प्रधानमन्त्री ओलीको पक्षमा दुई तिहाइ बहुमत
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाबाट दुई तिहाइ समर्थन जुटाउने गृहकार्यमा जुटेका छन्। प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा नै दुई तिहाइको समर्थन जुटाउने कसरतमा उनी लागेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएका हुन्। उनले आगामी ६ साउनमा विश्वासको मत लिँदै छन्।
संविधानअनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ। सोही प्रावधानअनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिनुभन्दा अघि प्रधानमन्त्री ओलीले अन्य साना दलहरूसँग छलफल गर्दै छन्।
कांग्रेसको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले ३१ असारमा शपथ ग्रहण गरेका थिए। संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्रीको शपथलगतै उनले २२ सदस्यीय मन्त्रिपरिषद्समेत गठन गरिसकेका छन् ।
प्रधानमन्त्री ओलीसँग प्रतिनिधि सभामा दुईतिहाइ बहुमत देखिएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी छन्।
प्रतिनिधि सभामा कांग्रेसका ८८, एमालेका ७९ (सभामुखसहित), जसपाका सात र लोसपा चार सांसद गरी १७८ जना छन्। जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि सरकारलाई समर्थन गर्ने बताएका छन्।
सबै मन्त्रालयको भागबण्डा टुंगिएर २२ सदस्यीय मन्त्रिपरिषद् गठन पनि भइसकेको छ। संसद्का सबैभन्दा ठूला दुई दल मिलेकाले प्रधानमन्त्री ओलीसँग सुविधानजनक बहुमत छ। अन्य साना दलहरूलाई समेत समेटेर ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी थालेका छन्।
कांग्रेस र एमालेले असार १७ गते सहमति गर्दै मुलुकलाई स्थायित्व दिने भन्दै गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेका थिए। त्यही सहमतिबमोजिम ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन्।
प्रधानमन्त्रीले ६ गते संसद्बाट देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ। सोही दिन प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनवाइ पनि हुँदै छ।
असार २८ गते प्रधानमन्त्री प्रचण्डले संसद्मा पेस गरेको विश्वासको मतको प्रस्ताव फेल भएको थियो। प्रचण्डले ६३ मत मात्रै पाएका थिए। उनको विपक्षमा भने १९४ मत परेको थियो।
कांग्रेसका ८८, एमालेका ७८, राप्रपाका १४, जसपाको सात, जनमतको ६, जसपा नेपालको पाँच, लोसपा र नागरिक उन्मुक्तिको चार-चार, दुई स्वतन्त्र मत पनि विपक्षमा परेको थियो। जुन दुईतिहाइ बढी मत हो।
Facebook Comment