समीक्षा 

‘पाताल’ भित्र पातालिँदा 

खेमराज पोखरेल
२९ असार २०८१ ७:१०

‘पाताल’ उपन्यासका सर्जक पदम विश्वकर्मा पातालमै मुकाम बनाएका स्रष्टा हुन्। म पनि पातालमै बस्छु।

पातालको अनुभव हामी दुवैसँग छ। तर मैले भेटेको भने छैन उपन्यासकार पदम विश्वकर्मालाई। सामाजिक सञ्जालको लर्कासर्कामा आफन्तिएका छौँ। यही आफन्तिनुको परिणाम हो यो आलेख। अमेरिकी हुलाकको टाँचामा आइपुगेको हो ‘पाताल’ मसमक्ष।

पेज टर्नरले २०८० मा प्रकाशित गरेको उपन्यास हो यो। विशिष्ट स्रष्टा तथा द्रष्टा व्यक्तित्व बनाएका प्रोफेसनल शिल्पी भूमिकाकार कृष्ण धरावासीको ‘देश छोडिरहेका क्याराभानको कथा’ शाीर्षकमा रहेको भूमिकामा स्वाभाविक रूपले कृतिभित्रको गुह्य उत्कीर्ण भएका छन्।

र धरावासी भन्छन् ‘हामीले रातदिन सुनिरहेको र देखिरहेको विदेश पलायन यात्रामध्ये तल्लोबाटो हुँदै पाताल प्रवेश गर्नेको कथा आजको युगको सबैभन्दा पीडाजनक यात्राकथा हो।’ उपन्यासकार विश्वकर्माको ‘आफ्नै गन्थन’ शीर्षकमा रचनागर्भ रहेको छ।

आवरण पृष्टमा एउटा झोक्य्राइरहेको तथा अन्यौलताका भुमरीमा बाँचिरहेको मान्छेको अमूर्त चित्र छ। कृतिको पश्चभागमा कृति र कृतिकारको रचनासन्दर्भमा सायद प्रकाशकको तर्फबाट शुभेच्छा लेखिएको छ।

उपन्यास भन्नु आख्यानको गुरुत्तर रूप हो। उपन्यासमा द्वन्द्वविधान, कथानकविधान, पात्रविधान, सम्वाद, पोइन्ट अफ भिउ, लम्बाइ आदि महत्त्वपूर्ण तत्त्व हुन्। उपन्यास एउटा जीवनको वृहत् चित्र हो। बृहत् उपन्यासमा चाहिँ कथानकमा आउने पात्रका अलग घटना र परिवेश कथ्य हुन्छ र त्यो कथ्य केन्द्रीय कथानकसँग जोडिन्छ।

उपन्यासमा सवैभन्दा महत्त्वपूर्ण कुरा भनेको द्वन्द्व विनिर्माण हो। दुई वा दुईभन्दा बढी विपरीत शक्ति अर्थात् विचारका बीचमा संघर्ष गराएर सर्जकलाई मन परेको वाद वा विषयलाई विजय गराउनु द्वन्द्व विनिर्माण हो। एकथरि विचारको प्रतिनिधित्व नायक चरित्रले गर्छ भने अर्को थरी विचारको प्रतिनिधित्व खलनायकले गर्छ।

‘पाताल’ उपन्यासमा विविध द्वन्द्वहरू छन्। नेपालको माओवादी सशस्त्र द्वन्द्वले समग्र जीवनमा पारेको पीडा एकातिर छ भने अर्कोतिर प्रतिक्रियाकै रूपमा भए पनि नेपाली सेनाले गरेको ज्यादती छ। यिनका बिचमा द्वन्द्व गराएर समाधानका लागि युवा पलायन उपन्यासभित्र पाइने पहिलो द्वन्द्व हो।

अर्थात् नेपालको समग्र विसङ्गतिमा जिउधन र हातमुखको समस्या आएपछि मान्छे बाध्य भएर विदेश पलायन हुन्छ भन्ने कुरा अभिव्यक्त गर्नु उपन्यासको द्वन्द्व हो। यसपछि अर्को चरणमा पुग्छ उपन्यास।

तल्लोबाटो याने बिनापासपोर्ट, बिनाभिसा दक्षिण अमेरिकाको बाटो भएर हिँडेर अमेरिका प्रवेश गर्नु र त्यसभित्रका दलाल र माफियाको चङ्गुलमा बेरिनु जस्ता घटनाका माध्यमबाट उपन्यासको द्वन्द्व विनिर्माण गरिएको छ।

अर्को द्वन्द्व अमेरिका छिरेपछि हुने भौतिक, मनोवैज्ञानिक, कानुनी, आर्थिक, सामाजिक आदि समस्या प्रमुख द्वन्द्वका रूपमा रहेको छ। यो द्वन्द्वको समाधानका लागि उपन्यासकारले नेपाल फिर्तीको बाटो समाएका छन्। यसरी उपन्यासमा द्वन्द्वको निवारण गरिएको छ।

सर्जकले उठाएको द्वन्द्वलाई निर्माण गर्न, उत्कर्षमा पुर्याउन तथा समाधान गर्न कथानकको सिर्जना गर्नुपर्ने हुन्छ। त्यसैले उपन्यासमा घटनाहरूको सिलसिलेबार प्रस्तुति हुन्छ।

‘पाताल’ मा उपन्यासकारले नेपालको रुकुम, रोल्पा, काठमाडौँ, दाङ तथा विदेशको भारतलगायत दक्षिण अमेरिकाका देशहरूलाई कार्यपीठिका बनाएका छन्। उपन्यास भएकाले लामो कालखण्डको कथानक विनिर्माण गरिएको छ। अर्थात् वैचारिक द्वन्द्वलाई गजबसँग कथ्यमा रूपान्तरण गरिएको छ।

उपन्यासको कथानक विनिर्माणमा उपन्यासकारले मार्मिकताको सहारा लिएका छन्। कर्म लामा, करुण मगर जस्ता पात्रहरूलाई उभ्याएर ‘महिनौँ दिनको लामो यात्रा, जेलले चुसेको शरीर, पारिवारिक बिछोडको पीडाले रन्थनिएका अनुहारहरू देखेर म द्रवीभूत भएँ’ भन्छन् उपन्यासकार।

पातालको बाटोबाट अमेरिका प्रवेश गरेका कर्म र करुणलाई आफ्नै घर लिएर आएपछि उनीहरूले भनेको कथामा आधारित तथ्यमा कथानक विनिर्माण गरिएको छ।

मूलतः उपन्यासको मूल नायक पात्र कर्म लामाको वरिपरि कथानक घुमेको छ। पूर्वदीप्ति शैलीमा माओवादी द्वन्द्वको त्रासदीको परिवेशबाट कथा सुरु गरिएको छ। कर्मको स्कुले जीवन, माओवादी द्वन्द्वको प्रभाव, हाइस्कुलको दूरुहता, माओवादी लडाकुमा घरको एक जना कम्तीमा जानै पर्नै उर्दी तथा माओवादी घानमा परेको स्कुलका शिक्षक र विद्यार्थीको कहरबाट सुरु भएको छ।

माओवादीले महिनौ पुग्ने खाना खाइदिएको, गाउँ राजनीतिक रूपले विभाजित भएको, अर्कोतिर सेनाको आतंक भएकाले युवा हुनु विडम्बना भएको परिवेशको चित्रण गरिएको छ। उपन्यासका प्रधान पात्र करुण र कर्ण दुवै माओवादी लडाकुमा भर्ना भएको, विविध ठाउँमा माओवादीद्वारा गरिएको हमलामा सरिक भएको तथ्य प्रष्ट पारिएको छ।

माओवादीका ज्यादतीका रूपमा सेना प्रहरीमा भर्ना हुनेको घरमा माओवादीद्वारा आक्रमण तथा जागिर छुटाएर माओवादी लडाकुमा भर्ना हुन दबाब दिने, अपहरण गरेर भए पनि लडाकु बनाउने गरेकाले युवाहरू विदेश पलायन भएको यथार्थ उपन्यासमा छ।

अर्थात् कर्मलगायत उपन्यासका पात्रहरूले अमेरिका प्रवेशको लागि तल्लो बाटो रोज्नुको कारण माओवादी ज्यादती र सेनाको क्रुरतालाई देखाइएको छ। यहाँसम्म कि माओवादीको आधारभूमि रुकुमको भनेपछि काठमाडौँमा पनि समस्या हुने गरेको यथार्थ पस्किएका छन्।

उपन्यासको मूलपात्र कर्म रुकुमबाट काठमाडौँ पुगेको, काठमाडैँमा पनि बस्न नसक्ने भएपछि खाडी होमिएको तथा खाडीबाट फेरि आफ्नै गाउँमा पुगेको, आमा ओछ्यान परेको देखेर विह्वल भएको, बाबुको अवस्था पनि नाजुक रहेकाले चिन्तित भएको परिवेशको चित्रण गरिएको छ।

माओवादीले खाडी पुगेको भनेर धेरै चन्दा माग गरेकोले झन आक्रान्त भएको परिवेश छ। त्यसैले जग्गा जमिन तथा सम्पत्ति बेचेर रु ३० लाख जम्मा पारी बाबुआमा, श्रीमती तथा नावालक छोरालाई छोडेर हिँड्नु परेको मार्मिक तथा विदीर्ण अवस्थाको चित्रण भएको छ।

तल्लोबाटोको यात्राका लागि दलालको सहयोगले काठमाडौँ हुँदै दिल्ली पुगेको भारतमा अध्यागमनमा घुस ख्वाउनु परेको, एउटा कोठाको डेरामा लगेर दलाले राखेको तथा दुई महिनासम्म त्यही दिल्लीको कोठामा बसेपछि मस्को, स्पेन  हुँदै बोलेभिया पुगेको तर भिसा नचाहिने बोलेभियाबाट पनि फिर्ता पठाइदिएको दृश्य छ।

फेरि अर्कोपल्ट नेपालबाट ट्रान्जिट हुँदै बोलेभियाको भुइँमा पुगेको र बोलेभियामा रहेको बङ्गलादेशी दलालका सहारामा बाटामा भेटिएका पुलिसलाई पैसा खुवाउँदै अघि बढ्नु पर्ने, गाउँलेहरू पनि पैसा लुट्न आउने दर्दनाक परिवेश भोग्नु परेको वृत्तान्त छ।

बोलेभियाबाट पेरु, इकवेडर, कोलम्बिया, पानामा हुँदै यात्रा अगाडि बढेको छ। यो समुहमा नेपाल, भारत, बंगलादेश, क्युवा, इकवेडर, बोलिभिया, उरुग्वे आदिका नागरिक पनि भएको यथार्थ पस्किएको छ। यात्राका दौरान अन्य मार्मिक र हृदय विदारक घटनाको पनि फिहिरिस्त छ।

नेपाली विमलालाई गुन्डाले नङ्ग्याएर बलात्कार गरेर लुटेर छोडिदिएको, बागलुङे भाइलाई माफियाले चक्कु प्रहार गरेर रेडक्रसमा उपचार गराउनु परेको, होन्डुरसकी दोजिया महिलाले रगतको आहालमा बच्चा जन्माएको, उरुग्वेकी महिलालाई श्रीमान्कै सामनुन्नेमा बलात्कार गरिएको, नेपालका नेत्रबहादुरलाई माफियाले पैसा नदिएको भनी चक्कु प्रहार गरी मारेको, लासको सदगत गरेर अघि बढेको जस्ता मार्मिक चित्र प्रस्तुत गरिएको छ।

यात्राका क्रममा कोस्टारिका हुँदै निकारागुवा पुग्दा शरीरका लुगा चिथ्रा भएको, माफिया द्वारा लुटपाट भएको चित्र छ।  निकारागुवा र होन्डुरसको बोर्डरमा करेन्ट लगाइएको तारमुनि भुइँमा सुतेर तारलाई नछोई सीमा पार गर्नु परेको जोखिमवाला यात्राको चर्चा छ। ढिलो हिँड्नेलाई खुट्टामा हिर्काउने, हिँड्न नसके जङ्गलमा छोडिदिने अवस्थाको चित्रण पनि छ।

मेक्सिकोमा पुगेपछि फरक फरक दलाल हुने, पुलमुनि बास बस्नुपर्ने, खर्चको अन्तिम किस्ता यहीँ तिर्नुपर्ने, नेपालबाट पैसा मगाउनुपर्ने र अन्तिम किस्ता दिएपछि मात्र अमेरिकातिर लैजाने यथार्थ पनि छ। यसरी आठ महिनापछि मेक्सिको र अमेरिकाको बोर्डर नदी रियो द ग्रान्दे पुगेको र पन्द्र जनालाई टायरको ट्युबमा राखेर खोला तारिएको, पारीपट्टि फलामको गेट तथा नौ दस फिट अग्लो काँडेतारलाई छल्दै गेटबाट चढेर हाम फालेर अमेरिका प्रवेश गर्नुपरेको दृश्य देखाइएको छ।

अमेरिका पसेपछि अमेरिकी पुलिसको कब्जामा रहेको तथा साङ्लाले बाँधी प्लेनमा राखेर सियाटल डिटेन्सन सेन्टरमा पुर्याइएको दर्दनाक चित्र प्रस्तुत गरिएको छ। यसैगरी डिटेन्सन सेन्टरबाट २५ हजार डलर बोन्ड तिरेर जेलमुक्त भएपछि बल्ल नेपालमा परिवारसँग सम्पर्क भएको अवस्थाको विदीर्ण चित्रण छ।

उपन्यासभित्र प्रमुख पात्र कर्मको मात्र कथा छैन। त्यसैगरी अमेरिका पुगेका अनेकन नेपालीका कथाहरू समावेश भएको छ। अनिल जेलमा सडेको छ। औषधि उपचारको अभाव छ। वकिलले पैसा झ्वाम पारेको छ। अनिलकी श्रीमती पोइला गएको कथा छ। भरतलाई डिपोर्टेसन गरिएको र रु ५५ लाख झ्वाम भएको कथा छ।

कर्मको रुममेट रोल्पाली गणेश दाइ वियर, रक्सीमा मस्त हुने गरेको, जेल परेको, परिवार अमेरिका ल्याएको तर रक्सीमा लट्ठ भएको कारणले बिल्लिबाठ भएको चित्र प्रस्तुत गरिएको छ। यसैगरी उबर चालक हरिशरणको कथा पनि जब्बर छ।

गाँजा सेवन गर्ने हरिशरणले गर्लफ्रेन्ड ल्याएको, डाँजा सेवनको ओभरडोजले मरेको कथा छ। यसैगरी जनकका बाआमा नेपाल फिर्ता गएको अवस्था चित्रित गरिएको छ। जगदीशले श्रीमती र दुई छोराछोरीलाई अमेरिका बोलाए पनि श्रीमतीले डिभोर्स गरेको अवस्था देखाइएको छ।

अमेरिकाको कागज ग्रिनकार्ड हातमा परेपछि अर्थात् अमेरिका पुगेको १० वर्षपछि उपन्यासको प्रमुख पात्र कर्म नेपाल फिरेको छ। उसका बा तथा श्रीमती सबै कागज भएको एक नम्बर बाटोबाट अमेरिका पुगेका छन्।

बाको अवस्था रुग्ण, श्रीमती जुनेलीको शारीरिक अवस्था दयनीय तथा केही दिन बसेर अमेरिका फिर्ता भएको चित्रण गरिएको छ। कर्मकी श्रीमती अमेरिकामा बस्न नमानेपछि अतिशय हन्डर खाएर बनाएको अमेरिकाको कागज माया मारेर नेपाल फर्किएको तथा नेपाल पुगेर खुसी भएको अवस्थामा पुर्याएर उपन्यास समापन भएको छ। अर्थात् अमेरिका पुगेर बीस वर्ष संघर्ष गरेपछि नेपाल फिरेको विन्दुमा उपन्यास सकिएको छ।

उपन्यासभित्र कथ्य सम्प्रेषण गर्न पात्रहरू बान्छित हुन्छन्। बिनापात्र कथ्यविनिर्माण गर्न सकिन्न। यसकारण ‘पाताल’ उपन्यासमा पनि पात्रहरूका माध्यमबाट कथानक भनिएको छ। पात्रहरू सक्रिय छन्। पात्रहरूमा मानव वा मानवेत्तर मान्छे, जनावर रुखविरुवा तथा स्वैरकाल्पनिक पनि हुन सक्छ।

कथानकलाई एक्सनमा ल्याउन पात्रको भूमिका उल्लेख्य हुन्छ। ‘पाताल’ उपन्यासभित्र धेरै पात्रहरू छन्। धेरै परिवेशहरू छन्। पात्र र परिवेशको बाहुल्य हुनु यो उपन्यासको महत्तवपूर्ण पक्ष हो।

म, कर्म लामा, करुण मगर, अनिल, रने, दले, भरत, विनोद, जनक, हरिशरणलगायत अन्य धेरै पात्रहरू छन्। प्रथम पुरुष दृष्टिविन्दु तथा अन्य पुरुष दृष्टिविन्दु दुवै प्रयोग गरिएको छ। ती पात्रका अलगअलग कथाहरू छन्। प्रायः परिवेश नै प्रधान खलपात्रका रूपमा छन्।

उपन्यासको मूलभूत कुरा थिम हो। थिम भनेको उपन्यासको केन्द्रिय विचार वा निर्णय हो। सर्जकले  पाठकका नाममा दिने सन्देश हो। के कुरा पुष्टि गर्न सर्जकले उपन्यास लेखेको हो ? उपन्यासकारको वैचारिकबोध केहो? उपन्यास पढेर पाठकले के कुरा बुझ्ने ? भन्ने कुरा टड्कारो रूपमा अभिव्यक्त हुनु थिम हो। जति इमान्दारिताका साथ थिम प्रस्तुत गरियो त्यति नै उपन्यास स्तरीय बन्ने हुन्छ। यो कुरालाई उपन्यासको विशेषता पनि भन्न सकिन्छ।

उपन्यासकार मार्मिकताको अस्त्र लिएर उपन्यासकार उपन्यासभरि उभिएका छन्। पात्रहरू द्रवीभूत भएका छन्। यी सबै आधारमा हेर्दा उपन्यासभित्र उपन्यासकारले स्थापित गरेको थिम भनेको नेपालको माओवादी द्वन्द्वले पारेको प्रभावका कारणले विदेशिन बाध्य हुनुपरेको कुरा अभिव्यक्त गर्नु देखिन्छ।

उपन्यासको कथ्यमा विदेशिनु भनेको दक्षिण अमेरिकाको बाटोबाट बिनाभिसा, बिनापासपोर्ट अमेरिका हिँडेर छिर्नु हो। यो बाटोका भौतिक, मानसिक, आर्थिक कहर देखाउनु उपन्यासकारको अर्को थिम रहेको छ।

उपन्यासकारको प्रमुख अभिध्येय भनेको अमेरिकाको भौतिक तथा मानसिक दुःख देखाउनु तथा माओवादीको मात्र होइन; सेनाको ज्यादती पनि उल्लेख गर्नु रहेको छ। उपन्यासकारको मूल सन्देश चाहिँ तल्लोबाटोको कहरको वर्णन गरेर यस्तो दर्दनाक यात्रा कुनै पनि नेपालीले नगरून् भन्ने सन्देश दिनु रहेको छ।

उपन्यासमा घटनाको बृहत् चित्रण हुने भएकाले कथानकको कार्यपीठिका अर्थात् भूगोलको अवस्थितिले महत्त्वपूर्ण भूमिका निर्बाह गरेको हुन्छ। घटना घटेको काल, घटना फैलिएको आयतन, कथानक प्रस्तुतिभित्र सर्जकको निजी मुड, घटना घटेको ऋतु, महिना, वातावरण आदिकुराको पनि जानकारी गराउनु पर्छ। उपन्यासकारले पाठकलाई इमोस्नल बनाउन प्रयुक्त गरिएको सूत्र आदि उपन्यास बुनौटका आधार हुन्।

वार्ता, सम्वाद, बयानका माध्यमबाट उपन्यास बुनिएको छ। उपन्यासलाई परिवेशप्रधान भन्न सकिन्छ। परिवेश नै खलपात्र छ, परिवेश नै नायक छ। परिवेश नै विदीर्ण छ, परिवेश नै साथ छ, बेसाथ छ। घटनाप्रधान उपन्यास पनि भन्न सकिन्छ। किनकि यो उपन्यास वास्तविक घटनाका आधारमा लेखिएको हो।

उपन्यासलाई मनोवैज्ञानिक तथ्य र प्रस्तुतिका आधारमा मनोवैज्ञानिक बनाइएको छ। मनमा आउने उराल र परिवेशको साझा चौतारीका रूपमा उपन्यास तुनिएको छ।

उपन्यासभरि घरसम्झेको मनोविज्ञान, ऋण सम्झेको मनोविज्ञान, डर, त्रास, अनिश्चिितता, अमेरिका आएका बाआमाको मनोवैज्ञानिक समस्या, रातिको ड्युटी गर्दाका मनस्थिति, तालिम, पार्किङ लट तथा चर्पी सफा पार्नुपर्ने मनोवैज्ञानिक निरीहता प्रस्तुत गरिएको छ।

उभिएर काम गर्नुपर्ने, खुट्टा पोल्ने, भाँडा माझ्नु पर्ने, इलिगल भएपछि काममा हेप्ने। गाडी किन्न, बैँक खाता खोल्न नपाइने, जेलबाट निस्केपछि लयर हायर गर्नु पर्ने, लयरले धेरै पैसा खाइदिने जस्ता मनोवैज्ञानिक तथ्य पनि प्रकटीकरण गरेको छ।

यसैगरी कर्मको आमाको निधनमा काज क्रिया गर्न नपाएको नेपालको चाडपर्व सम्झिएको, बाआमा तथा श्रीमती सम्झने रोग, वाल्यकाल तथा गाउँका पाखापखेर सम्झने मनोवैज्ञानिक पीडा अभिव्यक्त गरिएको हुनाले उपन्यासलाई मनोवैज्ञानिक भन्न सकिन्छ।

कथावस्तुको अन्तर्य जेनिथ हुने कुरा होइन। अर्थात् कुनै पनि घटनाको कारण र परिणामले ल्याउने परिवेश शतप्रतिशत उन्नत हुने कुरा होइन। किनकि पूर्णता भन्नु इल्युजन हो। तथापि पूर्णता प्राप्तिको संघर्ष जीवन हो। मान्छेको जीवन भन्नु वा समग्र उपन्यासले बोकेको कथाक्रम पनि यही रेखीय सिद्धान्तमा चल्छ।

अर्थात् अपूर्णता यथार्थ हो, पूर्णता कल्पना हो। प्रस्तुत उपन्यास ‘पाताल’ भित्र गवेषण गर्दा पूर्णताभित्रको अपूर्ण यात्रामा हिँडेको प्रतीत हुन्छ। केही यस्ता प्रसङ्गहरू छन्, जसलाई अझै उकालो लाउन सकिन्थ्यो। केही यस्ता प्रसंग छन्, जसलाई छोड्न पनि सकिन्थ्यो।

उपन्यासको भौतिक बनौटका हिसाबमा हेर्दा २४३ पृष्टमा ५७ ओटा पाठ छन्। डिटेन्सन सेन्टरबाट छुटेका कर्म र करुण म पात्रको घरमा शरणमा पुगेको र आफ्नो कथा सुनाएको पूर्वदीप्ति शैलीबाट कथानक बुनिएको छ। काल्पनिकता कम तथा यथार्थको टिपोट ज्यादा भएको छ।

कर्म र करुणलगायत धेरै पात्रका अलग अलग कथा हाल्नाले पाठक कुन कथा कर्मको हो, कुन कथा करुणको वा कुन कथा अन्यको भनेर झुक्किन्छन्। अर्थात् एउटै पात्रको कथावस्तुमा उपन्यास बनाएको भए लेखकको प्रयोजन पनि पूरा हुन्थ्यो, पाठकका लागि पनि बोधनीय हुन्थ्यो।

कि त बृहत् उपन्यास बनाएको भए र पात्रका सहायक कथालाई मूलकथासँग जोडेको भए एउटै उपन्यासमा धेरै पात्रका अलग अलग कथाहरू याने घटनाहरू प्रयुक्त हुन्थ्यो। तर यो त लम्बाइ तथा कथावस्तुको बुनौटका कारणले मझौला उपन्यास हो।

मझौला उपन्यासले आकार मात्र होइन, कथ्यको केन्द्रियता पनि खोज्छ। त्यसै पनि सवै पात्रको कथावस्तु वा भोगाइ एकै परिवेश जस्तो भएपछि सवै पात्रको कथानक हाल्न किन आवश्यक भयो भन्ने प्रश्न पाठकका मनमा आउन सक्छ।

उपन्यासमा कथ्य प्रस्तुतिका दृष्टिले कतिपय एकै खाले तथ्य दोहोरिएका छन्। यद्यपि कथावस्तु यथार्थमै निकै मार्मिक छ, तर पनि उपन्यासकारले कथावस्तुलाई थपथाप गरी मार्मिक बनाउन खोजेको प्रतीत हुन्छ। पाठ मिलानमा अझै वैज्ञानिकता खोज्न सकिन्थ्यो। पाठभित्र सँगेटिएको विषयवस्तु र पाठको कतिपय शीर्षकमा त्यत्रो तालमेल पनि नभएको हो कि भन्ने लाग्छ। उपन्यासकारमा अमेरिकालाई खराब छ भन्ने पूर्वमान्यता रहेको जस्तो लाग्छ।

नत्र ग्रिनकार्ड भएको र परिवारसमेत अमेरिका पुगेको मान्छे बीस वर्ष बसेर नेपाल फिर्नु असम्भव नभए पनि एकआध प्रतिशत घटना मात्र हो। आम घटना होइन। यसरी हेर्दा आदर्शवादी समापन पनि भन्न सकिन्छ।

गाडी चलाउनु पर्ने, फ्रिजको खानेकुरा खानुपर्ने, काम नगरी धर नपाइने, राति काम गर्नुपर्ने अमेरिकी प्रचलनलाई पनि दुःखका रूपमा वर्णन गरिएको छ। यथार्थमा गाडी चलाउन पाउनु सुख हो कि समस्या हो भन्ने जिज्ञाशा पाठकका मनमा उत्पन्न हुनसक्छ।

तथापि नेपाली पाठकका लागि भने यो समापन एकदम आकर्षक हुने कुरामा कुनै सन्देह छैन। सत्यकथाको टिपोटका आधारमा उपन्यास विनिर्माण भएकोले स्वाभाविक छ कि आख्यानात्मकतामा कमी महसुस हुन्छ।

उपन्यास विनिर्माण गर्दा शिल्पमा कलात्मकता, घटनामा कल्पनात्मकता, बुनौटमा केन्द्रियता, प्रस्तुतिमा आख्यानात्मकता, भाषामा व्यञ्जनात्मकता तथा प्रभावकारिता तथा चित्रणमा साहित्यिकता अपनाइनुपर्ने सावधानी नै हो। यद्यपि यो कुराको हेक्का पनि जेनिथ भने होइन।

अब उपसंहारतिर उन्मुख छु। सर्बप्रथम भनिहालौँ कि काम गर्न नसक्ने, गर्न मन नलाग्ने वा काममा स्तरको तलमाथि देख्नेका लागि अमेरिका भन्ने देश उपयुक्त होइन। एक्लै बाँच्नु पर्छ अमेरिकामा।

नेपाली समाजमा सामाजिकतामा बाँचेको सोच्ने मान्छेका लागि निकै कष्टकर छ अमेरिका। हातमुख जोर्ने समस्या होइन, कामको महत्त्वले बनाएको परिवेश निकै पेचिलो हुन्छ। अर्थात् काम प्रधान कुरा हो अमेरिकामा।

एक छिन मानव सभ्यतातिर ध्यान दिएको छु। कसैले माने पनि नमाने पनि मान्छेको स्वभाव नै सुखी जीवन खोजीका लागि यात्रा गर्नु हो। मान्छे भन्नु वस्तुत यायावर हो। मान्छेको जीवन भन्नु नै सुखी जीवनको गोहो पहिल्याउनु हो। सिकार हो। गन्तव्य हो। यो संसारका विविध सभ्यताहरू यही खोजीको परिणाम हुन्।

सुखी जविन खोजीको तुलना न राष्ट्रसँग हुनसक्छ, न जाति न गौरव। यद्यपि सुखी जीवन भनेको व्यक्तिको निजत्व कुरा हो। बेलायतका डाक्टर सुखी जीवनको खोजी गर्दै खप्तड पुगे र सुखी भए।

यद्यपि तितो यथार्थ भनेको के हो भने अमेरिकामा जति दुःख छ भनेर बयान गरे पनि अमेरिका जाने मान्छेको वैधानिक अवैधानिक लर्को थामी नसक्नुको छ। अवैधानिक तल्लो बाटोको कहरका बारेमा उनीहरूलाई ज्ञात नहुने कुरा होइन। तर पनि संसारबाट अमेरिका ओइरिन्छन्। यो मान्छेको यायावरीय स्वभाव र सुखी जीवनको चाहना नै हो।

वास्तवमा यो उपन्यास तल्लोबाटो अमेरिका छिर्न खोज्ने संसारभरिका मान्छेका लागि अध्ययन गरिनुपर्ने पुस्तक हो। बाटोका दुरुहता, जिन्दगीको अनिश्चितता, अचानोमा राखेको अस्मिता, दलालको क्रुरताका बारेमा लेखिएको यो सुन्दर कृति हो।

कमसे कम अमेरिका ! अमेरिका !! भन्ने तथा सोच्ने व्यक्तिका लागि यो कृति सही र तथ्य अनुभवको सँगालो हो। उपन्यासकारले कैयौँ रुपियाँ खर्च गरेर पनि नपाइने तल्लोबाटोका कहरको सत्यतथ्य अनुभवलाई उत्कीर्ण गरेका छन्।

उपन्यासकारको यो प्रयत्न ज्यादै स्तुत्य छ। नेपालको सन्दर्भमा भन्नु पर्दा यो उपन्यास ‘पाताल’ ले नेपालको भ्रष्ट राजनीति, गरिबी, लाहुरे मोह, जीवनको जँघार, तल्लोबाटोको त्रासदीपूर्ण यात्रा, अमेरिकाको कहर, डायस्पोरिक मनोविज्ञान आदिका बारेमा प्रष्ट्याइ दिएको छ। आगे मन पराउने नपराउने पाठकको मर्जी।
अन्त्यमा, कृतिको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

सान मार्कोस, अमेरिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *