ओली प्रधानमन्त्री बन्दा चीनलाई थप असजिलो

डिसी नेपाल
१ साउन २०८१ ७:२२

काठमाडौं। कुनैबेला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग मेलमिलाप भई ओली प्रधानमन्त्री बन्दा निकै खुसी व्यक्त गरेको उत्तरी छिमेकी मुलुक चीन यतिबेला तिनै ओली फेरि अर्कोपल्ट प्रधानमन्त्री बन्दा भने खुसी हुन सकेको छैन।

यसपटकको ओली सरकार बन्नुको पृष्ठभूमिमा विगतदेखि कांग्रेस र एमाले मिलाएर दाहाललाई सवक सिकाउने शक्तिको मेहनत परेको कारण अर्थात् दक्षिणी छिमेकी मुलुक भारतको विश्वाससहितको सरकार बनेको कारण चीनलाई असजिलो महसुस भएको हो।

दाहाल नेतृत्वको माओवादी एमाले र जसपा नेपालसहितको यसअघिको सरकार ढल्ने अन्तिम तयारी भएका बेला चीन नेपालसँग उसको बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआई) का ऋणसम्बन्धी ठूला परियोजनामा हस्ताक्षर चाहन्थ्यो र आफ्नो सम्पूर्ण शक्ति त्यसमै लगाएको थियो।

एकपछि अर्को गर्दै उच्चस्तरीय चिनियाँ भ्रमण पनि यसकै उपज थियो। बीआरआईको ऋण महँगा पर्दा नेपाललाई नोक्सान हुने त छँदै थियो भारत र पश्चिमा मुलुकहरुले पनि जानीजानी ऋणको चिनियाँ चक्रव्यूहमा नफस्न दवावपूर्ण सुझाव पनि दिँदै आएका थियो।

सरकार परिवर्तनको संघारमा एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवा दुबैले यसबारे परामर्श गरेको र कांग्रेसका तर्फबाट यसबारे स्पष्ट धारणा सार्वजानिक गर्ने सहमति भएपछि कांग्रेसले महँगो ऋण चीनबाट लिन नसकिने तर्कसहितका धारणा सतहमा आएका थिए।

यससँगै ओली र देउवाका बीच मध्यराति सत्ता समीकरणबारे सहमतिसमेत भएपछि नेपालमा चीनको बीआरआईसम्बन्धी अभियान कमजोर बन्ने निश्चित भएको थियो।

समाचार स्रोतका अनुसार, नयाँ सत्ता समीकरणको सम्झौतादेखि नै चीन बेखुसी बनेको र अब नेपालमा बीआरआईको भविष्यबारे प्रश्न उठ्न थालेपछि चिन्तितसमेत बनेको हो।

यसैकारण नेपालका लागि चिनियाँ राजदूत चेन सोंगले एमालेकै एकजना पूर्वमन्त्रीसमेत रहेका नेतालाई अनुरोध गरेर देउवा ओली सहमति भएको दुई दिनपछि राति तिनै पूर्वमन्त्रीको सवारी साधन प्रयोग गरी ओलीलाई भेट्न बालकोट पुगेको बताइन्छ।

चिनियाँ राजदूतलाई ओलीले बीआरआईबारे अहिलेको अवस्थाको चित्र प्रस्तुत गरेको स्रोतले बतायो। ओलीसँगको भेटपछि पनि चीन आश्वस्त हुनुको साटो थप सशंकित बनेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *