कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना र कोलम्बियाबीच भिडन्त हुने

काठमाडौं। कोपा अमेरिकाको फाइनल खेल भोलि बिहान अर्जेन्टिना र कोलम्बियाबीच हुँदैछ। यो खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि हुँदैछ।
अर्जेन्टिनाले सेमिफाइनलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने कोलम्बियाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।
अहिलेसम्म १५ पटक कोपाको उपाधि जितेको अर्जेन्टिना योसहित ३०औ पटक कोपा अमेरिकाको फाइनल खेल्दै छ। अर्जेन्टिना १४ पटक उपविजेता बनेको छ। त्यस्तै अर्जेन्टिना कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन पनि हो। अर्जेन्टिनाले १९९३ पछि पहिलो पटक २०२१ मा कोपा अमेरिका जितेको थियो भने अहिलेलगातार दोस्रो पटक फाइनल खेल्दै छ।
त्यस्तै कोलम्बिया भने २००१ पछि पहिलो पटक कोपा अमेरिकाको फाइनलमा पुगेको छ। कोलम्वियाले २००१ मा मात्र एक पटक कोपाको उपाधि जितेको छ । त्यसअघि १९७५ मा फाइनलमा पुगेर पराजित भएको थियो । कोलम्बिया यो सहित तेस्रो पटक कोपा अमेरिकाको फाइनल खेल्दै छ।
अहिलेसम्म अर्जेन्टिना र कोलम्वियाबीच कुल ४२ खेल भएका छन्। जसमा अर्जेन्टिनाले २५ खेल जितेको छ भने कोलम्बियाले ९ खेल जितेको छ । त्यस्तै ८ खेल बराबरी भएका छन् । यी दुवै वीच पछिल्लो खेल २०२२ को फिफा विश्वकपमा भएको थियो, जसमा अर्जेन्टिना १-० ले विजयी भएको थियो।
Facebook Comment