बाइडेनले कांग्रेसका डेमोक्र्याटिक नेताहरूलाई पत्र लेखे, भने- फेरि राष्ट्रपतिको चुनाव लड्न प्रतिबद्ध छु
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले कंग्रेसका डेमोक्र्याटिक नेताहरूलाई लेखेको पत्रमा आफू डोनाल्ड ट्रम्पविरुद्ध फेरि राष्ट्रपतिको चुनाव लड्न पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
बाइडेनले लेखेका छन् – उनको उम्मेदवारीको अनुमान अब अन्त्य हुनुपर्छ। डेमोक्र्याटिक पार्टीका केही दाता र समर्थकले राष्ट्रपतिको उम्मेदवारीबाट पछि हट्न गरेको अपिलमा उनले डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिमा कसले उम्मेदवारी दिने भन्ने कुरा मतदाताले मात्रै तय गर्ने बताए ।
गत साता पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टिभी बहसका क्रममा उनको कमजोर प्रदर्शनपछि उनीमाथि राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिन दबाब बढेको छ ।
बहसमा बाइडेनको प्रदर्शनले धेरै गम्भीर प्रश्नहरू पछाडि छोडेको छ। यी प्रश्न राष्ट्रपतिको उम्मेदवारीका लागि उनको स्वास्थ्य र मानसिक अवस्थासँग सम्बन्धित छन् ।
बाइडेनको डेमोक्र्याटिक पार्टीमा ८१ वर्षीय राष्ट्रपतिलाई उम्मेदवार बनाएर राख्नु वा हटाउनुमा कति नाफा वा नोक्सान छ भन्ने बहस चलिरहेको छ । राष्ट्रपतिका केही कट्टर समर्थकहरूले पनि बाइडेनको उमेर र मानसिक अवस्थाबारे चिन्ता व्यक्त गरिरहेका छन्।
Facebook Comment