शिक्षा र सेवामा हरिचरण सिटौला (१)
देवकोटाको कवितामा हरिचरण
महाकवि लक्ष्मीप्रसाद देवकोटाले कविता मार्फत भनेका थिए-
के हो ठूलो जगतमा ? पसिना विवेक
उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक!
शिक्षाप्रेमी हरिचरण सिटौलाका कार्य र जीवनीबारे फर्केर हेर्दा उहाँलाई महाकवि देवकोटाको उपरोक्त काव्यपंक्तिले देखाउन खोजेको चारित्रिक कोटीमा पर्नुहुँदो रहेछ भन्दा अत्युक्ति नहोला। उहाँको कार्य र जीवनीबारे थप चर्चा गर्ने क्रममा यी कुरा अवश्य पुष्टि होला भन्ने लागेको छ।
खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
आफू मिटाई अरुलाई दिनु जहाँ छ।
महाकवि देवकोटाले गर्नुभएको सुखको परिभाषाभित्र स्वयम् आफू पर्नु नै हुन्छ। त्यसरी नै हरिचरण सिटौलाहरुजस्ता आफूलाई मिटाएर अरुलाई दिनेहरु पनि महाकवि देवकोटाले ठानेका सुखीमा पर्नुहुँदो रहेछ। तल नेपाली कांग्रेसका विद्वान् नेता सी.के.प्रसाईंका भनाइले पनि पुष्टि होला।
चेतना, क्रान्ति र विकासको पूर्वाधार खडा
२०४४ सालतिर हुनुपर्छ तत्कालिन नेकपा (माले) को तर्फबाट तेह्रथुम जिल्ला पञ्चायतको जनपक्षीय उपसभापति खगेन्द्रराज सिटौला ( लेखक ) लगायत अन्य जनपक्षीय सभापति, उपसभापति, नेपाली कांग्रेसका विद्वान नेता सी.के. प्रसाईंलाई भेट्न उहाँको निवासस्थान झापा बिर्तामोड नजिक देवीबस्ती पुगेका थियौं।
आठराईबाट झापा झर्नुभएका सी.के.लाई आठराईबारे जानकारी नहुने त कुरै भएन। उहाँले म हरिचरणको छोरो भन्ने जानकारी लिइसक्नुभएको रहेछ राजनीतिक चासोको क्रममा।
तर उहााँजस्तो विद्वान र आदर्श विचार बोकेको नेताले आफ्नो बुबाबारे गरेको मूल्यांकनले म आफूले नै आफ्नो बुबालाई चिन्न र मूल्यांकन गर्न नसकेको रहेछु भन्ने बनायो। सी.के ले भन्नुभएको थियो-“हेर्नहोस्, खगेन्द्र बाबु ! तपाईं-हामी राजनीतिमा लागेका मान्छे। राजनीतिमा लागेका मान्छेमा सत्ता, शक्ति र सम्पत्तिको स्वार्थ हुन्छ।
मूल्यमान्यता आदर्शको राजनीति गर्ने मान्छे बहुत थोरै हुन्छन्। आठराईमा तपाईंका पिता हरिचरण सिटौला शिक्षा र समाजसेवामा जसरी निरन्तर लाग्नुभयो त्यो पनि एउटा क्रान्ति हो,चेतनाको क्रान्ति हो। उहााँले परिवर्तनको पहिलो शर्त शिक्षालाई देख्नुभयो।
समाजसेवीले अरुलाई दिन्छ आफूले गुमाउँछ मात्रै। उहाँले पनि आफ्नो बुद्धि, समय, सम्पत्ति अरुको लागि खर्च गर्नुभयो। तर त्यसबाट अरुले धेरै पाए। उहाँले पाउने भनेको आत्मसन्तुष्टि मात्रै हो।
आदर्श राजनीति र समाजसेवा आफ्नो लागि होइन, दुनियाँको लागि हो। जुन आस्थाको राजनीति विचार बोके पनि बुबाको आदर्श पच्इछ्याउनु होला। तपाईले उहाँमा मेरो सम्मान र नमस्कार पुर्याइदिनु होला।”
यसरी कुनै राष्ट्रियस्तरको विद्वान नेताले गरेको उच्च मूल्यांकनबाट बुबाले गरेको कामको बोध भयो। झापाबाट फर्केपछि बुबालाई सी.के.को विचार र सन्देश सुनाउँदा बुबा पनि खुशी भएर सी.के.को प्रशंसा गर्नुभएको थियो। बुबाले भन्नुभएको थियो-“शर्त र स्वार्थ राखेर समाजसेवा गर्नुहुँदैन। यो निःशर्त र निःस्वार्थ हुनुपर्छ। मैले त्यसै गरेको छु।”
युवाहरुको लागि प्रेरणास्पद दृष्टान्त
बाइस वर्षका हरिचरण समाज र दुनियाँका लागि केही ठोस काम गर्ने अठोट लिन्छन्। त्यो पनि यस्तो कि नेपाल (काठमाडौं) पुगेर पढ्न पाएको, जागिरको आधार तयार भएको समयमा। जुन समयमा काठमाडौँ गएर पढ्ने त कुरा छोडौँ,काठमाडौँ पुग्नसमेत धेरै कम व्याक्तिले मौका पाउँथे।
नितान्त आफ्नो क्यारियर र भविश्यको लागि सोच्ने उमेरका हरिचरण एकाएक व्यापक रुपमा गाउँका युवाहरुको लागि सोच्न पुग्छन्। युवाहरुको भविश्य निर्माणको लागि विद्यालय स्थापना गर्ने पवित्र उद्देश्य बोकेर काठमाडौँबाट गाउँ फर्कन्छन्।
समाजमा सबैका लागि काम गर्न चाहने युवा उमेरका व्याक्तिका लागि हरिचरण सिटौला उदाहरण,प्रेरणा र आदर्श मात्र हुन सक्छन्। तर उमेरका युवा हरिचरण उद्देश्यका हिसाबले भने प्रौढ हरिचरणका रुपमा प्रमाणित हुन पुग्छन्। शिक्षाको लागि युवा हरिचरण उच्चमहत्वाकांक्षा र मनोबलका साथ गाउँ फर्कन्छन्।
सामन्तवादी युगमा समाजवादी सोच
हरिचरण सिटौला सामन्ती राणाशासनको समयमा जन्मी हुर्केका सामन्तवादी सोच र व्यवहारसमेत मिश्रित धनी किसान पृष्ठभूमी भएको परिवारका उपज हुन्। व्यक्तिवादी-सामन्तवादी युगका हरिचरणमा एकाएक समाजवादी सोच पैदा हुन्छ ,नेपालमा कुनै माक्र्सवाद र समाजवाद नआइपुगेको समय २००० साल तिर नै।
समाजका सबैलाई माथि उठाउने, अघि बढ्ने कार्यमा बाटो देखाउने, सबैलाई सधैँभरि हुने साझा शिक्षालयको स्थापना गर्ने सोच आफैमा समाजवादी सोचको परिणाम हो। समाजवाद नारा होइन,कार्य हो।
शिक्षालयको थालनी बिहानी नै समाजवादको थालनी हो -रिचरणको। समाजको लागि काम गर्नेलाई समाजवादी हुँ भनिरहनु पर्दैन। मुखका समाजवादी कामका व्यक्तिवादीभन्दा पृथक तर अघोषित समाजवादी सोच र व्यवहारका धनी हुन्-हरिचरण सिटौला।
गाउँफर्क कार्यक्रम र आफ्नो गाउँ आफैं बनाऔँका दृष्टान्त र प्रेरणा
नेपालका प्रसिद्ध प्रजातन्त्रवादी नेता वी.पी. कोइरालाले योजना बनाउदा गाउँका गरिब किसानलाई हेरेर योजना बनाउन सुझाव दिएका थिए , २०१६ सालतिर। नेपालका अर्का प्रसिद्व स्वदेशवादी नेता राजा महेन्द्रले गाउँको विकास गर्न र शिक्षित युवालाई गाउँको विकासमा सहयोग पुर्याउन गाउँफर्क राष्ट्रिय अभियान लागू गरेका गरेका थिए-२०२४ सालमा।
त्यस्तै किसिमले नेपालका लोकप्रिय नेता एवम् प्रथम् कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सरकार गाउँको विकासको लागि आफ्नो गाउँ आफै बनाउँ भन्ने कार्यक्रम ल्याएर लोकप्रिय भएको थियो।
उल्लेखित तीनैजना नेताको कार्यक्रम आउनुभन्दा धेरै वर्ष अगाडि २००० सालतिर नै उक्त विचार र योजनाको साथ कार्यन्वयनमा ओर्लिसकेका थिए–हरिचरण सिटौला। वी.पी.ले भनेजस्तो विकास गाउँबाटै थाल्ने अठोट काठमाडैाँमै पलाएको थियो-युवा हरिचरणामा।
पढेका युवाले सहर वा राजधानी होइन , विकासको लागि गाउँलाई रोज्नुपर्छ। सहरको सुविधा र अवसर छोड्नुपर्छ र गाउँ फर्कनुपर्छ भन्ने मान्यताका साथ आफैबाट गाउँफर्क अभियान सुरु गर्छन्-युवा हरिचरण विकासका निम्ति राजधानी काठमाडौँ सहरबाट गाउँ फर्किएर।
सरकारको मुख मात्र ताक्ने होइन, आफ्नो गाउँको विकास गर्न आफै लाग्नुपर्छ भन्ने मान्यताको साथ व्यवहारबाटै आफ्नो गाउँ आफै बनाऔ सुरु गर्छन् ,उत्साही हरिचरण गाउँ बनाउने पहिलो आधार शिक्षालाई देख्छन् र विद्यालय स्थापनाको अभियानमा सबैलाई सरिक गराउँछन्।
यसरी हरिचरण सिटौला वी.पी.,महेन्द्र र मनमोहनका समाज विकासका नौला कार्यक्रम आउँनुभन्दा अगाडि नै तीनैजनाका ग्रामीण विकासका कार्यक्रम लिएर उदाइसकेका हुन्छन्।
हरिचरणको कामः आफ्नो गाउँ आफै बनाऔं नाम
संयोग नै भन्नुपर्छ-गाउँको विकासमा आफूलाई समर्पित गर्ने हरिचरण सिटौलाको कामको उदाहरण दिँदै एमालेको आफ्नो गाउँ आफै बनाऔँ कार्यक्रम आउनु अघि नै विकासको लागि आफ्नो गाउँ आफै बनाऔँको न्वारन भइसकेको थियो।
त्यो पनि वाहाँकै जिल्ला तेह्रथुमको पिप्ले गाविसमा जिविस सभापतिको हैसियतले उहाँको आफ्नै छोराको मुखबाट। प्रसङ्ग हो,पिप्ले गाविसका अध्यक्ष ज्ञानबहादुर खत्रीले पाँच गाविसलाई फाइदा पुग्ने पिगुवा कुलोको लागि अनुदान प्राप्त गर्ने उद्देश्यले बोलाएको व्यापक प्रतिनिधित्वको भेलामा जिविस सभापतिको हैसियतले खगेन्द्रराज सिटौलाले बोल्नुपर्ने भयो।
मन्तव्यको क्रममा आफ्नो गाउाको विकास सरकारको मुख नताकी आफ्नै गाउँको शक्ति परिचालन गरी चुहानडाँडामा हाई स्कूल,कलेज बनाएको हरिचरण सिटौला,पदमप्रसाद उप्रेती आदिको उदाहरण दिदै आफ्ना् विकास आफै गरौँ भन्ने शब्द पहिलोल्टि प्रयोग भएको थियो २०५१ सालमा।
सभापतिको भाषणले जनतामा राम्रो प्रभाव पर्यो। केही दिनपछि सभापतिसहित चारपाँच सय जनता जंगलमा दुई दिन बसेर कुलो खन्ने काममा सरिक भए। पछि मूल्यांकन गर्दा डेढालाख खर्चमा लगभग पन्ध्रलाखको काम भएछ। यो काम र नामको चर्चा एमालेका अधिकांश उच्च नेताहरुमा पुगेको थियो।
पछि एमालेको सरकार बनेको बेलामा बजेट ल्याउनुपूर्व पूर्वाञ्चल सुझाव कार्यक्रममा अर्थमन्त्री भरतमोहन अधिकारी समेतको पार्टीको भेलामा तेह्रथुम जिविस सभापतिको हैसियतले सुझाव दिने क्रममा पिप्लेमा उद्घोष गरिएको आफ्नो गाउँ आफै बनाउँ जस्तो विकासको लहर ल्याउने कार्यक्रम ल्याउन सुझाव दिएको थिएँ।
साथै जमिन,जलस्रोत,जङ्गल,जेष्ठ नागरिक,जनाना, जवान,जनशक्ति,जागरण,आदि ज शुत्र टिपाएका थिए-अर्थमन्त्री भरतमोहन अधिकारीलाई। अभिरुचिपूर्वक टिपेका दुबै कार्यक्रमले एमालेको बजेट कार्यक्रममा स्थान पाएको महसुस गरेको छु।
एउटा आफ्नो गाउँ आफै बनाऔँ भएर नै आयो। ज भने नौ स कार्यक्रमको रुपमा आयो। यसरी आफ्नो विकास आफै गर्ने ,आफ्नो गाउँ आफै बनाउने अभियान थाल्ने हरिचरणहरुका विचारको दृष्टान्त र अनुशरणले राष्ट्रव्यापी लोकप्रिय कार्यक्रम ल्याउन मद्दत पुर्याएको छ।
गाउँफर्क र आफ्नो गाउँ आफै बनाऔँ जस्ता विकासका उदाहरणीय र अनुकरणीय आदर्श मूलमन्त्र दिएर हरिचरणले आफ्ना छोरा तथा भाइभतिजहरुलाई राजधानीलगायत सुविधासम्पन्न सहरबजारबाट उच्च शिक्षापछि गाउँ फर्काएका थिए,स्वयंसेवक या थोरै तलबमा काम गराएका थिए।
लामो समय गाउँमा बसेर सेवा गर्न प्रोत्साहित गरेका थिए। यो मात्र होइन,चुहाण्डाँडामा शिक्षाको विकासमा योगदान दिने सबै परिवारहरुले यसरी नै योगदान दिने साझा संस्कृतिको विकासमा भूमिका खेल्नेकाम भएको थियो।
निकास र विकासको पहिलो शर्त : शिक्षा
सिटौलाहरुले निकास र विकासको जग शिक्षालाई माने। समाजको रुपान्तरणका निम्ति पहिलो कडी नै शिक्षा हो। शिक्षा आम जनताको अधिकार हो भन्ने यथार्थतालाई १९९४ सालतिर नै महसुस गरेका हुन्-सिटौलाहरुले।
त्यसैले उनीहरुले कुनै व्याक्तिगत पद र लाभ मागेनन्-तत्कालीन प्रधानमन्त्री श्री ३ जद्धशमशेरसँग। उनीहरुले शिक्षा मागे, समाजको लागि,सबैको लागि,चेतनाको लागि,निकासको र विकासका लागि।
सिटौलाका चल्तफिर्ता अगुवा बहिदार गंगाप्रसाद सिटौलाले जुद्धशमशेरबाट स्वीकृति लिएर मुलपानीमा स्थापना गरेको भाषा पाठशाला यसको उदाहरण हो। यसैबाट उत्साहित र प्रभावित हुँदै शिक्षा,शिक्षा र फेरि पनि शिक्षामा नै जोडदार रुपमा लागे-सिटौलाहरु,अरु सबै थरघरसँगै सहकार्य गर्दै।
खासगरी चुहानडाँडा,थोक्लुङ,मुलपानी,खाम्लालुङ,हवाकु ,निगुरादिन,आदि क्षेत्रमा विद्यालय स्थापना गर्न सकृय र नेतृत्वदायी भूमिका छ- सिटौलाहरुको। यसैगरी पछिल्ला पुस्ताहरुले पनि यसलाई निरन्तरता दिइरहेका छन्। त्यसैले निकास र विकासको पहिलो शर्त ः शिक्षा भन्ने त्यसबेला सिटौलाको ठम्याइ सही थियो।
आफ्नो ज्ञान र क्षमता समाजको लागि
हरिचरण सिटौला कानुनमा उच्चस्तरको क्षमता र दक्षता थियो,विशेषतःमस्यौदा,वादी,प्रतिवादी,लेख्ने,कानुनी सल्लाह र सुझाव दिने कार्यमा। तर वाहाँले आफ्नो उक्त क्षमतालाई न कहिल्यै निजी स्वार्थको लागि उपयोग वा त्यस क्षमताको दुरुपयोग गर्नुभयो।
सधैँ अरुको लागि,समाजको लागि,वा पीडितको लागि आफ्नो योग्यता र क्षमता अर्पण गरिरहनु भयो। वाहाँले आफ्नो त्यस कानुन विषयमा भएको ज्ञान,योग्यता र क्षमतालाई अर्थाेपार्जनको विषय बनाउनु भएन। कतिपय पीडितको लागि आफै आफ्नै खर्चमा सदरमुकाममा धाइदिनु भयो।
अरुको लागि उहाँ समय,बुद्धि र धनसमेत खर्च गर्नुहुन्थ्यो। उहाँले चाहनु भएको भए आफ्नो कानुनी ज्ञान र क्षमतालाई व्यवसायीकरण गरेर राम्रै अर्थाेपार्जन गर्न सक्नुहुन्थ्यो। तर उहाँले कहिल्यै त्यसो गर्नुभएन। वाहाँले अरुको लागि निःशुल्क दिएको कानुनीसेवाको मूल्याङ्कन कति होला ?
न्याय खोज्न हरिचरणकोमा जानु
गाउँघरमा होस् या वरपर अन्य जिल्लाबाट पनि अन्यायमा परेका पीडितहरु न्यायनिसाफ खोज्न हरिचरणकोमा आउँथे। घर सधैँ कजहरीजस्तो हुन्थ्यो। उहाँमा नियानिसाफ गर्ने बेजोड क्षमता थियो। गल्ती केलाउने,मेलमिलाप गराउने इन्साफ दिने उहाँमा आफ्नै शैलीगत कुशलता थियो।
अनौठो त यो थियो कि- पीडित र पीडक दुबै उहासँग सन्तुष्ट भएर जान्थे। दुबै जितेको वा राहत पाएको महसुस गर्थे र उहाँको जयगान गाउँदै फर्कन्थे। निसाफ र कानुनी दक्षतामा हरिचरण सिटौलाको ख्याति टाढाटाढासम्म फैलिएको थियो।
विकासको लागि जे सक्छौ देऊ,जे पाउँछौ लेऊ
आफ्नो गाउँमा जे कुराको विकास चाहिएको हो त्यसको लागि आफैँ लाग्नुपर्छ भन्ने उहाँको मान्यता थियो। विकास पहिला जनताको मनमा उमार्नुपर्छ भन्नुहुन्थ्यो-वाहाँ। स्थानीय जनसमुदाय जसको जे क्षमता छ,त्यसलाई ठम्याएर उसैलाई विकासनिर्माणमा परिचालन गर्न उहाँ कुशल हुनुहुन्थ्यो। जसले जे सक्छ,त्यही दिन्छ-विकासमा।
लिन कुशलता पनि चाहिन्छ, उहाँको मान्यता थियो। कसैलाई करमा पारेर वा मारमा पारेर विकास गर्न सकिन्न र गर्नु पनि हुँदैन भन्नुहुन्थ्यो। स्थानीय श्रमिकलाई बढि परिचालन गर्न मनपराउनुहुन्थ्यो। उचित पारिश्रमिक दिएर श्रमिकलाई खुशी पारेर बढी प्रतिफल लिनुपर्छ भन्ने मान्यता थियो-उहाँको।
त्यसैले पनि त्यो समयमा त्यति छिट्टै शिक्षाको विकास र त्यति ठूलो होस्टल,विद्यँलयका भवन बन्न सकेका हुन। वाहाँले आफूलाई व्यवहारले सधैँ विकासका सक्रिय नेता बनाइरहनुभयो र विकासको लागि सबैलाई परिचालन गर्न र बहुजातीय समाजलाई एकतामय बनाउन अग्रणी भूमिका खेलिरहनुभयो। विकासको लागि स्थानीय तनमनधन साधन श्रमसीप साथै एकतालाई एकमुष्ट रुपमा जोडी शक्ति निर्माण गर्ने हरिचरण सिटौलाको विशेषता र क्षमता थियो।
घरलाई पाठशाला,आफूलाई प्रथम गुरु
अंशबन्डाको क्रममा हरिचरण सिटौला आठराईमा सिटौला वंशका संस्थापक कुस्माखर सिटौलाले स्थापना गरेको घर खायलमा रहनुभयो। सिटौलाको त्यो मूलघरको गरिमालाई उहाँले झुक्न दिनुभएन। उहाँले जब शिक्षाको लागि नेतृत्व दिन थाल्नुभयो,आफ्नो घरको वातवरण जहिलेसुकै पाठशालामय बनाइराख्नुभयो
छरछिमेकी,भाइबहिनी,भतिजाभतिजी,भानाभान्जाभान्जी,मावली,ससुराली,नातानातिनी,जस्ता नाता कुटुम्बका विद्यार्थीको जहिल्यै घुइँचोमुइँचो हुने र पढाइको स्वरले घर गुञ्जायमान हुने गथ्र्यो। लाग्थ्यो-त्यो घर बिहानकालिन र रात्रीकालिन पढाइ हुने कुनै विद्यालय वा छात्रबास हो।
आफ्नो घरको मतान,बरन्डा,र हलमा नअटेका विद्यार्थीको जमात माथि दोकानडाँडाको दोकानघर(सुरुको स्कुल थियो) मा समेत विद्यार्थीको लर्कौ लागेर होस्टलजस्तो थियो। उहाँले जहिल्यै घरलाई पाठशालामय बनाइरहनु भयो।
बाहिरी जिल्ला वा टाढा गाउँबबाट पढ्न आउने विद्यार्थीहरुलाई आफ्नो घरमा खानबस्न मिलाइदिने,ठाउँ नपुगे छरछिमेकमा वरपर कतै न कतै खानेबस्ने व्यवस्था मिलाइदिने काममा सक्रिय रुपमा सहयोगी भइरहनुभयो। साथै पढ्ने कुरामा सबैलाई प्रोत्साहित गरिरहनुभयो।
उहाँले पायः आफ्ना छोराछोरी,भाइभतिजा भतिजी,भान्जाभान्जी,छरछिमेकका समेत कतिपयका आफूलाई पहिलो गुरु बनाउनुभयो। सबैलाई घरमा काठको धुलौटोमा बाँसको डिक र पछि बाँसको कलमले मसी चोप्दै लेख्न सिकाउनुहुन्थ्यो। एक वर्षमा नै दुईतीन कक्षामा पढ्ने हैसियतको बनाउँनुहुन्थ्यो,अनि मात्र विद्यालय पठाउँनुहुन्थ्यो।
इमान,स्वाभिमान र अनुशानमा जोड
स्वाभिमानी हरिचरण सिटौला इमानमा पनि त्यत्तिकै जोड दिनुहुन्थ्यो। उहाँले जीवनमा इमान र स्वाभिमानमा कहिल्यै सम्झौता गर्नुभएन। निरन्तर अरुको लागि ,समाजको लागि,शिक्षा र विकासको लागि सकृय समाजसेवामा समर्पित व्याक्तिलाई अवश्य पनि बेलाबखत्मा आर्थिक दबाब परेको पनि हुनसक्छ।
तर उहाँले आफूमाथि आएका जस्तासुकै दबाब र संकट भएपनि उहाँले जहिल्यै इमान र स्वाभिमान बचाएरै राख्नुभयो। उहाँ अनुशासनप्रिय मान्छे हुनुहुन्थ्यो। उहाँ घरपरिवार तथा वरपर समाजमा सबैलाई अनुशासनमा बस्न जोड दिनुहुन्थ्यो।
छोरीहरुलाई विद्यालय पठाऔँ
छोरीहरुलाई स्कुल पढ्न पठाउनुहुँदैन भन्ने सामन्ती विचार र रुढिग्रस्त ग्रामीण समाजसँग जुद्धै छोरीहरुलाई स्कुलमा पठाउने र पढाउने अभियानमा लाग्नुभयो। अरुको लागि आफू उदाहरण बनेर मात्रै अरुलाई गराउन सकिने मान्यता वाहाँमा थियो। त्यसैले उहाँले आफ्ना परिवारका छोरीहरुलाई स्कुल पठाउन सुरु गर्नुभयो।
सहरमा होइन, गाउँमा २००७ सालमा अगाडि नै छोरीहरुलाई स्कुल पठाउनु पनि त्यसबेलाको परिवेशमा प्रगतिशील काम थियो,क्रान्तकारी काम थियो। उहाँले छोरीलाई स्कुल पठाउने प्रारम्भिक अभियानले समाजमा जरुर सकारात्मक प्रभाव पा¥यो। त्यसैले त गाउँघरका गाउँघरका धेरै छोरीचेलीहरु छोराहरुसँगै झोला बोकेर स्कुल आउन थाले।
परिणामत : त्यस ग्रामिण भेकमा साक्षर तथा शिक्षित महिलाहरुको क्रमश उल्लेख्य मात्राको सङ्ख्यामा बढ्न थाल्यो। उहाँको आफ्नै कान्छो भाइ भोलानाथ सिटौला तथा बुहारी देउमाया सिटौलाकी प्रथम सन्तान डिल्लीमाया सिटौला २००७ साल अघि कै ग्रामिण क्षेत्रमा स्कुल जान पाउने सौभाग्यशाली महिला हुन पाउनु भयो। उहाँ पछि स्नातक गरेर विदेशमा(हङकङमा)गएर पढाउने प्रथम सिटौला शिक्षिका पनि हुनुभयो।
छोरीहरुलाई स्कुल पठाउने र पढाउने क्रममा हरिचरणले वीरेन्द्र इन्टर कलेजभवन बनाउने ,रेखदेख र निर्देशनको बेलामा क–ख सिकाएकी कान्छी छोरी डा.विजया (सिटौला) पन्त एस.यल.सी.परीक्षामा झापा जिल्ला प्रथम हुँदै जापानबाट पि.यच.डी.गरेर त्रिभुवन विश्वविद्यालयमा प्रोफेसरको रुपमा प्रध्यापन कार्यमा संलग्न छिन्।
ठूली छोरी मैया (सिटौला) सेढाई २०२७ सालमा नै यस.यल.सी.पास गर्ने त्यसबेलाका थोरै छात्राहरुमा पर्दछिन्। माइली छोरी राधिका (सिटौला) दाहालले यम.बी.ए. पास गरेकी छन्।
छोरी मात्रै होइन,उहाँका सातओटी बुहारीमध्ये पाँचओटीले स्नातक पास गरेका छन्। जसमध्ये एक बुहारी शान्त (सुवेदी) सिटौलाले त विवाहपछि उहाँले स्थापना गरेको तथा उहाँको जेठा छोरा मोहन सिटौला क्याम्पसप्रमुख भएकै बेलाको प्रयासबाट बी.ए.सम्मको स्तरोन्नति भएको तेह्रथुम बहुमुखी क्याम्पसबाटै स्नातक गरेकी हुन्।
आफूले स्थापना गरेको कलेज आफ्नै जोठोछोरा क्याम्पसप्रमुख भएको र उनकै सकृय पहलमा बी.ए.को स्तरउन्नति भएको र त्यहीँबाट आफ्नी बुहारी स्नातक हुने क्रममा उहाँ असाध्यै खुसी हुनुहुन्थ्यो। तर उहाले यो परिणाम भने देख्न पाउनु भएन। समाजलाई अघि बढाउन महिलालाई पढाउन २००७ सालअघिदेखि नै जोड दिने हरिचरण सिटौलाको प्रगतिशील सोँचको पाटो यसरी छर्लङ्ग भएको छ।
उहाँका नातिनीहरु विविध विषयमा स्नातकेत्तर गरेका छन् भने अन्य कोही डाक्टर इन्जिनियर तथा अन्य विविध विषयमा उच्च शिक्षा हासिल गरेका वा गरिरहेका छन्।
क्रमश…
Facebook Comment