भारतीय राजदूतको सक्रियता अचानक बढ्यो, छानीछानी कांग्रेसका शक्तिशाली मन्त्रीलाई भेट्दै

डिसी नेपाल
१ साउन २०८१ १३:५८

काठमाडौं। नयाँ सरकार गठन भएसँगै भारतीय राजदूत नवीन श्रीवास्तवको सक्रियता बढेको छ। उनले सिंहदरबारमा विभिन्न मन्त्रालयमा पुगेर नवनियुक्त मन्त्रीहरुसँग भेटवार्ता गर्न थालेका छन्।

सोमबार सपथ ग्रहण गरेर मन्त्रीहरुले कार्यभार सम्हालेको भोलिपल्टै राजदूत श्रीवास्तव सिंहदरबारमा मन्त्रीहरुको कार्यकक्षमा पुग्न सुरु गरेका हुन्। श्रीवास्तवले रोजेर नेपाली कांग्रेसका मन्त्रीहरुलाई भेटेका छन् । उनले भेटेका मन्त्रीहरु कांग्रेस दलभित्र पनि प्रभावशाली हैसियतमा रहेकाहरु छन्।

श्रीवास्तवले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरे । आरजुको मन्त्रालय नै परराष्ट्र भएको र भारतीय राजदूतको प्रत्यक्ष सरोकारको मन्त्रालय भएकोले यसलाई सहज रुपमा लिइएको थियो।

यद्यपि आरजु केवल मन्त्री नभएर सरकारको सबैभन्दा ठूलो साझेदार दल नेपाली कांग्रेस सभापतिकी पत्नी समेत हुन्। सरकारका सबैभन्दा शक्तिशाली साझेदारकी पत्नी समेत हुँदा आरजु र श्रीवास्तवको भेटवार्ताको महत्व बढ्न जान्छ।

मंगलबार नै श्रीवास्तवले शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग पनि भेटवार्ता गरे । शहरी विकास मन्त्रालय भारतीय राजदूतको प्रत्यक्ष सरोकारको मन्त्रालय होइन त्यसैले उनले शहरी विकास मन्त्रीसँग भेट गरिरहनु जरुरी थिएन।

तर, सिंह शहरी विकास मन्त्रीसँगै उपप्रधानमन्त्री पनि हुन्। सरकारमा प्रधानमन्त्रीपछि दोस्रो बरियताका उपप्रधानमन्त्री सिंह सरकारमा कांग्रेसको नेतृत्वकर्ता पनि हुन्। सरकारमा कांग्रेसका प्रमुख अनुहारलाई भारतीय राजदूतले यसरी सक्रियताका साथ भेट्नुले नयाँ सरकारको काममा भारतको चासो गम्भीर भएको बुझ्न कठिन छैन।

प्रधानमन्त्री केपी शर्मा ओली भारतका कटु आलोचक हुन् । उनले २०७३ सालमा भारतको नाकाबन्दीको कडा रुपमा सामना गरेका कारण राष्ट्रवादी छवि बनाएका छन् । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको ‘चुच्चे’ नक्सा पनि ओली प्रधानमन्त्री भएकै बेला संसदबाट पारित भएको थियो।

भारतको चाहनामा बाधा पार्ने काम पटक पटक गरिसकेका व्यक्ति प्रधानमन्त्री भएका बेला उनलाई सरकारमा रहेर खुला रुपमा काम गर्न नदिने र भारतीय इच्छाअनुसार चलाउन सत्ता साझेदारहरुलाई हातमा लिने नियतका साथ भारतीय राजदूतको सक्रियता बढेको हुन सक्ने आशंका समेत गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *