गाजाको एक विद्यालय र क्लिनिकमा भेटियो हतियारको भण्डार, २४ घण्टामा ५५ जनाको मृत्यु
काठमाडौं । गाजामा हमास र इजरायलबीच जारी युद्ध भएको नौ महिना बितिसकेको छ । यस अवधिमा करिब ३८ हजार १५३ जनाको मृत्यु भएको छ । ८७ हजार ८२८ भन्दा बढी घाइते भएका छन् । २३ लाख मानिस घरबारविहीन भएका छन् ।
यसैबीच इजरायली रक्षा बलले हमासका लडाकुहरू आम जनतामाझ लुकेर बसेको दाबी गरेको छ । सोमबार शेजैया क्षेत्रमा रहेको विद्यालय र क्लिनिकमा खोजी गर्दा ठूलो परिमाणमा हतियार फेला परेको हो । आइडीएफले मोर्टार, मेसिन गन, ग्रेनेड र गुप्तचर कागजातहरू सहित दर्जनौं हतियारहरू बरामद गरेको छ। संयुक्त राष्ट्र राहत तथा कार्य एजेन्सीका कर्मचारीहरूको पोशाकसँगै लुकाएर राखिएको थियो ।
सोमबार इजरायली हवाई हमलामा झण्डै ४० जनाको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली हमलामा एकै दिन कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ । इजरायली सेनाले गाजाका धेरै सहर खाली गर्न आदेश दिएपछि भागदौड जारी छ। जनताको विस्थापन फेरि सुरु भएको छ ।
प्यालेस्टाइनीहरू गाजा छोड्न बाध्य छन्। उनीहरुले फेरि घर छाड्नु परेको छ । जसमा बालबालिका र वृद्धवृद्धा महिला रहेका छन् । आइतबार इजरायली सेनाको नयाँ आदेशपछि उनीहरुको समस्या फेरि बढेको छ । इजरायली सेनाका प्रवक्ताले आइतबार सामाजिक सञ्जालमा गाजा सहरका धेरै ब्लकहरू खाली गरी अन्य ठाउँमा जान आग्रह गरेका छन्। एक विस्थापित महिलाले भनिन्, ‘कहिलेसम्म यसरी दौडिरहने ?’
पछिल्लो २४ घण्टामा इजरायली सेनाको आक्रमणमा ५५ प्यालेस्टाइनीको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन् । हमास र इजरायलबीच युद्धविरामका लागि नयाँ प्रयासहरू भइरहेका छन्। गाजाका जनता पनि युद्धविरामको प्रतिक्षामा छन् । तर हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारले स्थायी युद्धविराममा वार्ता जारी राख्ने मध्यस्थकर्तासँग ग्यारेन्टी माग गरेको छ। तर नेतान्याहु आफ्नो जिद्दीमा अडिग छन्।
गत हप्ता इजरायली सेनाले गाजाको अल नुसिरातमा रहेको एउटा विद्यालयलाई लक्षित गरी ठूलो हवाई आक्रमण गरेको थियो। यस हमलामा करिब १६ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए । उनीहरूले आतंकवादीहरूलाई लक्षित गरेको इजरायलको तर्क थियो । जबकि अधिकांश महिला र बालबालिका सो विद्यालयमा आश्रय लिएका थिए । विद्यालय पूरै भग्नावशेषमा परिणत भएको छ । त्यहाँ रहेका सवारी साधनहरु समेत फुटेका छन् ।
इजरायली सेनाले गाजामा गरेको आक्रमणको विरोधमा विश्वभर विरोध भइरहेको छ । जोर्डनको राजधानी अम्मान र बेलायतको राजधानी लण्डनमा पनि प्रदर्शन भएको थियो । त्यहाँ हजारौं मानिसहरूले इजरायल विरुद्ध प्रदर्शन गरे, जसमा लेबर पार्टीका पूर्व नेताहरू पनि सहभागी थिए। जोर्डनको राजधानी अम्मानमा पनि हजारौं मानिसले प्रदर्शन गरेका छन् । उनीहरुले इजरायलसँगको वादी अरबा सम्झौता खारेज गर्न सरकारसँग माग गर्दै सामान ओसारपसार गर्ने लाइन बन्द गर्न माग गरेका छन् ।
बन्धकहरुको रिहाईको लागि इजरायलको तेल अवीवमा पनि मानिसहरु भेला भएका थिए र प्रधानमन्त्री नेतन्याहु विरुद्ध उग्र प्रदर्शन गरेका थिए । जनताले आफ्नै सरकारको विरोध गर्दै बन्धकहरूलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरिरहेका छन् । उनीहरुले सडकमा आगो लगाएर आक्रोश पोखेका थिए तर प्रहरीले उनीहरुलाई रोक्न खोज्दा जबरजस्ती पानीको फोहोरा प्रहार गरेको थियो । इजरायलका धेरै सहरहरूमा यस्ता प्रदर्शनहरू निरन्तर भइरहेका छन्।
Facebook Comment