निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ: अर्थमन्त्री
काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। अर्थ मन्त्रालयमा आज नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना दिने क्रममा उनले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
वर्तमान सरकार राजनीतिक र आर्थिक स्थिरताका लागि गठन भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयासरत रहेको बताए। उनले भने, ‘सरकारप्रति आशा र भरोसा गर्नुहोस्, तत्काल गर्न सकिने काम यो वर्ष र बाँकी विषयहरु बजेटमै सम्बोधन गरेरै भए पनि निजी क्षेत्रको मागलाई सम्बोधन गर्छौं।’
चेम्बर अफ कमर्सले नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझावसहित चेम्बर कार्यसमितिले अर्थमन्त्री पौडेलसमक्ष सिंहदरबारमा भेतवार्ता गरेको हो। सो अवसरमा अध्यक्ष कमलेशकुमार अग्रवाल सहितको चेम्बर केन्द्रीय कार्य समितिले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिए।
आर्थिक गतिविधिमा आएको सङ्कुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा सङ्कुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानीप्रति आकर्षण नभएकोप्रति चेम्बर अध्यक्ष अग्रवालले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराए। उनले भने, ‘अर्थतन्त्र शिथिलताबाटै गुज्रिरहेको छ। आर्थिक र वित्तीय क्षेत्रको निकासका लागि नीतिगत स्थायित्व र सरकारी संरक्षणको आवश्यकता छ।’
कालोसूचीमा पर्न लागेका उद्यमी–व्यवसायीलाई उद्योग–व्यवसायको प्रकृति हेरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्थासँगको आपसी विश्लेषणबाट केही समयका लागि कर्जाको पुनःतालिकीकरण गर्न समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ।
Facebook Comment