षड्यन्त्रले भरिएको नेपालको राजनीतिक इतिहास-भाग १

कपिल लोहनी
२९ असार २०८१ ७:५२

नेपालको इतिहासलाई सुक्ष्म रूपले अध्ययन गर्ने हो भने कुनै एउटा समयमा निकै मेहनत, इमान्दारी, बलिदान र बहादुरीका साथ राष्ट्र निर्माण र मातृभूमिको सुरक्षा तथा जनताको समृद्धिमा शासकहरू लागी परेको पाइन्छ।

फेरि त्यसको केही समय पछि उनैका सन्तान मोजमज्जाको जीवन व्यतित गर्न, सम्पत्ति आर्जन गर्नको निम्ति सबै हतकण्डा अपनाउन, सत्ताको निम्ति झैझगडा र षडयन्त्र तथा खुन-खरावा गर्न र मुलुकलाई अस्तव्यस्त बनाउन तल्लीन भएको पाइन्छ।

यस्तो स्थिति चरमसिमामा पुगेपछि भने फेरि सुशासनको शुरुवात भएको र केही समय पछि पुनः अराजकतातिर उन्मुख भएको पाइन्छ। सयौँ वर्षदेखि आजको मितिसम्म यो चक्र यसैगरी घुमेको घुम्यै छ।

यस्तो कुरा नेपालमा मात्र होइन, विश्वभर नै भइरहन्छ। षड्यन्त्र, मोजमज्जा, भ्रष्टाचार, लुटपाट, अराजकता आदि सबै नराम्रा कुरा कुनै पुस्ताले निकै दुख गरेर बनाएको कुशल प्रणाली र संरचनालाई कुल्चेर नै गरिन्छ।

घरको नै कुरा गरौं न, अभिभावकले जीवनभर कति दुख-कष्ट गरेर सृष्टि गरेको घर, धन-सम्पत्ति तथा परिवारको मूल्य र मान्यता अर्को पुस्ता वा त्यो भन्दा पनि पछिको पुस्ताले कायम राखिरहन पनि सक्छ वा बिगारेर ध्वस्त पारिदिन पनि सक्छ।

अनि फेरि त्यो पहिलेको जस्तो पारिवारिक सुखसयल र आनन्दमय जिन्दगीलाई फिर्ता ल्याउन अर्को पुस्ताले वा त्यो भन्दा पनि पछिको पुस्तासम्मले निकै मेहनत गर्नु पर्ने हुन्छ।

सन् १३०३ मा भारतको चित्तौरगढमा मुसलमान राजा अलाउद्दिनको हमला र हिंसा सहन नसेकेर उज्जयन तर्फ भागेर उदयपुर राज्यको स्थापना गरेका राजपुत राजाका छोरा भूपाल उज्जयन छोडेर सन् १४९५ मा हिमालयको काखमा अवस्थित गोर्खाभन्दा केही परको रिढी र पछि भिर्कोट पुगे।

यिनैका वंशका कुलमण्डल शाह कास्कीका राजा भएका थिए र उनका एकजना छोरा यशोब्रह्मलाई लमजुङेहरूले आफ्नो राजा मानेर लमजुङ लगेपछि तिनैका कान्छा छोरा द्रव्य शाहको जन्म भएको कुरा इतिहासमा पढ्न पाइन्छ।

गोरखामा द्रव्य शाह राजा भएको १८४ वर्षपछि दशौँ पुस्ताको रूपमा सन् १७४३ मा पृथ्वीनारायण शाह राजा भएका हुन्। गोरखा वरिपरीका राज्यहरू माथि विजय प्राप्त गरेर सन् १७६८ मा वृहत् गोर्खा राज्यको राजा बनेका पृथ्वीनारायण शाह र उनका छोरा-नातिहरूले वीर गोर्खाली फौज र उच्च रणनीतिकारहरूको मद्दतले नेपालको एकीकरण गरे।

तर सन् १८१४ मा बेलायती फौजसँगको हार पश्चात् नेपालले आफ्नो एक तिहाई भूभाग गुमाउनु पर्‍यो। सुगौली सन्धि पछि भने नेपालको एकीकरणको अभियान सदाको निम्ति अन्त भयो।

कुँवरहरूको इतिहास पनि करिव करिव यस्तै छ। भारतको चित्तौरगढमा मुसलमान राजाले विजय हासिल गरेपछि कुँवरका पुर्खा पनि त्यतैबाट हालको नेपालको पश्चिमी पहाडमा भित्रेका हुन् र जुम्लातिर आएर बसोवास गरेका हुन्।

कुँवरहरूका पुर्खा रामसिंह जसले जुम्लाकी क्षेत्री कन्यासँग बिहे गरेर ६ जना छोरा जन्माएका थिए, उनैका छोरा रतनजित सिंह कुँवर जुम्ली राजाको सेवामा जीवनभर रहे। उनका एकजना छोरा अहिराम कुँवरलाई कास्कीका राजा सिद्धिनारायण शाहले आफ्नो सेनाको उच्च पद दिएर राखेपछि शाह र कुँवरहरूको एक साथको इतिहास प्रारम्भ भयो।

तर अहिरामकी रुपमती छोरीलाई विधि नै नपुराई कास्कीका राजाले बिहे गर्न खोजेको कुराले उनीहरूबीच मनमुटाव शुरु भएपछि सपरिवार उनी गोर्खाका राजा नरभूपाल शाहको शरणमा पुगे। उनका छोरा रामकृष्ण कुँवर एक पौरखी योद्धा भएकाले पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा उपत्यका तथा नेपालको पूर्वी क्षेत्र टिष्टा नदीसम्म कै विजय अभियानमा उनको ठूलो योगदान रह्यो।

राजा रणबहादुर शाहको शासनकालमा उनका छोरा रणजित कुँवरलाई भर्खरै विजय भएको जुम्लाको हाकिमको रूपमा पठाइयो। त्यहाँको जनतालाई एकीकरणको समर्थन गर्ने बनाउन र त्यहाँ शान्ति र सुशासन कायम गर्न उनको ठूलो हात रह्यो। काँगडालाई नेपालको अधिनमा ल्याउन पनि उनले ठूलो परिश्रम गरेका थिए र त्यही लडाइँमा उनले वीरगति प्राप्त गरे। यिनै रणजित कुँवरका छोरा थिए काजी बालनरसिंह कुँवर यानी जंगबहादुरका पिता।

नेपाल एकीकरण हुनुभन्दा पहिलेदेखि नै यहाँका बाइसी र चौबिसी राज्यहरू एकापसमा लडेर नै बस्ने गर्दथे। उता इष्ट इन्डिया कम्पनीले व्यापार गर्न भनेर मुसो बनेर भारतमा पसेर हात्ती हुँदै भारतका विभिन्न साना साना राज्यहरूलाई आफ्नो वशमा पार्न शुरु गरि सकेर पहाडतिर पनि पस्न थालेको अवस्थामा पृथ्वीनारायण शाहले नेपालको एकीकरणको अभियानको थालनी गरेका थिए।

नेपालको एकीकरण अभियानमा भाग लिएका महान् सैनिक अधिकारीहरूमा कालु पाँडे, रामकृष्ण कुँवर, रणजित कुँवर, बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा, दामोदर पाँडे आदिको नाम सुनौलो अक्षरमा लेखिएको छ। त्यस्तै पृथ्वीनारायण पछिका राजा प्रतापसिंह शाह र उनका भाइ फत्तेबहादुर शाह (बहादुर शाह) को पनि ज्यादै महान् नेतृत्वदायी भूमिका रहेको थियो।

ठूलो मेहनत र बहादुरीका साथ बढ्दै गएको नेपालको सिमाना आखिर दरवारी षड्यन्त्र तथा राजा र युवराज अनि भारदारहरूको मोजमज्जाको जीवनयापन र बहुलट्टीपूर्ण कुकृत्य र सत्तामा रानीहरूको चरम हस्तक्षेपको कारण दीगो हुन सकेन। भक्ति थापा जस्ता वीर योद्धाले फिरङ्गीको हातबाट वीरगति प्राप्त गर्नुपर्‍यो।

‘अहिले युद्ध गर्नु हुँदैन, हामीले जितेका भूभागमा हाम्रो वर्चश्व र संस्कार राम्ररी पुर्‍याउन सकेका छैनौँ, युद्धमा हार खाएर भागेका खस रजौटाहरू पञ्जावी, काश्मिरी र बेलायती फौजलाई समेत मद्दत गर्न र हाम्रा गुह्य भेदहरू खोल्न तम्सेका छन्, हामीसँग रसद-पानी र फौजी जवान पनि कम छन् अहिले’ भनेर पश्चिमका कमाण्डर अमरसिंह थापाले तीन वटा चिठी पठाउँदा पनि रानी ललित त्रिपुरासुन्दरीको आदेशले हो वा आफ्नै तजविजले हो भीमसेन थापाले लडाइँ जारी राख्ने नै ढिपी गरिरहे।

सन् १८१४ मा युद्धमा हार व्यहोर्न परेकोले नेपालको भूभाग बढ्नुको साटो एक तिहाइ घट्न गयो भने सन् १८१६ मा भएको सुगौली सन्धि पछि गोर्खालीको वीरता आफ्नो सरहद बढाउनमा भन्दा पनि पूर्व शत्रु बेलायतीहरूको लागि रगत बगाउनमा सीमित भयो।

वीर वलभद्र कुँवर आफैं निराश र हतोत्सायी भएर मुलुक छोडेर शिख सेनामा भर्ति भएर लाहुर जानेहरू मध्ये अग्रपंक्तिमा नाम लेखाउन पुगे भने विदेशी भूमिको निम्ति अफगानहरूको हातबाट वीरगति प्राप्त गरे। त्यस्तै अमरसिंह थापाको मन नरामैरी भाँचिएर उनि गोसाइँकुण्डमा गएर उतै अस्ताए।

नेपालीहरू हजारौँको संख्यामा विदेशी फौजमा भर्ना हुन मुलुक छोड्न थालेको, राम्रो खेती र व्यवसायको निम्ति भारत, वर्मा र अन्य मुलुकमा बसाइँ सर्न थालेको तथा घर फर्केर आउनेहरूले विदेशका चालचलन, रहनसहन र लवाइखवाई गाउँ गाउँमा भित्राउन थालेको यही बेलादेखि हो।

यो सब हुँदा पनि नेपालको दरवार र राजनीतिमा षड्यन्त्र, हत्या र हिंसामा भने कमी आएन। फलस्वरुप जङ्गबहादुर भन्दा पहिलेका मुख्तियार र प्रधानमन्त्रीमा पण्डित रङ्गनाथ खनाल बाहेक सबै जना आफ्ना सहयोगीसहित मारिएका थिए।

फिरंगी यानी बेलायतीहरूले पनि नेपालका शासकहरू बीच फाटो ल्याउन त्यतिबेला निकै सफल प्रयास गरेका थिए। आज जस्तै त्यतिबेलाका वृटिश रेजिडेन्टहरूले नेपाली शासकहरूलाई निकै हेप्ने गर्थे भने हाम्रा राजा तथा प्रधानमन्त्रीहरू पनि व्यक्तिगत स्वार्थ र सत्ता टिकाउनको निम्ति बेलायतीको चाकडीमा निकै हदसम्म तल झर्ने गर्दथे।

सन् १८४६ सेप्टेम्बर १४ को दिन २९ वर्षका जंगबहादुर कुँवरले भयानक खुनखरावासहित कोतपर्व रचेर नेपालको सत्ता आफ्नो हातमा लिन र नेपालका प्रधानमन्त्री र सेनाका कमाण्डर-इन-चीफ बन्न सफल भए।

यसको केही दिन पछि भएको भण्डारखाल पर्वमा पनि बाँकी रहेका आफ्ना विरोधीहरूको सफाया गरेर जङ्गबहादुरले राजा र रानीलाई निर्वासनमा काशी पठाएर युवराज सुरेन्द्रलाई थपनाका राजा बनाए पछि उनि मुलुकका सर्वेसर्वा बन्न पुगे र वास्तवमा त्यसपछिको १०४ वर्षसम्म निर्मम जहानिया राणाशासन रहिर¥यो नेपालमा।

जंगबहादुरले कोतपर्व रच्नु भन्दा पहिले फत्येजङ्गको सरकारमा भएका रानीका विश्वास पात्र तथा विशेष सम्बन्ध भएका गगनसिंहको निकै चाकरी गरेर उनको नजिकका मान्छे बन्न सफल भएका थिए। त्यस्तै उनि राजा राजेन्द्र, रानी राज्यलक्ष्मी र युवराज सुरेन्द्रका पनि नजिकका मान्छे बनेका थिए।

फत्येजङ्ग लाचार छाया प्रधानमन्त्री भएकाले उनलाई जङ्गबहादुरले खतराको रूपमा नहेरे पनि राजाका वफादार जनरल अभिमानसिंह राना मगरसँग भने उनि निकै हच्किन्थे। निकै चतुर्‍याइँका साथ काम गर्ने जंगबहादुरले रानीकी निकै मन परेकी सुसारे पुतली नानीसँग प्रेमको नाटक रचेर रानीको खोपीमा हुने गोप्य कुराहरू फुत्काउने गरेका थिए भने दरवारका राजगुरु पण्डित बिजयराज पाण्डेलाई पनि हात लिएका थिए।

सेनाले सुरक्षा दिएको गगनसिंहको ढोकाटोलस्थित घरको छानाबाट गोली चलाएर पुजाकोठामा सन्ध्याको जप गर्दै गरेका गगनसिंहलाई त्यति टाढाबाट बन्दुक हानेर मार्न सक्ने व्यक्ति जङ्गबहादुर बाहेक त्यतिबेला कोही थिएन नेपालमा।

तर कुनै समय आफैंसँग खोपी र जुवा खेल्ने लफंगा साथी लाल झालाई सबैले शंका गरेको डर देखाएर उपत्यका छोडेर राति नै भाग्न लगाउने जंगबहादुरले कोतमा गगनसिंहको हत्यारा पत्ता लगाउने नाटक मञ्चन गरेर आफ्ना भाइभतिजहरूको मद्दतले अधिकांश प्रतिष्पर्धीहरूलाई रक्तपातपूर्ण वातावरणमा सक्काउन सफल भए।

यो सब त्यतिबेलाकी उद्दण्ड र निकै अभिमानी रानी राज्यलक्ष्मी र जोइटिंग्रे सोझा राजा राजेन्द्रको बेवकुफीले भएको थियो। भन्नै पर्दा यो जोडी र राजा वीरेन्द्र र रानी ऐश्वर्यको जोडीमा कुनै अन्तर थिएन। फरक यति मात्र कि राजा वीरेन्द्र शिल स्वभावका, निकै अध्ययनशील र विकास प्रेमी राजा थिए भने राजा राजेन्द्र कुनै पनि प्रकारका ह्याउ नभएका राजा थिए।

कोतपर्व र भण्डारखाल पर्व पछि जंगबहादुरले नेपालको राजकीय सत्ता आफैं लिएर राजा नै बन्न पनि सक्दथे तर उनले दुई कारणले त्यसो गर्ने आँट नगरेको देखिन्छ।

पहिलो त भारतको वृटिश सरकारले यदि त्यस्तो कुराको समर्थन गरेन भने के हविगत होला भन्ने डरले र दोस्रो उनका भाइभतिजाहरूले ज्यान हत्केलामा राखि ठूलो साहस र मद्दतले रगतको खोलो बगाएर सत्ता कब्जा गर्न मद्दत पुर्‍याएकोमा उनि राजा भएर उनका छोरा नातीमा मात्र सार्वभौम सत्ता हस्तान्तरण हुने प्रथा बसेमा भाइहरूको हैसियत त चौतारियाको भन्दा ठूलो हुने भएन।

त्यसैले पनि उनले राजालाई थपनाका रूपमा सिंहासनमा सजाएर राखेर आफूपछि भाइहरूमा रोलक्रम मुताविक सत्ता सर्ने व्यवस्था मिलाए पछि भाइहरू खुशी भएका थिए।

यसरी केही समयको निम्ति नेपालमा चलि आएको दरवारिया षड्यन्त्र, पोथी बास्ने प्रथा र हत्या–हिंसा बन्द भएको थियो तर एक थरी सामन्तीबाट अर्का थरी सामन्तीमा सत्ता सरेकोले मुलुकका आम जनतामा यो सबले खासै केही पनि फरक पारेको थिएन।

अर्को कोणबाट हेर्दा हामीले आजको प्रजातान्त्रिक व्यवस्था र आधुनिक शासन प्रणालीसँग त्यो बेलाको व्यवस्थालाई दाँजेर हेर्न मिल्दैन। आज वाक स्वतन्त्रता पाइएको भन्दैमा पृथ्वीनारायण शाहले गरेको नेपालको महान् एकीकरणलाई डकैतीको संज्ञा दिने र जंगबहादुरको कुशल कुटनीति र कठोर शासनबाट बनेको शान्ति र स्थायित्वका ती दिनहरूलाई आजको परिवेशसँग दाँजेर क्रुरताको प्रतिक मान्ने मानिसहरू व्यावहारिक ज्ञानको दायराबाट निकै टाढा छन्।

जसले ठूलो त्याग, तपस्या र वीरताका साथ नेपाल राष्ट्र बनाइ दिएकोले आज हामी आफूलाई नेपाली भनेर गौरवका साथ उभ्याउन पाएका छौँ, उसैलाई गाली गर्ने र उसको नामोनिशान मेट्न खोज्नेहरूले आफू कुन धरातलमा उभिएर यो सब गरिरहेका छन् भनेर बुझ्नु जरुरी छ।

जंगबहादुरले बेलायत यात्रा गरिरहँदा लण्डनको एउटा पुस्तकालयको कुनामा बसेर कार्ल माक्र्स आफ्ना सिद्धान्तको खेस्रा बनाउने र गहन अध्ययन गर्ने काममा व्यस्त थिए। त्यतिबेलाका बेलायती अखबारमा माक्र्सले पनि जंगको बारेका समाचार पढे होलान्।

तर उनको सोचमा त्यतिबेला कस्तो चित्र आयो होला एक अपरिचित राष्ट्रको सरकार प्रमुखको बारेमा पढ्दा। समाजवादी चश्माबाट हेर्दा त त्यतिबेलाका सबै राष्ट्रका शासक सामन्ती नै देखिन्थे होलान् तर त्यो कुरा त्यो जमानामा कसले गर्ने, कसले बुझ्ने र कसले समर्थन वा विरोध गर्ने।

आजको चरम भाँडभैलोको स्थितिमा ‘जंगबहादुरको जस्तो कडा शासन आउनु पर्ने’ भनेर मानिसहरूले भनेको कुरा हामी बेला बेलामा सुन्छौँ। यसो भन्नुमा आजको आधुनिक प्रजातान्त्रिक व्यवस्थालाई गाली गरेको नभई प्रजातन्त्र र समाजवादको मुकुण्डो ओढेर नवसामन्तीहरूले अराजकता र भ्रष्टाचारको पहाड बनाएर मुलुकलाई डुबाउँदै लगेकोले कसैले उद्धार गरिदिए हुन्थ्यो भन्ने आशा मात्र गरेका हुन्।

नेता तथा राजनीतिज्ञहरू समयमा नै नसप्रेको खण्डमा अर्को प्रलय जान कुनै बेर लाग्दैन। विश्वका कैयन् भागका राजनीतिबाट पनि हामीले यस्ता कुराहरू देख्ने, भोग्ने र अनुभव गर्ने अवसर पाइ नै रहेका छौं।

क्रमशः …

लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *