जसले छोरीको खेल हेर्न पाएनन्…

डिसी नेपाल
९ साउन २०८१ १७:४१

देवल। गएको शुक्रबार श्रीलङ्काको रनगिरी डम्बुल्ला इन्टरनेशनल स्टेडियममा एसिया कप महिला क्रिकेट चलिरहेको थियो। नेपाली समयअनुसार दिउँसो २ः१५ बजेबाट सुरु खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा थियो। खेलमा नेपालका तर्फबाट उत्कृष्ट ब्याटिङ गरिरहेकी थिइन्, बझाङकी सम्झना खड्काले। उनको खेल प्रदर्शनले नेपाली क्रिकेटप्रेमीहरुको मन जितिरहेको थियो।

तर, जयपृथ्वी नगरपालिका–९ बझाङमा रहेका उनका बुबाआमा भने उक्त खेलबारे अनभिज्ञ थिए। खेल चलिरहँदा बुवा देवेन्द्रबहादुर र आमा कालीदेवी खड्का लेकतिर पणीतोलामा घेराबारको काम गरिरहेका थिए। उनीहरुलाई छोरीले क्रिकेट खेल्छिन् भन्ने मात्रै थाहा थियो। अघिल्लो साँझ भोलि छोरीको खेल छ भन्ने चर्चा भएको थियो।

तर, भोलि कति बेला खेल्ने, कता हेर्ने टुङ्गो थिएन। बिहानको खाना खाएर बुवा आमा लेकतिर गए। सम्झनाका भाइहरूले जयपृथ्वी नगरपालिकाको हलमा खेल हेर्ने अवसर पाए। ‘दिनभर घरमा बसेर केही हुन्न। घरमा छोरीको खेल हेर्नलाई केही माध्यम भएन । त्यसैले हामी लेकतिर गयौँ,’ सम्झनाका बुवा देवेन्द्रले भने, ‘पछि छोरीले राम्रो खेली भनेर फोनमा खबर पाएपछि मोबाइलमा छोरीको खेल हे¥यौँ।’

खेल खासै नबुझे पनि राम्रो खेलेको थाहा पाउँदा बुवाआमा खुसीले दङ्ग छन्। छोरीलाई जागिरका लागि दबाब दिइरहेको खड्का परिवार आजभोलि खेल खेलेर नाम कमाएकोमा खुसी छ। ‘घरका कसैले त जागिर खानुपर्छ भनेर अनमी पढायौँ। पढाइ सकेर जागिर पनि खान थाली। बीचमै जागिर छोडेर खेलतिर लागि। त्यो बेलामा घरमा कसैलाई चित्त बुझेको थिएन। आजभोलि अरुले फलानाका छोरीभन्दा निकै खुसी लाग्छ’, बुवा देवेन्द्रले भने।

पहिलो खेलमा सम्झनाले युएईविरुद्ध नेपाललाई जित दिलाएकी थिइन्। उनले ४५ बलमा ११ चौकासहित ७२ रन बनाइन्। सम्झना खेलको प्लेयर अफ दि म्याचसमेत बनेकी थिइन्। त्यसपछि उनको चर्चा चुलियो। उनलाई नचिन्नेले चिन्ने अवसर पाए। उनलाई जिल्लामै प्रशिक्षण गर्ने सुरेन्द्र सिंह र प्रविन्द धामीको पनि चर्चा भयो।

किशोरावस्था प्रवेशसँगै क्रिकेट खेल्न थालेकी सम्झनालाई सफलता मिल्दै गएपछि परिवारमा खुसी छाएको उनका दाजु नवीन खड्काले बताए सम्झनालाई मोजाको बलले बलिङ गराउँदै १३ वर्षअघि सिंह र धामीले क्रिकेट खेल्न सिकाएका थिए। खेलमैदान नहुँदा बन्द विमानस्थलमा उनीहरु खेल अभ्यास गर्थे।

त्यसै बेलादेखि बझाङमा क्रिकेट खेलको सुरुवात भएको थियो। खेल सिकेको छ महिनामै धामी र सिंहले सम्झनालाई बझाङको महिला टिम कप्तान बनाएका थिए। बिहान स्कुल जाने, स्कुलबाट फर्किएपछि घरायसी काम सकेर क्रिकेट खेल्ने उनीहरुको दैनिकी भएको प्रविन्द धामी सम्झन्छन्। उनले भने, ‘सम्झनालाई बझाङ टिमको कप्तान बनाएर जिल्लाबाट धनगढी, महेन्द्रनगर, बैतडीलगायतका ठाउँमा हुने क्षेत्रीय खेलमा सहभागी गराउथ्यौँ। पछि उसको खेल सुध्रिँदै गयो र राष्ट्रिय टिमबाटै खेल्ने अवसर मिल्यो।’

त्यो बेलामा खेलको महत्व कसैले नबुझेको उनको अनुभव छ। ‘बहिनीहरु खेल्न जाँदा परिवारकै सदस्यले अवरोध गर्थे,’ धामीले भने, ‘त्यो बेलामा कुनै दिन हाम्रा खेलाडी अन्तर्राष्ट्रिय रंगशालामा सबैको अगाडि देख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। अहिले आएर हाम्रो सपना पूरा भएको छ। त्यो बेलामा हामीसँग रिसाउनेहरुले अहिले बुझेका छन्।’

सम्झना राष्ट्रिय टिमबाट खेल्न थालेको दुई वर्ष भयो। क्रिकेट खेलको चर्चा माझ सम्झनाका आमाबुवाले कुनैपनि खेलको प्रत्यक्ष प्रसारण हेर्न पाएनन्। ‘घरको टिभिमा आउँदैन। मोबाइल छैन। अरुले भनेको आधारमा छोरीले खेल जितेको÷हारेको थाहा पाउँछौँ’, उनका बुवा देवेन्द्रले भने। छोरीले जुनसुकै ठाउँमा पुगेपनि क्रिकेट खेलबाट गरिरहेको प्रगतिबाट उनको परिवार सन्तुष्ट छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *