सबै युट्यूवर पत्रकार होइनन् : काउन्सिल अध्यक्ष बस्नेत
काठमाडौं। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रश्न उठाउने मात्र नभै समाधनका विकल्पहरुसहितको पत्रकारिता गर्नुपर्ने दायित्व मिडिया जगतमा आइपरेको बताएका छन्। त्यसरी गरिने पत्रकारिता सृजनात्मक, रचनात्मक र समाधानमुखी हुने उनको धारणा छ।
‘प्रश्न उठाउने र समस्या राख्नेमा मात्र अबको पत्रकारिता केन्द्रित छैन। समाधानका सम्भावित उपाय, विकल्पहरु सहित प्रश्न उठाउने दायित्व मिडिया जगतमा छ। समाधन के हुन सक्छ? अहिले किन भइरहेको छैन? असल सुरुवात के भइरहेका छन्? त्यसमा बाधा के, कसरी भइरहेको छ? जस्ता जिज्ञासासहितलाई मिडिया जगतले प्रस्तुत गर्दा सृजनात्मक, रचनात्मक र समाधानमुखी पत्रकारिता गरेको ठहर्छ, सामाजिक सञ्जालमार्फत अध्यक्ष बस्नेतले भनाइ राखेका छन्।
नेपाली मिडिया जगतको नियामक निकाय रहेको काउन्सिलका प्रमुख बस्नेतले पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चार माध्यम छुट्याएर हेर्नुपर्ने र त्यसका लागि डिजिटल साक्षरतामा जोड दिँदै आएका छन्। समाचार र सामाजिक सञ्जालका कन्टेन्टलाई चामल र भुससरह छुट्याएर हेर्नुपर्ने बाध्यता रहेको उनले बताए।
‘युट्यूव र अन्य सामाजिक सञ्जालमा राम्रासहित अनेकन खालका नकरात्मक सामाग्री पोखिएका छन्। त्यसलाई चामल र भुस जत्तिकै छानेर सञ्चारमाध्यमका रुपमा आएका युट्यूव र अन्य युट्यूव भनी छुट्याउन र चिन्नुपर्छ,, अध्यक्ष बस्नेतको धारणा छ।
उनले सबै युट्युवरलाई पत्रकार भन्न नमिल्ने जानकारी समेत दिए। ‘सबै युट्यूवर पत्रकार होइनन्, सबै पत्रकार राम्रा युट्युवर हुन सक्छन्, बस्नेतको भनाइ छ। सबै माध्यममा रचनात्मक र समाधानमुखी सामाग्री पस्किन सके अहिलेका कतिपय गलत प्रवृत्ति आफै अन्त हुने उनको बुझाइ छ। पछिल्लो समय प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत सार्वजनिक कन्टेन्टलाई कडाई गर्दै आएको छ।
Facebook Comment