पहिरोमा चार घर, सामुदायिक भवन र गोठ पुरिए

डिसी नेपाल
२७ असार २०८१ ६:५४

म्याग्दी। म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा बुधबार पहिरोले चार वटा घर, सामुदायिक भवन र गोठ भत्किएका छन् । पहिरोमा परी १२ वटा बाख्रा मरेका छन् भने १८ परिवार विस्थापित भएका छन्।

अन्नपूर्ण गाउँपालिका(२ मान्द्रेढुङ्गाकी लालमाया विकको ढुङ्गा माटोले बनेको दुई तले घर पहिरोले पुरिएर पूर्ण रुपमा क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए।

उनका अनुसार सोही वडाको कटौजेमा छ र ठूलोबगरमा सात घरपरिवार पहिरोबाट विस्थापित भएका छन् । पहिरोको जोखिममा रहेका कटौजेका रनबहादुर गर्बुजा, भीमबहादुर राम्जाली, तारा पुजा, कमलबहादुर शेरपुञ्जा, रनबहादुर गर्बुजा र निमबहादुर राम्जालीको घरका सामग्री र परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

ठूलोबगरका टेकबहादुर फगामी, मिथुन गर्बुजा, बेलबहादुर कार्की, थमबहादुर कार्की, ममता राम्जाली, मनकुमारी पुर्जा र वुद्धिबहादुर पुनको घर पनि पहिरोको जोखिममा परेको वडाध्यक्ष फगामीले बताए । जनप्रतिनिधि, प्रहरी, युवा क्लब, आमा समूहको टोलीले आज दिनभर जोखिममा परेका घरका सामान सुरक्षित ठाउँमा सारेर बसोबासको व्यवस्था मिलाएका थिए ।

त्यसैगरी रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका डेकबहादुर पराई पुनको घर पनि पहिरोले पुरेको छ । चिमखोला गाउँका नर्सिङ गर्बुजाको गोठ पहिरोले पुर्दा १२ वटा बाख्रा मरेका छन् । पहिरोले वडा नं ४ को सामुदायिक भवन र ढिकीजाँतो घर पूर्ण रुपमा क्षति पुगेको छ ।

पहिरोले लिबहादुर पुन, दिलबहादुर तिलिजा, लालबहादुर पाइजाको घर जोखिममा परेको छ । नरबहादुर तिलिजा र दिलबहादुर तिलिजाको शौचालय पहिरोले बगाएको छ । जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीले जोखिममा रहेका घरका सामान सुरक्षित ठाउँमा सारेर बसोबासको व्यवस्था मिलाएको वडाध्यक्ष थकबहादुर पाइजा (रिम)ले बताए।

भिरालो जमिनमा गुजमुज्ज घर रहेको चिमखोला गाउँको छेउबाट खसेको पहिरोले चिमखोला–घ्यासीखर्क सडक अवरुद्ध बनाएको छ । सडक अवरुद्ध हुँदा निर्माणाधीन चार वटा जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *