गृहमन्त्री लेखकसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

डिसी नेपाल
४ साउन २०८१ २२:२५

काठमाडौं। गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र अमेरिकाबीच रहिआएको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको थियो।

सो अवसरमा गृहमन्त्री लेखकले नेपाल र अमेरिकाबीच विगत ७० वर्षदेखि रहिआएको द्विपक्षीय सम्बन्ध सौहाद्र्रपूर्ण रहेको उल्लेख गर्दै लोकतन्त्र, मानव अधिकार, कानुनी शासनजस्ता विषयमा दुवै देशको साझा धारणा रहेको बताए।

नेपालको सामाजिक–आर्थिक विकास तथा गृह मन्त्रालयका विभागीय सुरक्षा निकायहरूको क्षमता अभिवृद्धिमा अमेरिकाले उल्लेख्य सहयोग गर्दै आएको बताउँदै गृहमन्त्री लेखकले अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गरे।

जलवायु परिवर्तनको असरका कारण नेपाल उच्च जोखिममा रहेको र यस विषयमा नेपालको उच्च चासो र चिन्ता रहेको उल्लेख गर्दै उनले यस विषयमा समर्थन गर्न आग्रह गरे।

राजदूत थम्पसनले गृहमन्त्री पदमा नियुक्त हुनुभएकामा लेखकलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। नेपालको सामाजिक–आर्थिक विकासका विविध क्षेत्रमा सहयोग गर्न अमेरिका सधैँ इच्छुक रहेको उल्लेख गर्दै उनले नेपालको आर्थिक विकासमा एमसिसी परियोजना महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

राजदूत थम्पसनले एससिसी परियोजना कार्यान्वयनमा नेपाल सरकारका तर्फबाट सधैँ सहयोग रहने आफूहरूको अपेक्षा रहेको उल्लेख गरे। उनले अपराध नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सहकार्य र समन्वय गर्न अमेरिकी सरकार तत्पर रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *