सरकारको निर्णय-बाढी पहिरोका कारण १० दिनसम्म बेपत्ता भए मृतक सरह राहत उपलब्ध गराउने

डिसी नेपाल
३१ असार २०८१ १९:३०

काठमाडौं। सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाहरुको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।

सोमबार सिंहदरबारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले बाढि पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृत्यु भएकाहरुको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। विपद्का कारण बेपत्ता भइ घटना घटेको १० दिनसम्म फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।

बैठकले २०८२ असार मसान्त सम्म नेपाललाई सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको छ। कीर्तिपुर क्रिकेट मैदानलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार फ्लडलाइट जडान र प्याराफिट निर्माण कार्य तीन सय दिन भित्र सम्पन्न गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिए।

बैठकले परिवर्तित समयलाई मध्यनजर गर्दै मन्त्रिपरिषद तथा मन्त्रिरिषदका विभिन्न समितिहरुमा प्रक्रियामा रहेका वा प्रक्रिया नलगिएका सम्पूर्ण प्रस्तावहरु सम्बन्धीत मन्त्रालयमा फिर्ता गर्ने निर्णय भएको उनले बताए।

त्यस्तै बैठकले जाजरकोट भूकम्प प्रभावितहरुलाई दोश्रो र तेश्रो किस्ता उपलब्ध निर्णय गरेको छ भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिव लिलादेवी गर्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता गुरुङले बताए।

बैठकमा प्रधानमन्त्री केपी ओलीले मन्त्रालयबीच समन्वयका साथ अघि बढ्न निर्देशन दिएको छ भने एक महिनाभित्र केहि फरक देखाउने गरि काम गर्न पनि मन्त्रीहरुलाई निर्देशन दिएको सरकारका प्रवक्ता गुरुङले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *