रेसुंगामा साउने मेला सुरु, भक्तजनको घुइँचो

डिसी नेपाल
१ साउन २०८१ १३:२५

गुल्मी। धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला सुरु भएको छ । साउनभर सञ्चालन हुने मेलामा रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान र पूजाआजाका लागि दिनहुँ श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान गरेपछि चारधाम जान नपर्ने र त्यहाँ पुगेपछि पुण्य प्राप्ति हुने जनविश्वास छ। महापोखरीमा स्नान गरेपछि आफूले अञ्जानमा गरेका पाप नष्ट हुने धार्मिक विश्वास छ । महापोखरीमा स्नान गरेपछि श्रद्धालुहरु पोखरीदेखि केही माथि रहेको यज्ञशालामा पुगेर मन्दिरको दर्शन गरी पूजाआजा गर्छन्।

यज्ञशाला मन्दिरमा अखण्डदीप प्रज्वलन भइरहने भएकाले श्रद्धालुहरुले यज्ञमण्डपको विभूति लगाउने र त्यसलाई प्रसादका रुपमा ग्रहण गर्छन्। यस उक्त क्षेत्रमा रहेका सिद्धस्थान, विष्णुपादुका, लक्ष्मीनारायण, ऋष्यशृङ्गलगायत धार्मिक क्षेत्रमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यस क्षेत्रमा पाल्पा, स्याङ्जा, अर्घाखाँची, बाग्लुङ्, प्यूठान, रुपन्देही, नवलपरासीलगायत ठाउँबाट भक्तजन आउने गरेका छन्।

रेसुंगा संरक्षण समितिले यज्ञशाला मन्दिर परिसरमा साउनभर पुराण वाचन, पाठपारायण, भजनकीर्तन, होम, श्राद्धलगायत धार्मिक कार्यक्रमहरु आयोजना गरेको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए।

रेसुंगाको महापोखरी क्षेत्र र मन्दिर परिसरमा माछा, मासु एवं मादक पदार्थ सेवन तथा बिक्री वितरणमा रोक लगाएको छ। मेलालाई व्यवस्थित गर्न समितिले सदरमुकाम तम्घासबाट महापोखरीसम्मको यातायात सहज बनाउने गरी व्यवस्था मिलाएको जनाइएको छ।

रेसुंगा नगरपालिकाले यस वर्ष ‘जाउँ हिँड रेसुङ्गा’ अभियान सञ्चालन गरेकाले विगत वर्षहरुको तुलनामा यस क्षेत्रमा पर्यटकका सङ्ख्या उल्लेख्य बढेको अभियानका संयोजक रामजी पन्थीले बताए।

गुल्मीको धार्मिकस्थल कालीगण्डकी र रुद्रवेणी धाममा पनि साउने सङ्क्रान्तिका अवसरमा आज बिहानदेखि भीड लागेको छ। भक्तजनहरु नदीमा स्नान गरी पूजापाठ गर्ने बढेका छन् । कालीगण्डकी गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल हो।
(((




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *