रमेश लेखकः शालीन व्यक्तित्व: गृह प्रशासनको नेतृत्व
काठमाडौं। नेपाली कांग्रेसभित्र प्रभावशाली एवं समन्वयकारी नेताका रूपमा स्थापित कांग्रेस नेता रमेश लेखकले मुलुकको गृह प्रशासनको नेतृत्व सम्हाल्ने अवसर पाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज उनलाई गृहमन्त्रीका रुपमा नियुक्त गरेका हुन्। राजनीतिक विषयवस्तुलाई गहन ढंगले विश्लेषण गरी तर्क प्रस्तुत गर्नसक्ने प्रखर व्यक्तित्व तथा अध्ययनशील नेताका रुपमा मन्त्री लेखक चिनिन्छन्।
माता शारदादेवी र पिता प्रयागदत्तका सुपुत्रका रुपमा लेखकको जन्म २०२० साल मङ्सिर २५ गते बैतडी जिल्लामा भएको हो। उनको स्थायी ठेगाना सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा रहेको छ । नेता लेखक हाल काठमाडौंको चन्द्रागिरि नगरपालिकामा बसोबास गर्छन्।
उनले त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन्। लेखक विसं २०३६ मा नेपाल विद्यार्थी संघ र २०४६ सालमा नेपाली कांग्रेसमा आबद्ध भएका हुन्।
उनले २०३६ सालमा कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसबाट नेपाल विद्यार्थी संघको राजनीति सुरुआत गरेका थिए। २०४६ सालको जनआन्दोलनसँगै पार्टीको सक्रिय राजनीति सुरु गरे। २०५६ सालको आम निर्वाचनमा पहिलोपटक कञ्चनपुर निर्वाचन क्षेत्र नं ४ बाट उनी निर्वाचित भएका थिए।
जनआन्दोलनबाट पुनःस्थापित प्रतिनिधिसभामा नेता लेखकले सक्रिय भूमिका खेले। लोकतन्त्रको बहालीपछि उहाँ श्रम तथा यातायातमन्त्री भएका हुन्। लेखक २०६४ सालको संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत सदस्यमा निर्वाचित भएका थिए। २०७० सालको दोस्रो संविधानसभामा कञ्चनपुरबाट प्रत्यक्ष निर्वाचित भए। लेखक भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत बने।
पत्रकारिता र प्राध्यापनसमेत गरेका लेखक कानुन व्यवसायीका रुपमा क्रियाशील थिए। उनले सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन्।
कानुनका ज्ञाता लेखकले संविधान तथा कानुन निर्माणमा विशेष भूमिका खेलेका थिए। नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन उनले पु¥याएको योगदान स्मरणीय छ। नेता लेखक नेपाल सरकारका तर्फबाट तत्कालीन विद्रोही माओवादीसँग वार्ता गर्ने टोलीका सदस्य थिए। गृहमन्त्री लेखकका ‘शाही शासनको एक वर्ष’, नामक पुस्तकसहित विभिन्न पत्रपत्रिकामा लेख तथा रचना प्रकाशित छन्।
Facebook Comment