कांग्रेस-एमालेबीच राजदूतमा भागवण्डा : भारतमा कांग्रेस, अमेरिकामा एमाले

डिसी नेपाल
१० साउन २०८१ १०:४७

काठमाडौं। तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले फिर्ता बोलाएका विभिन्न ११ मुलुकका राजदूतमा कांग्रेस-एमालेबीच भागवण्डामा सहमति गरेका छन्।

प्रचण्ड नेतृत्वको सरकाले एमालेको सहमतिमा जेठ २४ गते विभिन्न ११ मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तीमध्ये अधिकांश कांग्रेस कोटामा राजदूत नियुक्ति भएका थिए।

तर गठबन्धन परिवर्तन भइसकेपछि कांग्रेस एमालेबीच माओवादी केन्द्र र एकीकृत समाजवादीको कोटामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाएर नयाँ राजदूत नियुक्त गर्ने मोटामोटी सहमति भएको छ।

हाल भारत, अमेरिका, बोलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलमा राजदूत रिक्त छन्।

ती देशहरुमा पहिला राजदूत नियुक्तिको सिफारिस गर्ने र त्यसपछि माओवादी केन्द्र र एकीकृत समाजवादीको कोटामा नियुक्त भएका राजदूत फिर्ता बोलाउने सहमति भएको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जानकारी दियो।

स्रोतका अनुसार पहिलो चरणमा ११ मुलुकमा रिक्त राजदूत नियुक्त गर्न प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति भएको छ।जस अनुसार कांग्रेसले भारत र एमालेले अमेरिकमा आफ्ना कोटाबाट राजदूत नियुक्त गर्नेछन्।

भारतका कांग्रेस कोटाबाट यसअघि कै राजदूत शंकरप्रसाद शर्मालाई नै निरन्तरता दिने विषयमा दुई दलबीच मोटामोटी सहमति भएको छ। यसअघि प्रचण्ड नेतृत्वको सरकारले रिक्त ११ मध्ये ८ वटा मुलुकमा राजदूत सिफारिस पनि गरेको थियो।

जस अनुसार भारतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, अमेरिकाका लागि चन्द्रकुमार घिमिरे, बेलायतका लागि डा. विजन पन्त, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निामा तुलाधर, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमिल्सिना, स्पेनका लागि डा. पुष्पराज राजर्किणकार र साउदी अरबका लागि अबुसुफ्यान खानको नाम सिफारिस गरेको थियो। यी आठ जनामध्ये खान र तुलाधर अशोक राई नेतृत्वको जसपा र बाँकी ६ जना एमालेको कोटाबाट सिफारिस भएका थिए।

तर अहिले नयाँ गठबन्धन बनिसकेपछि ती सबै मुलुकमा एमालेले मात्रै पाउने अवस्था छैन। भारतमा कांग्रेसले पाउने र अमेरिकाको राजदूत एमालेले दिने बाहेक अन्य विषय छलफलकै क्रममा रहेको बताइएको छ।

लामो समयसम्म राजदूत रिक्त रहँदा कुटनीतिक अवस्था कमजोर हुने भन्दै प्रधानमन्त्री ओली र सभापति देउवाबीच चाँडो राजदूत नियुक्ति गर्ने विषयमा सहमति भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार अब चीन, रुस, श्रीलंका र अष्ट्रेलियाका राजदूतलाई पनि फिर्ता बोलाएर एकै चरणमा नयाँ राजदूत नियुक्ति गर्ने वा पहिलो चरणमा रिक्त रहेका देशमा नियुक्ति गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।

हाल चीनमा माओवादी केन्द्रको कोटाबाट नियुक्त भएका विष्णुपुकार श्रेष्ठ राजदूत छन्। यसैगरी रुसमा एकीकृत समाजवादीबाट नियुक्त भएका मिलन तुलाधर, अष्ट्रेलियामा पनि एकीकृत समाजवादीबाट नियुक्त भएका कैलाश पोखरेल राजूत छन्। यसैगरी श्रीलंकामा माओवादी केन्द्रको कोटाबाट नियुक्त भएका वासुदेव मिश्र राजदूत छन्।

कांग्रेससभापति देउवाको प्रेस सल्लाहकार गोविन्द परियारले प्रधानमन्त्री र कांग्रेस सभापतिबीच रिक्त राजदूत नियुक्ति गर्ने विषयमा छलफल भइरहेको र चाँडै निष्कर्षमा पुगिने बताए।

यसअघिको सत्ता समीकरणअनुसार राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई नयाँ समीकरण अनुसार सरकार गठन भएसँगै उनीहरूलाई सरकारले फिर्ता बोलाएको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *