हतुवागढीले प्रशासनिक भवन बनाउँदै

डिसी नेपाल
३१ असार २०८१ ८:४९

भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिकामा प्रशासनिक भवन निर्माणको कामले तीव्रता पाएको छ । भवन नहुँदा नागरिकलाई सेवा प्रवाहमा देखिएको समस्यालाई ध्यानमा राख्दै यहाँ करिव रु सात करोड ५२ लाख लागतमा प्रशासनिक भवन निर्माणको काम थालिएको हो ।

भवन निर्माण सुरु भएको सात महिना करिब ३६ प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । प्रशासनिक भवन गाउँपालिकाको ४० प्रतिशत र सङ्घ सरकारको ६० प्रतिशत लगानीमा निर्माण भइरहेको उनको भनाइ छ ।

“सेवा प्रवाहमा देखिएको समस्यालाई ध्यानमा राख्दै प्रशासनिक भवन निर्माण गरिरहेका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भने, “हालसम्म करिब ३६ प्रतिशत काम सम्पन्न भएको अवस्था छ । भवन निर्माण सम्पन्न भएपश्चात् नागरिकलाई दिने सेवा प्रवाहमा थप सहजता हुनेछ ।” निर्माण सुरु भएको सात महिनाको अवधिमा हालसम्म दुई तला ढलानको काम सम्पन्न भइसकेको प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए ।

लिफ्टसहित चार तलाको बन्ने भवन २४ महिनाभित्र सम्पन्न गर्ने सम्झौता रहेको छ । गाउँपालिकाको आफ्नो भवन नहुँदा विगतको प्राथमिक स्वास्थ्य चौकीको पुरानो कच्ची भवनबाट सेवा प्रवाह भइरहेको छ ।

जनतालाई सेवा दिने व्यवस्थित भवन हुँदा भोग्नुपरेको समस्यालाई ध्यानमा राखेर सङ्घ सरकारसँगको लागत साझेदारीमा प्रशासनिक भवन निर्माण थालिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । भवन निर्माणपश्चात् सेवा प्रवाहमा सहजता हुने अध्यक्ष राईको भनाइ छ । भवन निर्माणको कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन भूमिका खेलिरहेको उनको भनाइ छ ।

भवन निर्माणको काम तोकिएको अवधिभन्दा अघिनै सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको निर्माण कम्पनीका इन्जिनियर सुनिल जानलाले बताए। हालसम्म भवन निर्माणको काम ३६ प्रतिशतको हारहारीमा सम्पन्न भएको कम्पनीको दाबी छ ।

भवन निर्माणको लागि हालसम्म गाउँपालिकाको तर्फबाट रु दुई करोड ५० लाख र सङ्घ सरकारको रु १२ लाख गरी कूल रु दुई करोड ६२ लाख भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ । आगामी आवको लागि रु डेढ करोड विनियोजन गरिएको जनाइएको छ । भवन निर्माणको काम २०८० पुस महिनाबाट सुरु भएको थियो ।

भोजपुरका नौवटा स्थानीय तहमध्ये भोजपुर नगरपालिकाको मात्र आफ्नै प्रशासनिक भवन रहेको भने अन्य आठ वटा स्थानीय तह भने पुराना सरकारी भवन तथा भाँडाको घरबाट सञ्चालन भइरहेका छन् । यसको कारण सेवा प्रवाहमा समस्या रहँदै आएको छ । पौवादुङमा गाउँपालिका, रामप्रसादराई गाउँपालिका, षडानन्द नगरपालिकाले पनि भवन निर्माण थालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *