‘कुमोन सिकाइ विधि’ नेपालमा पनि लागू

डिसी नेपाल
१ साउन २०८१ ८:४९

काठमाडौँ। जापानबाट सुरु भएको प्रविधि र व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ नेपालमा पनि लागू गर्न थालिएको छ ।

व्यक्तिपिच्छे सिक्ने क्षमता फरक–फरक हुन्छ भन्ने मान्यता बोक्ने यस विधिमा तालिमप्राप्त शिक्षकबिना नै विद्यार्थीले डिजिटल ट्याब्लेटका माध्यमबाट आफ्नै शैलीमा सिक्ने जनाइएको छ ।

उक्त विधिको आधिकारिक नेपाल प्रतिनिधि आइसिजी बिजनेस होल्डिङ प्रालिले ललितपुरको ग्वार्को युनाइटेड र काठकाडौँको कलङ्कीस्थित एलआरआइ स्कुलका कक्षा ३ र ४ का करिब एक हजार पाँच सय विद्यार्थीलाई कुमोन पद्धतिको अभ्यास सञ्चालन गरेको हो ।

जापानको कुमोन एजुकेशन कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक कात्सुयुकी इनोउले सोमबार ती विद्यालयका सञ्चालित कुमोन अभ्यासको अवलोकनका साथै विद्यार्थीसँग अन्तक्र्रिया गरेका छन् । उनले नेपालका धेरैभन्दा धेरै विद्यार्थीलाई स्वतन्त्र रूपले आफ्नो लयमा आफैँ सिक्ने सीपहरू बढाउन यो विधिले सोच्ने क्षमता अभिवृद्धि हुने बताए । यो विधिबाट समस्या समाधान गर्ने क्षमताको विकास हुनाका साथै जीवन जिउने कलाको विकास गर्ने उनले जनाए।

एलआरआइ स्कुलका प्रिन्सिपल डा देवीकान्त जोशीले दैनिक ३० मिनेटको कुमोन विधिले विद्यार्थीहरूको अध्ययन गर्ने बानी र व्यवहारमा सकारात्मक परिवर्तन आएको बताए । युनाइटेड स्कुलका प्रिन्सिपल मनोज विश्वकर्माले यो विधि एक अद्धितीय स्वयं सिकाइ र विद्यार्थीकेन्द्रित विधि भएकाले नेपालमा प्रभावकारी हुने बताए।

आइसिजी होल्डिङका अध्यक्ष गणेशमान लामाले शिक्षामा गुणस्तर बढाउने ध्येयले उक्त विधि नेपाल ल्याइएको बताउँदै शिक्षक तालिम, शिक्षा नीति, पाठ्यक्रम र पाठ्यपुस्तकमा परिमार्जनका लागि बहस हुने गरे पनि विद्यार्थीको दिमागी तालिम र अभिवृद्धिका लागि सोचको विकास भइनसकेको बताए।

यस विधिले विद्यार्थीले ‘आइक्यु’स्तरमा सुधार गरेर ‘अपरेटिङ’ प्रणालीलाई छिटो गर्न मद्दत गर्ने अध्यक्ष लामाले जानकारी दिए । यसले विद्यार्थीको दैनिक क्रियाकलापको मूल्याङ्कन गर्छ भने विद्यार्थीको दिमागको कसरी प्रयोगको भइरहेको छ भन्नेबारेमा आइआए (कृत्रिम बुद्धिमत्ता) का माध्यमबाट कुमोनका कर्मचारीलाई सूचित हुन्छ । सोको प्रतिक्रिया विधिका प्रशिक्षकलाई पुग्ने र प्राप्त निर्देशनअुसार दिमागको प्रयोगमा सुधार गर्दै लगिनेछ ।

यो पद्धति हाल संयुक्त राज्य अमेरिकाका विभिन्न राज्य तथा युरोपका विभिन्न मुलुकमा सञ्चालन भइसकेको छ । आर्थिक रूपमा महँगो मानिने यो विधि नेपालमा सरल मूल्यमा उपलब्ध गराइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *