भारतको मेघालयमा ४ नेपाली श्रमिकको विभत्स हत्या, हातखुट्टा बाँधिएको अवस्थामा शव भेटिए

डिसी नेपाल
२३ असार २०८१ १०:२६

काठमाडौं । भारतको मेघालयमा ४ जना नेपाली श्रमिकको शव फेला परेको छ । प्रहरीका अनुसार यी शवहरु हातखुट्टा बाँधिएको अवस्थामा फेला परेका हुन् । शवहरुमा धारिलो हतियारले निकै क्रुर रुपमा आक्रमण गरिएका चोटहरु छन् ।

मेघालयको इस्ट जयन्तिया हिल्सको उम्प्लेङ बजार नजिकै जंगलमा शवहरु फेला परेको इस्ट जयन्तियाका प्रहरी उपरीक्षक गिरी प्रसादले भारतीय मिडिया नर्थइस्ट लाइभ टिभीलाईै बताएका छन् । उनका अनुसार शवमा गरिएको आक्रमण र शवहरुको हातखुट्टा बाँधिएको अवस्था हेर्दा यो पूर्वनियोजित र निकै क्रुर हत्या भएको अनुमान गरिएको छ ।

जयन्तिया हिल्स मेघालयको राजधानी सिलोङबाट करिब १३० किलोमिटर टाढा पहाडी क्षेत्रमा पर्छ । अर्को भारतीय मिडिया नर्थइस्ट न्यूजले मारिनेमा एक जना नेपालको इलाम घर भएका २३ वर्षका रवि राई भएको बताएको छ । अन्यको पहिचान खुल्न बाँकी छ ।

प्रहरीले शवहरुलाई सिभिल अस्पताल खिलेहरियातमा राखेको छ । त्यहाँ शवहरुको पोस्टमार्टम र अन्य परीक्षण गरिने बताइएको छ । शव भेटिएकै ठाउँमा हत्या भएको हो वा अन्यत्र हत्या गरेर शव यहाँ फालिएको हो भन्ने अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *