राष्ट्रिय संरक्षण सम्मेलन-अनुभूति

यो वर्षको असार १५ बाउसे र रोपाहार जस्तै उत्साहले भरिपूर्ण ब्यस्त रह्यो। खेतबारी र रोपाइमा होइन, राजधानीस्थित मेरो संरक्षण मन मन्दिरको सुन्दर परिसरमा।
गत असार १३, १४, १५ र १६ गते खुमल्टारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसि) परिसरमा वातावरण र संरक्षणविद्हरुको कुम्भमेला लाग्यो।

जहाँ चारसय बढी वातावरणविज्ञ र संरक्षणकर्मीको उत्साजनक र सक्रिय सहभागिता देखेर पंक्तिकारलाई संरक्षण गौरव लाग्यो। किनभने देशव्यापी डढेलो र खडेरीले आक्रान्त मुलुक यो वर्ष अत्यधिक तापमान बृद्धिको कष्टकर पीडा भोगिरहेको थियो।

मनसुनी बर्षाको सुरुवातमै बाढी पहिरोले जनधनको ठूलो क्षति गरेर जलवायु परिवर्तनको जोखिमपूर्ण भविष्यलाई इंगित गरिरहेको थियो। ठिक त्यही ताई (धर्ती) तातेको मौका पारेर आयोजना गरिएको यो राष्ट्रिय संरक्षण सम्मेलन समय सान्दर्भिक मात्र होइन, बिशेष र बिशिष्ट महत्वले भरपूर थियो।

मेरो लागि यो ज्ञानवर्धक शिक्षाप्रद, बहुउपयोगी र संरक्षण उर्जा तथा भोक जगाउने बिशिष्ट मञ्च थियो। आफूले स्वस्फूर्तरुपमा १ मिनेट विश्राम नलिई सहभागिता जनाएर आर्जन गरेको संरक्षण अनुभूति लिपिबद्ध गर्दा यो आलेख तयार हुन गयो।

मेरो यो आलेख त्यही संरक्षण सम्मेलनमा केन्द्रित हुनेछ।

कदरयोग्य पहलकदमी

उच्च सम्मान र सलाम छ यो महत्वपूर्ण मञ्चको परिकल्पनाकार अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसिएन) नेपाललाई, जसले बिबिध जटिलताले भरिएको अँधेरो सुरुङभित्र सहजताको दियो बालेर यो महत्वपूर्ण सम्मेलन सम्पन्न गर्‍यो।

करिब एकसय पचास सहभागीको अपेक्षा, दोब्बर बाघको टार्गेट झण्डै तेब्बर भए झैं, बढेर चारसय नाघेको थियो। सहभागीहरुको मनोबिज्ञान अध्ययन गर्दा सबैमा असीम संरक्षण उर्जा, संरक्षणप्रति सकरात्मक सोच र संरक्षण प्रतीज्ञा तथा बिनाशर्त संरक्षणलाई प्राथमिकता दिने दृढसंकल्प नजर
आउँदथ्यो।

वातावरण र संरक्षण सरोकार नेपाल सरकार, संरक्षण साझेदार राष्ट्रिय अन्तर्राष्ट्रिय संघ-संस्थाहरु, प्रकृति संरक्षण निकायहरु (नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी) वातावरणविज्ञ, प्राज्ञ, अध्येता, अनुसन्धाता, बिद्यार्थीलगायत आईयुसिएन नेपालको सचिवालय, आइयुसिएन नेपालमा आबद्ध २६ संरक्षण सदस्य संस्थाहरु तथा १४६ सदस्य सम्मिलित ७ वटा कमिसनको सहभागिताले यो सम्मेलनलाई सबै फूलको साझा फूलबारी जस्तो सुन्दर र शोभायमान बनाएको भान हुन्थ्यो।

२० वटा समयसापेक्ष धाराप्रवाह प्रस्तुति र छलफल कार्यक्रम, सरल र सहज व्यवस्थापन तथा राम्रो बन्दोबस्ती र निर्धारित समयमा समापनले पंक्तिकारलाई सम्मेलन सभ्य, भव्य र परिणाममुखी लाग्यो।

स्थापनाकाल (सन् १९९५) पछि पहिलोपटक संरक्षण सरोकार सबैलाई समेटेर आयोजना गरिएको यो ऐतिहासिक सम्मेलनले निरन्तरता पाउनुपर्दछ भन्ने सहभागी सबैको जोडदार साझा सिफारिस रहेबाट पनि यसको अपरिहार्यता, महत्व र गरिमा उच्च रहेको छनक दिन्थ्यो।

सम्मेलनको उद्देश्य र उपलब्धि

नेपालका वातावरण मुद्दाहरुको पहिचान, अध्ययन-अनुसन्धान, बर्गीकरण र प्राथमिकीकरण गरेर सेप्टेम्बरमा बैंककमा हुने आईयुसिएनको क्षेत्रीय सम्मेलन (आरसिएफ) मा नेपालका जल्दाबल्दा वाताबरण मुद्दालाई सशक्तरुपमा उठाउन यो सम्मेलन आवश्यक गृहकार्य र पूर्व तयारीको पहिलो खुड्किलो हो।

सानो तर जल, हिमाल, जंगल, जीवजन्तु, जडिबुटीको असीमित भण्डार रहेको जैबिक बिबिधताको धनी देश नेपालको सांस्कृतिक र भौगोलिक बिबिधतासमेतको संरक्षण महत्व विश्व संरक्षण समुदायको कानमा पुर्‍याउन अपरिहार्य छ। र, हाम्रा वाताबरण समस्या तथा मुद्दाहरु, आवश्यकता र अपेक्षा क्षेत्रीय सम्मेलन हुँदै आगामी वर्ष सन् २०२५ मा आवुधावीमा हुने विश्व संरक्षण सम्मेलनसम्म पु¥याएर दर्ज गर्न यो राष्ट्रिय सम्मेलन कोसे ढुंगा हुने छ।

त्यसको अलवा विविध क्षेत्र र बिषयविज्ञ, विशेषज्ञ उपस्थित साझा मञ्चमा सबैले उठाएका र घनीभूत छलफल भएका पेचिला वाताबरण मुद्दाहरु राष्ट्रिय जैबिक बिबिधता संरक्षण कार्यनीति बनाउन समेत आफ्नै नीति निर्माताहरुलाई उपयोगी हुन सक्दछन्।

वातावरणका बिबिध क्षेत्रका अध्येता, अनुसन्धाता र बिज्ञहरुले आफ्नो ज्ञान अनुभव र बिज्ञता सेयर गर्नलाई यो सुनौलो मञ्च थियो।

मेचीदेखि महाकाली र हिमाल तराई दूरदराजका वाताबरण तथा संरक्षणविज्ञहरु स्वयं सेवक तथा सिटिजन साइन्टिस्टहरुको जमघट, परिचय, ज्ञान र अनुभव साटासाट तथा संरक्षणप्रतिको समन्वयकारी एकीकृत सहकार्यको प्रतिबद्धता र संकल्प आफैंमा अपूर्व अवसर र अद्भूत उपलब्धि लाग्दथ्यो।

लामो द्वन्द्व, उस्तै लामो संक्रमणकाल, कोभिड-१९ महामारी र डेङ्गुले तित्तरबित्तर संरक्षण साझेदार संघसंस्थाहरुलाई एउटा साझा मञ्चमा आमन्त्रण गरेर बृहद संरक्षण टिम निर्माण गर्न र नमूना टिमवर्कको पुनर्थालनी गर्न अति जरुरी थियो। त्यसको लागि यो मञ्च उत्तम बिकल्प र सुवर्ण अवसर थियो।

घत लागेका कुराहरु

विज्ञहरुको प्रस्तुति र खुल्ला छलफलमा सहभागी संरक्षणकर्मीले राखेका घतलाग्दा प्रश्न जिज्ञासा र सुझावहरु सुनेर संरक्षण घत लाग्यो। ती मध्ये केही यहाँ उल्लेख गर्ने जमर्को गरेको छु-

यो सुन्दर पूर्व तयारी र गृहकार्यले नेपालका वाताबरण मुद्दाहरु ओझेलमा पर्ने छैनन्। युएन सेक्रेटरी स्वयम् हिमालमा उपस्थित भएर बिश्वसामु उठाइदिनु भएको जल शिखर हिमाल रक्षाको आवश्यकतालाई निःसन्देह आईयुसिएन नेपालले क्षेत्रीय हुँदै आइयुसिएनको विश्व संरक्षण कार्ययोजनामा दर्ज गरिछाड्ने छ। बिनाकसुर हिम शिखरको हिँउ पग्लिने र तल्लो तटीय क्षेत्रले भोग्नुपरेको क्षतिको पेचिलो मुद्दाको सुनुवाई हुनेछ भन्ने ज्ञात भयो।

उस्तै प्रदुषण हाम्रो उत्पादन होइन तर प्रदुषणको भयावह अवस्थाले नेपालको शिक्षा, स्वास्थ्य, पर्यटन, अर्थतन्त्र, कृषिले नकरात्मक मार खानुपरेको कुरा पेचिलो थियो।
प्रकृति संरक्षणको केन्द्रबिन्दुमा स्थानीय समुदाय रहेका हुनाले तिनको संरक्षण सहभागिता, निर्णय अधिकार, स्वामित्व र प्राकृतिक श्रोत माथिको पहुँचले हमेशा प्राथमिकता पाउनुपर्दछ।

नेपाल सरकारको नेतृत्वमा संचालित आयोजनाको अपनत्व स्थानीयले लिएमा मात्र त्यो आयोजना सफल र परिणामुखी भएको मानिने रहेछ। स्थानीय समुदायले जीउज्यान धन त्याग गरेर स्थापना रक्षा गरेको संरक्षण क्षेत्र खोसेर घरानालाई जिम्मा लाउने काम किमार्थ स्वीकार्य र दिगो हुँदैन।

संरक्षण क्षेत्रसँग जोडिएर बस्ने पिछडा सिमान्तकृत बर्गको हक हित बिपरित निकुञ्जको कोर एरियाभित्र घराना छिराउने षड्यन्त्रलाई सबैले खेदजनक भने। त्यसले दरो र अपरिवर्तनीय कानूनको जोडदार माग गरेको प्रष्टियो।

निकुञ्ज पूरै निषेधित क्षेत्र हुँदाहुँदै त्यसलाई कम र बढी सम्बेदनशील क्षेत्र भनेर बर्गीकरण गर्न नहुने तर्क दमदार थियो। वाताबरणमैत्री संरचना र पूर्बाधार, होटल, हाइड्रो, केवलकार किन संरक्षण क्षेत्र बाहिर मध्यवर्ती क्षेत्रमा नबनाउने भन्ने तर्क सबैलाई मान्य थियो।

निकुञ्जभित्रको अबैध घुसपैठ राष्ट्रिय अनुशासन ह्रास र कानूनको खिल्ली उडाउने दुस्साहसको बिम्ब भएकोले गस्ती बढाएर सुरक्षा घेरा मजबुत बनाउनुपर्ने सुझाव मननयोग्य थियो। अन्य देशमा लामबद्ध हुने, कानूनको अक्षरश पालना गर्ने र स्वदेशमा आफैं कानून भएर धिङ्न्या पल्टिने नेपालीको आम प्रवृत्तिको बर्णनले सबैलाई दुःखित बनायो।

मानव-वन्यजन्तु द्वन्द्व प्राकृतिक होइन, मानव सृजित हो र कुशल ब्यवस्थापकले कानून उल्लंघन गर्ने मानिसलाई अनुशासित राख्नासाथ मुलुकमा यो अतिरञ्जित समस्या स्वतः समाधान हुने ठोकुवा वजनदार थियो। बाहुनडाँगी र बर्दियाको मानव–बन्यजन्तु सहअस्तित्व को असल अभ्यास अरुले सिक्नुपर्ने कुरा गौरवयोग्य थियो।

पाटे बाघको आक्रमणबाट दोश्रो जीवन पाएका बर्दियाका भदै थारुको संरक्षण संकल्प र प्रेरणादायी संरक्षण गीतहरुले सभाहल तालीमय भएको थियो।

संरक्षण ऐन कानुन नीति नियम राम्रो र कडा हुँदाहुँदै त्यसको अपब्याख्या गर्ने र छिद्र खोजेर अतिक्रमण गर्ने दुई अर्थको काइते कानूनी भाषा पुनरावलोकन गरी अपरिवर्तनीय ऐन बनाउन वातावरण कानुनविद्हरुको सुझाव अर्थपूर्ण थियो।

सरकारका राम्रो राहत कार्यक्रमलाई सरलीकृत र शीघ्र सम्पादन गर्नुपर्ने राय मननयोग्य थियो। किसानको पशुधन, अन्नवाली र घरगोठको अनिवार्य बिमा गर्नुपर्ने सुझाव र सिफारिस तारिफयोग्य थियो।

जलचरको अनुसन्धान गरेन भने धेरै जलचर लोप हुने बिज्ञहरुको चेतावनीले अनसुन्धान कार्यलाई सरल, सहज र ब्यापक बनाउन माग गरेको कुरा समयसापेक्ष थियो। जलचर मात्र होइन जैविक बिबिधताको अध्ययन र अनुसन्धानमा अनिवार्य जोड दिन प्रशासक र प्राबिधिकलाई जोडदार माग राखियो।

प्राचीन सांस्कृतिक मूल्य मान्यता र बिश्वासको रक्षा कल्याण सम्मान गरेर संरक्षणलाई मजबुत बनाउन सकिने सुझाव सृजनशील र प्रभावकारी लाग्यो।

सीमा क्षेत्रमा संरक्षणकर्मीहरुको संरक्षण कुटनीतिमार्फत बन्यजन्तुको अन्तरदेशीय ओहोर दोहोर अनुगमन र मूल्यांकनको मुक्त कण्ठले प्रशंसा गरिएको थियो।
मानव अधिकारको एकतर्फी माग गर्ने अधिकारकर्मीलाई प्रकृति र बन्यजन्तुको प्राकृतिक अधिकार र बाँच्न पाउने अधिकारप्रति संबेदनशील भइदिन प्रकृति र पशुअधिकारकर्मीहरुले गरेको जोडदार मागलाई तालीले अनुमोदन गरेको रमाइलो दृश्य पृथक तर रोचक थियो।

पर्यटन क्षेत्र वाताबरणमैत्री सँगै अनुशासित र जवाफदेही हुनुपर्ने सम्वेदनशील मागले सवैको ध्यान खिचेको थियो। फोहोर व्यवस्थापन गरेर सफा नेपाल प्रश्तुत गुर्नपर्ने सिफारिस सुन्दर थियो।

एकातिर हरित सुशासन र वातावरणमैत्री पूर्वाधार भन्ने र अर्कोतिर वातावरण बिनास गर्ने निजगढ बिमानस्थल र नागमती बाँधको निर्माण नारा लगाउने राष्ट्रिय चलखेल वाताबरण विरोधी भएकोले त्यसको निरन्तर निगरानी र खवरदारी गर्नुपर्ने जोडदार माग घतलाग्दो थियो।

बाघ संरक्षणमा भएको लगानीले न बाघलाई सुरक्षित खुशी र सुखी राख्यो, न बाघसँग जुध्ने स्थानीय समुदायको आवश्यकता र मुद्दा सम्वोधन ग¥यो भन्दै पर्यटकको रोजाई प्रजाति बाघ भएकोले त्यसको संरक्षण र व्यवस्थापनमा बिशेष ध्यान दिनुपर्ने सुझाव सबैलाई मन पर्‍यो।

संरक्षण क्षेत्रलाई अराजनीतिक राखेर हरित सुशासन कायम गर्नु आजको आवस्यकता भएको दाबी मननयोग्य थियो। राष्ट्रिय निकुञ्ज विभागको अगुवाई र सहजीकरणमा जुनियर रेञ्जर अवधारणा लागू गर्न बिलम्ब नहोस् भन्ने सुझावप्रति सबैको मौन समर्थन देखियो।

डढेलो नियन्त्रणको लागि पूर्व तयारी, तालिम, समन्वय, सहकार्य जरुरी भएको भन्दै यो बर्षको बिपद् नियन्त्रण पूर्व तयारीको स्वागत गरियो। जलवायु बित्तमा पहुँच बिस्तार गर्ने, सदुपयोग गर्ने र प्रकृति संरक्षण र बिकास दुवै आवश्यकतालाई जितै जित हुने गरी लगानीको जवाफदेहीता र सानदार परिणामले देखाउने सुझाव सशक्त थियो।

ओइसिएम् (अदर ईफेक्टिभ् एरियाबेस्ड् कन्जर्भेसन मेजर) को अवधारणा कति सुन्दर र सानदार! संरक्षण क्षेत्रभित्र नसमेटिएका तर संरक्षण गर्नैपर्ने जैबिक बिबिधताका खानी जल जमिन जंगल क्षेत्रलाई ओइसिएम घोषणा गरेर स्थानीय आदिबासी जनताको सहभागितामा संरक्षण र ब्वयस्थापन गर्ने आइयुसिएनको अवधारणा बिश्वभरि लोकप्रिय छ।

नेपालमा अध्ययन अनुसन्धान र सिफारिसको क्रममा रहेको यो अवधारणा लागू र सफल भएपछि हाम्रो प्रकृति संरक्षणको छवि र मान-शान जुनमा पुग्ने अपेक्षा राखिएको छ।

प्रकृतिको शिक्षा र सचेतना तथा प्रकृति संरक्षणको आवश्यकता भविष्यका नीति निर्माता राजनीतिक नेतृत्व र आम संचार माध्यममा पु¥याउने बुझाउने मनाउने माग मनासिव लाग्यो।

गौरव अनुभूति

युएन र आइयुसिएन करिब समकालीन दुई गौरवशाली विश्व संस्थाहरु। युएन विश्व शान्ति स्थापना गरेर मानव रक्षा कल्याण सम्मानमा समर्पित। आइयुसिएन जैबिक बिबिधता र समग्र प्रकृतिको रक्षा कल्याण सम्मानमा समर्पित।

हाल, जलवायु परिवर्तनको भयानक मारबाट मानिसको सास गाँस बास कपास जोगाउन बिशेष समर्पित। बस्न योग्य सुन्दर पर्यावरणयुक्त पृथ्वी नभए मानव कहाँ बस्नु र विकास गर्नु?

सैनिक पोसाकमा प्रत्यक्ष अप्रत्यक्ष युएन छातामुनि आबद्ध भई विश्व शान्ति स्थापना गरेर मानव सेवाको सुन्दर अनुभूति लिने सौभाग्य प्राप्त भयो। शान्ति सैनिक भई लाईबेरिया खट्टिँदा युवा क्याप्टेनमा बिद्रोहीको अपहरणमा परी अनकन्टार जंगलमा कैदी भइयो।

बिद्रोहीको गोलीबाट बालबाल बाँचियो। बाँच्नुको अर्थ खोज्दै जाँदा थाहा भयो प्रकृति संरक्षणको जिम्मेवारी बहन गर्न बाँकी रहेछ। त्यसैले अपहरणमुक्त भई फर्किएपछि बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल डिउटी गर्ने अपूर्व अवसर प्राप्त भयो। त्यही जंगल र जीवजन्तुको भक्तिभावले अवकास लगत्तै आइयुसिएनको छातामुनि आबद्ध भएर प्रकृति संरक्षणको अध्ययन-अनुसन्धान, रखबारी, खबरदारी गर्ने भाग्य जुर्‍यो।

आइयुसिएनको विश्व संरक्षण सम्मेलन र नवौं विश्व रेञ्जर सम्मेलनमा प्रत्यक्ष सहभागी भएपछि बल्ल आँखा खुल्यो मैले पाएको जंगल डिउटी अपूर्व र दुर्लभ अवसर रहेछ। युएन भन्दा धेरै महान, पबित्र र धार्मिक जिम्मेवारी रहेछ।

मेरो जीवनमा युएन र आईयुसिएन दुवै ज्ञान, ध्यान, त्याग र बलिदानका विश्वबिद्यालय हुन्। दुबै सुखानुभूति र गौरवानुभूतिका खानी हुन्। दुवैको गौरव अवर्णनीय र अविश्मरणीय छ। सायद अतुलनीय पनि।

अतुलनीय यो अर्थमा, युएनले ज्ञान भरेको ज्यान घोटीघोटी गास बास कपासको कल्याणकारी बन्दोबस्ती सुधारेर ढुक्कसँग जीवन यापन गर्ने आर्थिक सुरक्षा र सुखानुभूति प्रत्याभूत गरिदियो। आइयुसिएनले धनको ठाउमा पवित्र ज्ञान ध्यान त्यागमा स्वयंसेवक भई विलीन हुन सिकाएर गौरवान्वित गरायो।

दुबै विश्व संस्थाको पहरेदार र सेवक हुन पाएकोमा म हर्षित र गौरवान्वित छु। बाँकी जीवन आइयुसिएनको पवित्र र महान लक्ष्य प्राप्तिमा स्वयंसेवक भइ त्याग गर्न कटिबद्ध छु।

उपसंहार

यो ऐतिहासिक र महत्वपूर्ण सम्मेलनले उठाएका वातावरण मुद्दाहरु र बहसले प्रकृति संरक्षणप्रति सवैको साझा चिन्ता र चासो छ, संरक्षण हुटहुटी छ र आजको पिँढी र बालबालिकाको संरक्षण संकल्प झन् धेरै छ भन्ने सन्देश दिएको छ।

वातावरण दोहन र बिनास नै आजको भयानक प्राकृतिक विपद्को मूल कारण भएकोले पारिस्थितिकीय प्रणाली नष्ट नगरी जीविकोपार्जन र सन्तुलित बिकासको बिकल्प खोज्नुपर्ने साझा सहमतिले प्रकृतिको भविष्य उज्वल छ भन्ने देखाउँदछ।

प्रकृतिबिरोधी डोजर आतंक र हचुवा पूर्वाधार/संरचना निर्माणले बाढी पहिरो र भूक्षय नहोस्। पानीको मुहानहरु नसुकावस्। सुगम र सहरको कंक्रिट, रासायनिक मल र बिषादी प्रयोगको अभिशाप र पाप सुन्दर गाउँहरुमा नपुगोस भन्ने सचेतना र साबधानीले भावी पिँढी र प्रकृतिले थप क्षतिको सामना गर्नु नपर्ला कि भन्ने आशा जागृत भएको छ।

पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन अवधारणा र वाताबरणीय मूल प्रवाहीकरणका मुद्दा र बहसले वर्तमान र भावी पुस्ताको लागि आवश्यक जल जंगल जमिन र समग्र जैबिक बिबिधताको अतिक्रमण र क्षतिलाई सुधारेर पुरानो हैसियतमा फर्काउने, पुनर्भरण र पुनर्प्राप्ति गर्ने तथा पारिस्थितिकीय सेवाको उचित र दिगो प्रवाहलाई सुधार गर्ने, बढाउने, गुणस्तरीय राख्ने पहलकदमी ज्यादै बान्छनीय छ।

अन्त्यमा, संरक्षणकर्मीहरुको यो संरक्षण उर्जा र दृढ संकल्प अनन्तकालसम्म कायम रहिरहोस्। चारसय सहभागीहरुको संरक्षण ज्ञान ध्यान र उर्जाले चार लाख प्रतिबद्ध संरक्षणकर्मीहरु तयार होउन्।

यस्ता संरक्षण सम्मेलनहरु बराबर भइरहून्। र, नेपालका सशक्त वातावरण मुद्दाहरु विश्व संरक्षण समुदाय सामु पुगून र हाम्रो असल संरक्षण अभ्यास र छविले विगतमा जस्तै भविष्यमा विश्वको ध्यान खिचिरहोस्।
जय संरक्षण।

लेखक IUCN-CEESP (Commission on Environmental Economical and Social Policy)  सदस्य हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *