अर्घा दरबार पुनःनिर्माण थालियो

डिसी नेपाल
१० साउन २०८१ १७:४६

अर्घाखाँची। अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा दरबार पुनःनिर्माण थालिएको छ। अर्घा अग्लो पहाडको थुम्कोमा अवस्थित प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको रमणीय थलो हो। बाइसे चौबिसे राज्यका समयमा राजकाज चलाउने स्थानको रुपमा रहेको यहाँ हाल महाकाली मन्दिर र दरबार रहेको छ।

पन्ध्रौँं शताब्दीदेखि अस्तित्वमा रहेको यो मन्दिरमा विजया दशमीको पूर्णिमाको दिन विशेष मेला लाग्छ। सराये नाचको प्रमुख उदगमस्थलको रुपमा अर्घाको दरबार र अर्घा भगवती मन्दिर रहेको छ। बाइसे चौबिसेराज्य अन्तर्गत पर्ने यस राज्यको दरबार पहिलेकै अवस्थामा रहने गरी पुरानै शैलीमा पुरातत्व विभागले निर्माण कार्य अघि बढाएको हो।

पुरातत्व विभागको अन्वेषण र खोजीका आधारमा बाइसे चौविसे राज्य अन्तर्गत पर्ने राज्यकालको अवधिमा भएको डिजाइन र शैलीमानै पुरातत्व विभागद्वारा निर्माणकार्य सुरु भएको दरबार संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताए। दरबार पहिला तीन तले रहेको अनुसन्धानबाट पत्ता लागेको छ। दरबार निर्माण सुरु भएपछि अर्घा भगवती मन्दिरमा पर्यटक बढी आउने अपेक्षा गरिएको मन्दिरका पुजारी किशोर आचार्य बताउँछन्।

हाल मन्दिरमा भगवतीको मूर्ति प्रतिस्थापन गरिएको छ। सन्धिखर्क नगरपालिकाले अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा, २१ फिटको मूर्ति राखेको छ। मूर्ति प्रतिस्थापनसँगै मन्दिर तथा पौवा निर्माण गरिएको छ। दरबार तथा मन्दिर वरिपरि चिटिक्क पारिएको छ। लिच्छवीकाल देखिनै दरबार तथा मन्दिरमा पूजाआजा हुँदै आएको बताइन्छ।

लुम्बिनीमा आएका पर्यटक तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीयस्थल सुपा देउरालीमा आएका पर्यटकलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान सकिने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए। गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँगै गुल्मीको रेसुंगा र प्यूठानको स्वर्गद्वारीमा आएका पर्यटकलाई अर्घा दरबारतर्फ आकर्षित गराउने उद्देश्यले मूर्ति स्थापना गरिएको उनी बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *