सुरक्षा प्रमुख बुके बोक्दै असम्बन्धित मन्त्रालयमा, क्षेत्राधिकार मिचेको र चाकडी गरेको आरोप
काठमाडौं। देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरु आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित नभएका उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भेट्न उनकै कार्यकक्षमा पुगेको तस्वीर सार्वजनिक भएपछि अहिले दुवै पक्षको आलोचना भइरहेको छ।
उपप्रधानमन्त्रीमाथि आफ्नो क्षेत्राधिकार मिचेको र सुरक्षा निकायका प्रमुखहरुमाथि चाकडी गरेको आरोप लागेको हो।
भेटको तस्वीर उपप्रधानमन्त्री सिंहको सचवालयबाट उनकै सामाजिक संजालमा पोस्ट गरिएको छ। पोस्टमा क्याप्सन लेखिएको छ-‘सिंहदरबारस्थित मन्त्रालयलमा बधाइ दिन आउनुभएका तीनवटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकसँग भेटघाट गरी देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको छु।’
उपप्रधानमन्त्रीले आफ्नो मन्त्रालयको मातहतमा नरहने सुरक्षा निकायका प्रमुखसँग ‘सिंगो देशकै सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएको’ भन्दै तस्वीर सार्वजनिक भएपछि यसको आलोचना भएको हो।
सुरक्षा निकाय गृह मन्त्रालय मातहत हुन्छन्। सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिने गृह मन्त्रीले हो । यसरी असम्बन्धित मन्त्रीले सुरक्षा निकायसँग ब्रिफिङ लिएको भन्नु गम्भीर त्रुटि भएको अवकाशप्राप्त उच्च प्रहरी अधिकृत बताउँछन्।
उपप्रधानमन्त्री सिंहको सचिवालयले भने सिंहले बोलाएरै ब्रिफिङ गर्न लगाएको कुरा सत्य नभएको दाबी गरेको छ। ‘उहाँहरु बधाइ दिन आउनुभएको थियो, त्यही क्रममा कुराकानी भएको हो’ सचिवालयका एक अधिकारीले भने ‘उहाँहरुलाई कुनै निर्देशन दिइएको पनि होइन, ब्रिफिङ मागिएको पनि होइन सामाजिक संजालमा आएको फोटोलाई अनर्थ लगाइयो।’
तर, सुरक्षा निकायका प्रमुखहरु यसरी असम्बन्धित मन्त्रीलाई बुके बोक्दै भेट्न जानु पनि अनुचित भएको एक पूर्व उच्च प्रहरी अधिकारीले बताए। ‘सम्बन्धित मन्त्रीलाई भेटेरै बधाइ दिनु, घटनाक्रम र परिस्थितिको ब्रिफिङ गर्नु अनिवार्य हो’ उनले भने ‘आफूसँग सम्बन्धित नभएका मन्त्रीलाई यसरी बधाइ दिँदै हिँड्नु जरुरी छैन, यसले चाकडीको झल्को दिन्छ।’
प्रहरी महानिरीक्षक बसन्त कुँवरको सचिवालयले भने उपप्रधानमन्त्री सिंहलाई ब्रिफिङ गरेको कुरामा कुनै सत्यता नरहेको जनाएको छ। ‘बाहिर आएको जस्तो उपप्रधानमन्त्रीज्यूलाई ब्रिफिङ गरेको कुरामा कुनै सत्यता छैन,’ महानिरीक्ष कुँवरको सचिवालय स्रोतले भन्यो, ‘आइजीपीसावले ब्रिफिङ गर्ने मन्त्रालय उहाँको होइन।’
Facebook Comment