एनआरएनए अमेरिकाले मनायो भानु जयन्ती

डिसी नेपाल
३१ असार २०८१ ८:०५

अमेरिका। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका, ‘नेपाली भाषा, साहित्य समिति’ (२०२३-२०२५) को आयोजनामा जुम प्रविधिको माध्यमबाट २११ औँ भानु जयन्ती तथा जुलाई महिनाको साहित्यिक रचना वाचन कार्यक्रम आषाढ ३० गते भब्यतापूर्वक सम्पन्न भयो।
नेपाली भाषा साहित्य समितिका अध्यक्ष साहित्यकार राजेन्द्रप्रसाद अर्यालको सभापतित्वमा सन्चालित सो कार्यक्रमा प्रमुख अतिथिको रूपमा नेपालको रौतहट जिल्ला निवासी बज्जिका भाषाका शिरोमणि, वरिष्ठ साहित्यकार तथा पत्रकार एवं दीर्घ शिक्षासेवी सन्जय साह मित्र रहेका थिए।

भाषा साहित्य समितिकी सदस्य एवं कवि प्रभा पोख्रेलले मनमोहक किसिमले सन्चालित उक्त कार्यक्रम करिब २.३० घण्टासम्म चलेको थियो। भाषा साहित्य समितिका उपाध्यक्ष कृष्ण गिरीले उपस्थित महानुभावहरूको स्वागत गर्दै आफ्नो रचना वाचन गरे। बरिष्ठ साहित्यकार विश्वराज अधिकारीले प्रमुख अतिथि सन्जय साहको कृतित्व र ब्यक्तित्वको चर्चा गरेपछि आफ्नो सिर्जना सुनाए।

कार्यक्रममा अनेसासका नव निर्वाचित अध्यक्ष साहित्यकार सर्वज्ञ वाग्लेले एकातिर भानुको देनको चर्चा गर्नु भयो भने अर्कोतिर अनेसासको भरखरै सम्पन्न निर्बाचनमा आँफूलाई सभापति पदमा बिजयी गराउनु भएकोमा धन्यबाद दिनु भयो र रचना पाठ गरे।

यसै गरी मुक्तकमणि तीर्थराज अधिकारीले भानुभक्तको ब्यक्तित्व उजिल्याउन नेपाली साहित्यका मोती एवं युवा कवि मोतिराम भट्टको ठुलो योगदानको बारेमा सम्बोधन गरे।

कार्यक्रममा समितिका सदस्य एवं पूर्व संयोजक र सुरिलो स्वरका धनि पिपलमणि सिग्देलले रामायणका केही अंशहरू सुन्दर किसिमले बाचन गरी सबैलाई मन्त्रमुग्ध पारे।

वरिष्ठ साहित्यकार प्रा. श्री मोहन सिटौला, साहित्यकारहरू डा. मुकुन्द वाग्ले पथिक, डा. छत्रपति दाहाल, डा. शम्भु कँडेल, डा. अजित घिमिरे, डा. निरजमान श्रेष्ठ, बिष्णा विरही, रश्मी भट्ट, लेख काफ्ले, बैकुण्ठराज आचार्य, डमरू पौडेल, गीता बज्गाई, सिर्जना शर्मा र अग्नि पराजुली आदिको उपस्थिति रहेको सो कार्यक्रममा प्राय: सबैले भानुभक्तप्रति श्रध्दा सुमन अर्पण गर्दै रचना पाठ गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि सन्जय साहले भानुको योगदान नेपाली भाषा र साहित्यको क्षेत्रमा ब्यापक रहेको र पृथ्वी नारायणले भौगोलिक रूपमा देशको एकिकरण गरेजस्तै भानुभक्तले नेपाली भाषाको माध्यमले एकीकरण गरेकाे, त्यसैले नेपालीहरूले मात्र हैन संसारभरका नेपाली भाषीहरूले सदा पूजा गर्नु पर्ने ब्यक्ति भएकाे बताए।

अन्त्यमा कार्यक्रमका सभापति राजेन्द्रप्रसाद अर्यालले भानुभक्तलाई नेपाली भाषिक एकिकरणका प्रमुख नेता, रामायण संस्कृतिका संवाहक आदि हुनुहुन्छ भन्दै उपस्थित संपूर्ण महानुभावहरूलाई धन्यबाद दिएर सभा बिसर्जन भएको घोषणा गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *