सिमलताल पहिरोः १५ जनाको शव भेटियो, आठको सनाखत

डिसी नेपाल
१ साउन २०८१ १२:२६

काठमाडौं। चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ।

सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्यांकअनुसार आज बिहान ९ः३० बजेसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको छ। दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको छ।

भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको सनाखत भएको छ।

यसैगरी चिवनको माडी-१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा-३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका-२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर-६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँको सनाखत भएको छ।

उनीहरुको शव आफन्तले बुझिलगेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। छ पुरुष एक महिला गरी सात जनाको शव अझै सनाखत हुन सकेको छैन। उनीहरुको शव चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा र त्रिवेणी ब्यारेज क्षेत्रमा फेला परेका हुन्।

गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश ०३(००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा टिकट काटेका २७ र अन्य ११ गरी ३८ तथा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसमा टिकट काटेका २३ र अन्य चार गरी जम्मा २७ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

टिकट नकाटी बसमा यात्रा गरेका यात्रीका आफन्तजनले दुर्घटनापछि प्रहरीमा आफन्तको विवरण उपलब्ध गराएका थिए । दुई बसमा ६५ यात्रु सवार रहेको खुलेको छ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बसबाट हाम्फालेर बाँच्न तीनमध्ये रौतहटको गरुडा नगरपालिका-९ का जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता उपचारपश्चात घर फर्केका छन् भने रौतहटकै देवाही बनाही नगरपालिका-१० का नन्दन दासको उपचार भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता थापाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *