कथाः नमरी स्वर्ग देखिन्न

खेमराज पोखरेल
५ साउन २०८१ ७:०९

आज मन उदाश भएको छ। किनकिन कहिलेकाहीँ यसरी मन उदाश हुन्छ। आकासका तारा हेरेकी हुन्छु। सानामा देखाइएको तीन तारा कहाँ छ भनी नियालेकी हुन्छु। ध्रुब तारा खोजेकी हुन्छु। सप्तऋषि खोज्छु। ती देखिएका हुन्छन्। अहो नेपालबाट देखिने ती ताराहरू अमेरिकामा पनि कसरी अनवरत घुमिरहेका होलान्।

सधैँ एकनास, एउटै गतिमा। एउटै विचारमा। बिनाअवरोध। एउटै तारा बिनाअबरोध संसार विचरण गर्छ। एउटै साझे सूर्य छ। एउटै पृथ्वीमा मान्छेहरू बसेका छन् र पनि भन्छन्। तेरो मेरो। जात तेरो मेरो। धर्म तेरो मेरो। देश तेरो मेरो। तँ सानो म ठूलो। र भन्छन् ’सभ्यता’।

र अहिले सोचिरहेकी छु। कुन जीवन राम्रो? के राम्रो? के नराम्रो?

यो जीवनलाई कहाँबाट नियालूँ? वर्तमानबाट वा विगतबाट। सरर कुदिरहेको आफ्नै कारको स्टेयरिङ समाउँदाको आनन्दबाट वा घाँसे बुहार्तनको चपेटाबाट। स्वतन्त्र उडिरहेको भोको चरिलाई हेरेर रमाऊँ कि बँधुवा अघाएकी पिँजडाकी चरीलाई सुन्दर देखेर खुसी हूँ? र पनि आज किन मन ह्वाइट हाउसको रमाइलोबाट जितिया मेला पर्वमा पुग्दैछ। पोखरी किनारमा लागेको छठमा पुग्दैछ। निष्ठुरी नै भए पनि समाज पनि सम्झिरहेकी छु।

०००००

लोग्नेले पहिलो पल्ट जुठ्याएको बैँस र लोग्नेले बनाइदिएका दुई थान छोरा छोरी थाप्लामा बोकेर काठमाडौँ छिरेकी थिएँ। संसार मेरो अनुकुल थिएन। समाज भन्थ्यो एउटा कुरा र गथ्र्यो अर्को थोक। समाज मलाई मरेको लेग्नेको नाममा बैँस सडा भन्थ्यो र मलाई सुटुक्क भोग्न तयार हुन्थ्यो।

मैले छोरा छोरी पनि पाल्नु थियो। अलिकति पढ्न पनि रहर थियो। मेरो बैँस किन्न मान्छेका नामका छायाँहरूका ताँत थिए। म बाध्य थिएँ। मभित्रको मान्छे कसैले हेरेन। सायद बाँच्नु थियो। बाँचे र पनि आइ.ए. पास गरेँ। अमेरिकाको डि.भी. भर्ने लाइनमा लामो समय बसेर मैले पनि भरेँ। मलाई डि.भी पर्यो।

म छोराछोरी लिएर कहिल्यै नेपाल नफर्कने गरी अमेरिका हानिएँ। सुरुका दिनमा मलाई यति दुख भयो त्यो कसरी बयान गरूँ? अन्त्यमा मैले रात्रीकालीन समयमा स्टोरमा काम पाएँ। मलाई लागेको थियो कि रात्रीकालीन समयमा मेरो शरीर भोग्ने ब्वाँसाहरू आउने होलान्। यसै त सबैले भोगेको नै शरीर हो। त्यही चोक्टा खालान्। जालान्। तर अँहँ, कोही चोक्टा खान आएनन्। र जो आउँछन् ती त अलि परै बसेर मलाई प्रस्ताव पो गर्छन। म “नाइ” भन्छु। उनीहरु मलाई मरेको सिनोलाई उपियाँले छोडेजस्तो छोडेर जान्छन्। म त पहिले तिन छक्क परेँ। आखिर किन यस्ता यहाँका लोग्ने मान्छेहरू। यौन छाडाको देश भन्थे त अमेरिकालाई।

०००००

एउटा मेक्सिकानो रोबर्टो हरेक रात आउँथ्यो स्टोरमा। ऊ कामबाट फर्किएर आउँथ्यो र बियर तथा केही चिप्स किनेर जान्थ्यो। ऊ त्यतिसारो अंग्रजी बुझ्दैनथ्यो। उसको भाषा स्प्यानिस रहेछ। मैले जान्ने कुरै भएन। ऊ केबल आउँथ्यो किन्थ्यो। उदाश देखिन्थ्यो। बियर किन्थ्यो र जान्थ्यो। विस्तारो विस्तारो हामी बोल्न थाल्यौँ। मैले केही उसको भाषा सिकेँ। मैले एकदिन उसलाई सोधेँः

“किन रोबर्टो सधै उदाश देखिन्छौ ?”

उसले उत्तर दिएथ्योः “प्रारब्ध हो सिन्योरिता”

मैले सोधेकी थिएँः “के भएको छ र रोबर्टो तिमीलाई ?”

उसको उत्तर थियोः “दे नादा” (केही भएको छैन)

मैले उसलाई जोड गरेँः “भनन भन रोबर्टो। म तिमीलाई केही हेल्प गर्न सक्छु कि”

किनकि मलाई ऊ मान्छेको रूपमा मन पर्न थालेको थियो। उसको गम्भिर बानी, बोलीचाली सुन्दर थियो। आखिर मायामा न जात, न भाषा। ऊ मलाई बस राम्रो लाग्न थालेको थियो। ऊ मलाई अति आदरार्थी सम्बोधन गथ्र्यो। मेरालागि पनि कसैले आदरार्थी शब्द बोलेको जीवनमा पहिलो नै थियो सायद। र मैले उसलाई भन्न बाध्य पारेँ।
उसले एकै सासमा भन्योः

“सिन्योरिता, अमेरिका र मेक्सिकोको बिचमा एउटा खोला छ। तपाईँलाई थाहै होला मेक्सिको लागू पदार्थ तस्कर र मानव तस्करहरूले सिध्याएको देश हो। सुनेको छु तपाईँको देश नेपाललाई पनि तस्करहररूले नै सिध्याएका छन् रे। नेपालबाट पनि हाम्रै देशको चोर बाटो हुँदै मानव तस्करी भइरहेको छ। आफ्नो देश तस्करको देश भएपछि हामीले बाँच्न अर्काको देश छिर्ने पर्ने रहेछ सिन्योरिता”

म उसलाई नै नियालेर हेरी रहेकी थिएँ। ऊ फेरि भन्न थाल्योः

“मेक्सिकानोहरू बाँच्न, कमाइ गर्न त्यही खोला तरेर अमेरिका छिर्छाै। कतिलाई खोलाले बगाएर मार्छ। म त्यही अभागी भएँ सिन्योरिता। रातको समय थियो। अन्धकार थियो। म मेरी प्यारी श्रीमती मारिया र दुई साना छोराहरू लाई लिएर डोरीले एकअर्कालाई बाँधेर त्यही खोलामा हाम फालेका थियौँ। बर्षाको महिना थियो। पानी उर्लेर आएको थियो। बिचसम्म त उनीहरुलाई तानिरहेको थिएँ। त्यसपछि गााठो फुस्कियो। उनीहरुलाई खोलाले बगायो। म त पारी पुगेंछु। मेरी मारिया र छोराहरुलाई मैले गुमाएँ। सधैका लागि गुमाएँ। मैले त्यही कालो अन्धकारभित्र बगिरहेको त्यो खोलामा हाम फालेर मर्न पनि खोजेँ। सँगै आएको लुप्पेले समायो र मर्न पनि पाइनँ । म कहाँ जाऊँ ? मेक्सिको फर्कन सकिनँ। वारिपारि दुवैतर्फ बोर्डर प्याटोरोलिंगका पुलिसहरूको गाडी कुदिरहेको थियो। र म लुकेर अमेरिकातिरको जंगलमा छिरेँ। रुँदै छिरेँ। मैले डाको छोडेर रुन पनि पाइनँ। रोएको भए म मारिन्थेँ। मेक्सिको जो मेरो आफ्नो देश थियो र पनि बिनापासपोर्ट अमेरिका छिरेको अभियोगमा पुलिसले समातेर जेल हालिदिन्थ्यो। र तस्करले लागू पदार्थ तस्करीमा लगाउँथ्यो। मेरा भाग्यमा दुवैतिर अन्धकार थियो र मैले अमेरिकाको जंगल लुसुक्क छिर्नु नै रोजेँ”

उसको कुरा सुनेर म मर्माहत भएँ। मैले सम्झेँ आफूलाई। मेरा त छोरा छोरीसँगै छन्। लोग्ने आफ्नै करनीको कालगतिले मर्यो। मसँग त अमेरिकाको ग्रिनकार्ड छ। उसलाई फेरि कुनैबेला पनि अमेरिकी पुलिसले समात्न सक्छ। जेल हाल्न सक्छ। अहो संसारमा मभन्दा पनि दःखी मान्छेहरू हुने रहेछन्।

म सधैँझैँ रातिको समयमा स्टोरमा काम गरिरहेकी थिएँ। रोबर्टो आएको थियो। आज ऊ अलि हतास र उदाश देखिएको थियो। आज उसले बियर पनि किनेन। एक लार्ज कप आइस लियो र त्यसमाथि कोकाकोला खन्यायो। मैले उसलाई सोधेँः

“के भयो रोबर्टो ? किन झन धेर उदास छौ आज ?”

“मेक्सिकोमा मेरो घरलाई तस्करहरुको दुई ग्यांग फाइटमा बम हानेर उडाइदिएछन्। अब म कहाँ जाऊँ सिन्योरिता ?”

म त झन चकराएँ। म पनि उदाश भएँ। कस्तो कमजोर भाग्य रहेछ यो रोबर्टोको। म चुपचाप थिएँ। उसले मलाई फेरि भन्योः

“आज झन्डै अमेरिकी पुलिसले समात्यो। यसरी छलेर कति दिन काम गर्नु ?”

मलाई उसको औधी माया लाग्न थालेको थियो। र मैले उसलाई भनेकी थिएँः

“रोबर्टो, म कसरी तिमीलाई सहयोग गर्न सक्छु त ?”

उसले लामो सुस्केरा हाल्यो र भन्योः

“सिन्योरिता तपाई मसँग बिहे गर्नु न। सत्ते म तपाईँलाई छुन्न। तपाईँले नचाहुन्जेल छुन्न। तपाईँसँग बिहे गरेपछि मेरो पनि ग्रिनकार्ड हुनेछ। र म काम गरेर खान पाउँछु। त्यसपछि म तपाईँले चाहेमा डिभोर्स दिन्छु। अब मेक्सिकोमा मेरो भावनाबाहेक के छ र ? मेरो को छ र ? हे भगवान यो संसारमा मेरो को छ र ?”

म उसको यो प्रस्तावबाट स्तब्ध भएकी थिएँ। मैले उसलाई तत्क्षण नै भनेकी थिएँः

“रोबर्टो, तिमीलाई थाहा छ ? मेरा एकछोरा र एकछोरी छन्। म अमेरिका आउनुभन्दा पहिले यौनकर्मी थिएँ। वेश्या थिएँ। तिमी वेश्यासँग बिहे गर्छौ?”

उसले भनेथ्योः “यौन मान्छेको बैयक्तिक स्वतन्त्रता हो। वेश्या हुनु र नहुनुले मान्छेभित्रको रूपलाई असर गर्दैैन। तर मान्छेले विषम परिस्थितिले गर्दा आफूले मन नपराएको काम पनि गर्नुपर्छ। मान्छे आखिर यति कुरो पनि बुझ्दैन कि मान्छे भनेको मान्छे नै हो। तपाईँले मसँग बिहे गर्नुभयो भने ती मेरा सन्तान हुनेछन। म मेरा बगेर मरेका छोराहरू पाउने छु। मेरी मारिया पाउने छु। तपाईँजस्ती श्रीमती पाएर म धन्य हुनेछु। तपाईँले मान्नु भयो भने हामी सुन्दर संसारको सृजना गरौँला। सुन्दर संसार भनेको पैसाको संसार होइन, मायाको संसार हो। हैकमको संसार होइन, विश्वासको संसार हो। स्वप्रतिष्ठाको संसार हो”

०००००

अस्टिनको डाउन टाउनस्थित बिसौँ तलाको मुभिङ् रेस्टुरेन्टमा बसेकी छु। मसँग मेरो लोग्ने रोबर्टाे छ। हाम्रो एउटा कन्सट्रक्सन कम्पनी छ। घर छ। गाडी छ। माया छ। सम्मान छ। र एउटा मिठो संसार छ। जहाँ काम गर्नु परेको छ। तर हेपिनु परेको छैन।

ऊ मातेको छ। साँच्ची धेरै मातेको छ। जबजब ऊ मात्छ, झन मायालु बन्छ। मानौँ म नै उसको सबैथोक हुँ। ऊ मसँग परजीवीजस्तै बन्छ। र मलाई किन हो किन उसलाई मताउन मन लाग्छ। कोही त छ जो मेरो तारिफ र तारिफ गरिरहन्छ र गरिरहन्छ। कहिल्यै थाक्दैन। बाँकि अरु त कुरै काट्ने हुन्। माइती कुरै काटिरहेका छन्।

मलाई त लाग्छ सारा नेपाली मिलेर कुरै काटिरहेछन्। हुँदा हुँदा अमेरिका आएका नेपाली पनि मेरो कुरो काटिरहेका छन्। कोही मेरो नियतिमाथि कुरो काटिरहेका छन् र रमाएका छन्। कोही मैले खाएको लाएकोमा कुरो काटिरहेका छन् र सायद आहारिस गरिरहेछन।

कोही मैले पाएको दुखको कुरो काटिरहेका छन् र समय बिताइरहेका छन्। र म बाध्य र निरपेक्ष सुनिरहेकी छु। तर रोबर्टो ऊ मेरो मायाको खानी हो। मलाई जति माया चाहिन्छ त्यही मायाको खानीबाट झिक्छ। हाम्रो बिहे भएको २० वर्ष भयो। मैले अलिकति अध्यारो अनुहार लाएँ भने ऊ शून्य अनुहार लगाएर बस्छ। ऊ मेरो वृतमा हराउँछ। मानौ मेरा जीवनमा घटेका सबै घटना उसका हुन्। र त्यसैत्यसै ऊ मलाई महान लाग्छ।

०००००

अमेरिकन नेपाली सोसाइटीले नेपाली सिकाउने स्कुल खोलेको छ। मैले नातिनीलाई त्यहीँ पढ्न पठाएकी छु। आखिर भाषा भेष संस्कृतिको माया लाग्दो रहेछ। दसैँ, तिहार, मेला, आदिको सम्झना त मर्ने कुरो पनि भएन। अमेरिकी नागरिकता लिएकी छु। र पनि मेरो पहिचान नेपाली नै रहेछ। र मेरी नातिनी बडो मुस्किलले नेपाल सिक्दैछे। नेपाली सिक्दैछे। आज ऊ नेपाली उखान पढ्दैछे। उसले मलाई आएर सोधीः “डु यु नो ग्य्रान्डमा, द मिनिङ्ग अफ नमरी स्वर्ग देखिन्न”

मैले उसलाई झट्ट भनेँः “यस आइ बेटर डु”

मैले उसलाई भन्न त भनेँ तर मलाई पक्का थाहा छ, मर्ने बित्तिकै स्वर्ग कहाँ देखिन्छ र ? कोही त मरेका मरै हुन्छन्। मरिरहन्छन् र पनि स्वर्ग देखिन्न। मान्छे यतै पनि मरिरहेका छन्। उतै पनि मरिरहेका छन्। अस्ति मिना र रूपा मेसेनजरमा भेटिएका थिए। धन्दा चलाइरहेछन्। उनीहरुको पेटले बुढी भनेको छैन। बुढी भन्न पाएका छैनन्। र मरिरहेका छन्। मर्न विवस छ मान्छे। र पनि स्वर्ग नदेखी मर्छ मान्छे।

मेरा आँखा अनायासै रसाएछन्। त्यो देखेर नातिनी भन्न थालीः “ह्वाइ यु क्राइङ् ग्य्रान्डमा ?”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *