कारण पुरिएको हो।

कुश्मिसेरा, सुर्कवा व्याडथला सडकखण्डमा आएको पहिरोले उक्त बाँधमा क्षति पु¥याएको बारही हाइड्रोपावरका प्रशासन प्रमुख लिलानाथ पौडेलले बताए। पहिरोका कारण बाँध पुरिँदा विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको उहाँले जानकारी दिनुभयो । उनले १.५ मेगावट विद्युत् उत्पादन हुने आयोजनालाई पुनःसञ्चालन गर्न समय लाग्ने बताए।

पहिरोले जैमिनी नगरपालिकाको केन्द्रविन्दु कुश्मिसेराबाट सर्कुवा, जैदी, अर्जेवा, विनामारे, व्याडथाला जाने सडक पूर्णरुपमा अवरुद्ध भएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए। जैमिनीको केन्द्रविन्दुबाट सबै वडा जाने ग्रामीण सडक बन्द भएका छन् ।

उपप्रमुख शर्माले भने, “यसै वर्ष स्तर वृद्धि गरेर कालेपत्र र ढलान गरिएको कुश्मिसेरा–सर्कुवा–व्याडथला खण्डमा गएको पहिरोले जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । अविरल वर्षा भइरहेकाले तत्काल सडक स्तारोन्नति गरी सञ्चालन गर्ने अवस्था छैन ।”

जैमिनी नगरपालिको केन्द्रबाट जाने अधिकांश सडक पहिरोले अवरुद्ध बनेका उनले जानकारी दिए। उपप्रमुख शर्माका अनुसार कालिगण्डकी करिडोर खण्डको विनामारेमा सडक माथिबाट आएको लेदोसहितको पहिरोले करिडोर अवरुद्ध बनेको छ।

वर्षाका कारण जिल्लाको गलकोटबाट हिल हुँदै ताराखाला जाने सडक पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बागलुङ हुँदै म्याग्दीको बेनीबजार जाने खण्डअन्तर्गत बागलुङ नगरपालिका–४ बान्द्रेमा सडक माथिबाट आएको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *