निराश युवा सीपले उत्साहित

डिसी नेपाल
२६ असार २०८१ ७:५८

हेटाैंडा। हेटौंडा उपमहानगरपालिका वडानम्बर १ की सर्मिला विक स्वरोजगार बन्ने सपना संगाली रहेकी हुन्थिन्। परिवारको आर्थिक अबस्था कमजोर रहेको उनलाई स्वरोजगार बन्न केही गर्नुपर्छ भन्ने मनमा लागिरहन्थ्यो।

तर के गर्ने, कता जाने, उनी अन्यौलमै थिइन्। अहिले उनी हेटौँडा १ चौकीटोलमा प्रदेश युवा परिषद् बागमतीले सञ्चालन गरेको ब्युटिशीयन तालिममा सहभागी भएकी छिन्। सीप सिक्दै गर्दा उनमा आत्मविश्वास भरिएको छ। पार्लर सञ्चालन गरेर उद्यमी बन्ने उनको योजना छ।

जोखिमयुक्त काम पुरुषले मात्रै गर्न सक्छन् भन्ने नेपाली समाजको आम बुझाई रहेको छ। तर चितवन राप्ती नगरपालिका वडानम्बर ९ की प्रेमा तामाङलाई भने आफू पनि पुरुष सरह जोखिम उठाउन सक्छु भन्ने लाग्यो। उनले चितवनको वीरेन्द्र नगरमा बिल्डिङ इलेक्ट्रिसियन तालिम लिइन्।

२० जना पुरुष सहभागी तालिममा उनी एक्लै युवती सहभागी भइन्। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाकी सुशीला घले पनि प्लबिङ तालिम लिइरहेका २० जना सहभागी मध्य एकमात्रै महिला हुन्। उनीहरु उत्साह पूर्वक तालिममा सहभागी भए। अहिले उनीहरु गाउँघरमा बिजुली र प्लम्बिङको काम गरिरहेका छन्।

काभ्रेको धुलिखेल नगरपालिका वडानम्बर १० का जितेन्द्र प्रधानले काभ्रे बहुमुखी क्याम्पसाट स्नातक उतीर्ण गरेका छन्। कृषि कर्ममा रुची भएका प्रधानले अहिले २ वटा टनेलमा तरकारी खेती गरेका छन्।

बागमती प्रदेश युवा परिषदबाट बेमौषमी तरकारी खेती सम्बन्धि तालिम लिएका प्रधानले गोलभेड, काक्रो अकबरे खुर्सानी फलाएका छन्। ५० हजार मूल्यका तरकारी बिक्रीका लागि तयारी अवस्थामा छन्।

२२ जना युवाले यो तालिम लिएका थिए। तालिम लिएपछि उनमा थप हौसला बढेको छ। सीप भए स्वदेशमै बसेर उद्यमी बन्न सकिने प्रधानको बुझाइ छ।
स्वदेशमा कामगर्ने उपयुक्त वातावरण नदेखेर लाखाैं युवा रोजगारीका लागि बिदेशीएका छन्।

युवालाई स्वदेशमै स्वरोजगार भई उद्यमशील बनाउन प्रदेश युवा परिषद बागमतीले यसवर्ष प्रदेशका १३ जिल्लाका ५ हजार युवालाई विभिन्न सीप मुलक तालिम प्रदान गरेको थियो।

हेटौंडा उपमहानगरपालिका वडानम्बर १२ का विकास घलान र बुद्धिबहादुर बोम्जनले अघिल्लो बर्षनै बागमती प्रदेश युवा परिषदले सञ्चालन गरेको कपाल काट्ने तालिम लिएका थिए।

अघिल्लो वर्ष तालिम लिएका यी दुबै युवाले अहिले आफ्नो गाउँघरमा शैलुन ब्यवसाय सञ्चालन गरेका छन्। बागमती प्रदेश सरकारले आर्थिक २०८१-०८२ को बजेटमै युवा सीप बर्ष घोषणा गरेको छ।

युवालाई दक्ष जनशक्तीका रुपमा रुपान्तरण गर्न प्रदेश सरकारले यस आर्थिक वर्षमा १० करोड रुपैयाँ खर्च गरेको छ। तालिम सञ्चालन भएका ठाउँमा स्थानीय तहले सहकार्य र अनुगमन गरेका थिए। यस वर्ष २६ वटा विधामा तालिम सञ्चालन भयो।

कुक वेटर, हाउसकीपिङ, बारिष्ठ, गार्भेन्ट एण्ड टेलरिङ, फेसन डिजाईनर, फर्निचर, प्लम्बिङ, बिल्डीङ ईलेक्ट्रीसियन, नर्सरी तथा गार्डेन ब्यवस्थापन, ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता, ब्युटीपार्लर, मोबाईल मर्मत, मोटरसाईकल मर्मत, मन्टेश्वरी, लगायतका तालिममा सहभागी युवाहरु सीप सिकेर स्वरोजगार बन्ने वातावरण तयार भएकोमा उत्साहित छन्।

हरिहरपुरगढी गाउँपालिका वडानम्बर ५का सुक बहादुर घलानले ईलेक्ट्रीसियन तालिम लिए। अब गाउँघरमै काम गरेर परिवार पाल्ने उनको योजना छ। सिन्धुली कमलामाई नगरपालिका वडानम्बर ३ की नेहा श्रेष्ठले बागमती प्रदेश युवा परिषदबाट ब्युटीपार्लर लेभल वान तालिम लिएकी थिइन् ।

उनले पार्लर सञ्चालन गरिरहेकी छिन् । परिषद्ले सञ्चालन गरिरहेको लेभल टु तालिममा सहभागी श्रेष्ठमा अझै हौसला थपिएको छ । सीप सिकेका युवालाई पुँजीकै अभावमा काम गर्न असहज परिस्थिति सृजना नहोस् भन्दै उनीहरुलाई ब्यवसाय सञ्चालनका लागि बागमती प्रदेश सरकारले टेवा पुँजी दिन ३ करोड बजेट छुट्याएको छ।

सिप सिकेका युवालाई १५ हजार रुपैयाँ देखि २० रुपैयाँ उपलब्ध गराउन कार्यबिधि बनाइएको छ। सीप परीक्षण गर्न बागमती प्रदेश युवा परिषदले सिटीभीटीसँग सम्झौता गरिसकेको प्रदेश युवा परिषद बागमती उपाध्यक्ष सन्तोष चौलागाईले बताए।

तालिम लिएका युवाको सीप परिक्षण गरेर पास भएकाहरुलाई टेवा पुँजी दिने प्रदेश युवा परिषद बागमतीका कार्यकारी उपाध्यक्ष चौलागाईले बताए। सीप सिकेका युवा स्वदेशमै बसे उनीहरु स्वरोजगार बन्नेछन्।

विदेश गएपनि सीपयुक्त युवाले अझै धेरै आम्दानी लिन सक्छन्। बागमती प्रदेशका सीप युक्त युवाले प्रदेशको समग्र विकासमा योगदान दिनसक्ने परिस्थिती निर्माण भएको छ । युवा र राज्यबीच सुमधुर सम्बन्ध स्थापित भएको उपाध्यक्ष चौलागाईले दाबी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *