पाँचवटा संसदीय समितिको बैठक बस्दै,यस्ता छन् कार्यसूची
काठमाडौं। संघीय संसद अन्तर्गत आज पाँचवटा समितिका बैठक बस्दैछन्।
आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विकास, आर्थिक मामिला तथा सुशासन, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेका हुन्। अहिले बिहान ११ बजे बस्ने शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ।
यस्तै, साढे ११ बजे बस्ने उद्योग तथ वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सूर्ति, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको सम्बन्धमा छलफल हुनेछ ।
यस्तै, झापा, सुनसरी र मोरङको स्थलगत अनुगमनको प्रतिवेदनमाथि छलफल, चिनी उद्योग तथा उखु किसानहरुका समस्या समाधान सुझाव उपसमितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । यसैगरी, स्पन्ज आइरन, विलेट्सको भन्सार महशुल, अन्तःशुल्क तथा उद्योगहरुको अध्ययन अनुगमन उपसमितिको प्रारम्भिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।
बिहान साढे ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८०-०८१ को वार्षिक कार्ययोजनाको प्रगति समीक्षा तथा समितिको वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा छलफल हुनेछ ।
साढे ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८०-०८१ को वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ ।
मध्याह्न १२ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राज्यको मूल प्रवाहमा आदिवासी जनजाति समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा आदिवासी जनजाति र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको भूमिका बारे छलफल हुने संसद सचिवालयले जनाएको छ ।
Facebook Comment