पाकिस्तानको सैनिक शिविरमा भएको आक्रमणमा आठ सैनिक र १० अतिवादी मारिए

डिसी नेपाल
२ साउन २०८१ १३:३५

काठमाडौं । पाकिस्तानी सेनाको जनसम्पर्क विभाग आईएसपीआरले सोमबार खैबर पख्तुनख्वा प्रान्तको बन्नु सहरमा रहेको सैन्य शिविरमा १० चरमपन्थीले आक्रमण गरेकोमा आठ सैनिकको मृत्यु भएको जनाएको छ ।

आईएसपीआरका अनुसार, “सुरक्षा बलहरूले प्रभावकारी रूपमा शिविरमा प्रवेश गर्ने यी चरमपन्थीहरूको प्रयासलाई विफल पारे।” आईएसपीआरले भन्यो, “यी आतंककारीहरूले विस्फोटक पदार्थले भरिएको एउटा गाडीलाई यस क्षेत्रको पर्खालमा ठोके।”

यस आत्मघाती विस्फोटका कारण पर्खालको एक भाग भत्किएको छ भने वरपरका केही पूर्वाधारमा पनि क्षति पुगेको आईएसपीआरले जनाएको छ । विस्फोटमा आठ सैनिकको मृत्यु भएको छ ।

यस कारबाहीमा दश अतिवादी मारिएको आईएसपीआरले जनाएको छ । सुरक्षाकर्मीको समयमै र प्रभावकारी जवाफी कारबाहीका कारण सैनिक क्यान्टोनमेन्ट ठूलो क्षति हुनबाट जोगिएको र निर्दोषको अमूल्य ज्यान समेत बचेको सेनाको भनाइ छ ।

सेनाका अनुसार यो हमला हाफिज गुल बहादुर समूहले गराएको हो । पाकिस्तानी सेनाका अनुसार यो समूह अफगानिस्तानबाट सञ्चालन हुन्छ र विगतमा पनि यो समूहले पाकिस्तानविरुद्ध चरमपन्थी गतिविधिका लागि अफगानिस्तानको माटो प्रयोग गर्दै आएको छ ।

आईएसपीआरका अनुसार पाकिस्तानले अफगानिस्तानको अन्तरिम सरकारलाई आफ्नो चिन्ता व्यक्त गरिरहेको छ। आईएसपीआरले पाकिस्तानी सेनाले आफ्नो भूमि र जनतालाई आतंकवादको खतराबाट कुनै पनि हालतमा रक्षा गर्नेछ र अफगानिस्तानबाट यी खतराहरू विरुद्ध आवश्यक कदम चाल्ने बताएको छ।

केही महिनाअघि पाकिस्तानले पनि अफगानिस्तानमा सीमापार यस समूहविरुद्ध कारबाही गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *