सिमलताल बस दुर्घटना : खोजीकार्य प्रभावकारी बनाउन माग

डिसी नेपाल
२९ असार २०८१ ८:५७

भरतपुर। चितवनमा भएको बस दुर्घटनमा बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन्। उनीहरुले बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग गर्दै सबै शक्ति परिचालन गर्न अनुरोध गरेका छन्।

चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित नारायणगढ-मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूली नदीमा दुई बस खसेका थिए। हजुरबुबा दुर्घटनामा परेपछि शुक्रबार चितवन आउनुभएका रौतहटको गौरका विकेशकुमार पटेलले दुर्घटनापछि परिवार र गाउँनै शोकमा डुबेको बताए।

“बिहानै दुर्घटनाको खबर पायौँ, खोजी गर्न भोकभोकै नदी किनारमा बसेका छौं”, उनले भने।

आफ्ना भिनाजु दुर्घटनामा परेपछि रौतहटका रमेशकुमार पटेल पनि शुक्रबारनै चितवन आएका छन्। आफन्तसहित एम्बुलेन्स रिजर्भ गरेर आएको उनले बताए। शुक्रबार रातिसम्म कोही पनि फेला नपर्दा जीवितै भेट्टाउने आश मारिसकेको उनको भनाइ छ। पटेलले भने, “शव फेला परे लैजान्थ्यौं। अरु त केही आश छैन।”

बाराको परसौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवालले बेपत्ताको खोजी गर्न ढिलाइ भएको गुनासो गरे। आफ्ना दुई छिमेकी बसमा रहेको थाहा पाएपछि घटनास्थलमा आएका उनले हेलिकप्टर दुर्घटना हुँदा सबै संयन्त्र प्रयोग गर्ने राज्यले बस दुर्घटना हुँदा खासै वास्ता नगरेको बताए।

“सुरक्षाकर्मी खटिरहनुभएको छ, उनले भने, “भेलबाढीले पानी धमिलो छ, गोताखोरसमेत तल पुगरे खोज्न सक्ने अवस्था छैन।” पचास बढी परिवार र आफन्त पीडामा रहेको भन्दै उनले राज्यका सबै संयन्त्र परिचालन गर्न अनुरोध गरे।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूहहरु दिनभर खटिएको बताए। “नदीमा पानीको बहाव घटेको छैन ।

रातिको समयमा भएकाले जोखिम पनि हुने भयो”, उनले भने, “घटनास्थलबाट तीन÷चार किलोमिटर तलसम्म खोज्दा पनि भेटिएन।” उनले नदीमा पानीको बहाब उच्च र धमिलो भएका कारण खोजीकार्यमा समस्या भएको बताए।

उनका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार वटा, नेपाल प्रहरीको एउटा गरी पाँच मोटरबोट, गोताखोर टोली र प्रविधि र स्रोत साधनको समेत प्रयोग गरिएको छ। उनले शुक्रबार केही कपडा भेटिएको भन्दै त्यही ठाउँलाई आधार बनाएर आजै बिहानैबाट उद्धार सुरु गरिने बताए।

भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो। बसमा सवार तीन जनाले पैडिएर ज्यान जोखाउन सफल भएका थिए। उनीहरुको चितवनका अस्पतालमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *