गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

डिसी नेपाल
१० साउन २०८१ २१:५८

चितवन। भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम एक साताभित्र सुरु हुने भएको छ। भरतपुर महानगरपालिका र हिमालयन कालिञ्चोक विविआर जेभिले आज संयुक्त रुपमा स्थलगत अनुगमनपछि निर्माण कम्पनीले एक साताभित्र निर्माणको काम सुरु गर्ने जनाएको हो।

धुर्मुस सुन्तली फाउण्डेशनले रंगशाला निर्माणका लागि ल्याएर बाँकी रहेको सामानको लगत संकलनको काम आजैदेखि सुरु गरिएको छ। महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीसहित निर्माण व्यवसायीका प्रतिनिधिहरुले स्थलगत अनुगमन गरेको हो। फाउण्डेशनले निर्माणका लागि ल्याएको सामानको मुचुल्का तयार गरे लगत्तै निर्माणका लागि काम थालिने निर्माण कम्पनीका विकास गौतमले जानकारी दिए। उनले भने, ‘आइतबारदेखि सरसफाइलगायत काम सुरु हुन्छन्।’

रंगशाला निर्माणस्थलमा रहेको झाडी पन्छाउने, सरसफाइ गरेर कामलाई तीव्रता दिइने उनले बताए। महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार फाउण्डेशनले निर्माणका लागि ल्याएका सामान महानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने हुँदा मुचुल्का उठाउने काम सुरु गरिएको बताए। प्राविधिक टोलीसहित मुचुल्का उठाएपछि निर्माण कम्पनीले आफ्नो काम सुरु गर्ने उनले बताए।

रंगशाला निर्माणका लागि गत असार २३ गते महानगरपालिका र निर्माण कम्पनीबीच सम्झौता भएको थियो। महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार रु ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा निर्माण सम्पन्न गर्ने गरी दुई पक्षीय सम्झौता भएको छ।

धुर्मुश–सुन्तली फाउण्डेशनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रंगशाला ३० महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको उनले बताइन्। संयुक्त अनुगमनपछि महानगर प्रमुख दाहालले एक सातामा निर्माणको काम सुरु गर्ने गरीठेकेदार कम्पनीले कामलाई अघि बढाएको बताइन्। उनले भनिन्, ‘निर्माणको वातावरण बनाइ दिने काम महानगरपालिकाको हो। समयमा काम सम्पन्न गर्ने जिम्मेवारी निर्माण कम्पनीको हो।’ पहिलो चरणमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गराउन मिल्ने गरी मैदान र स्टेडियम निर्माणको काम हुने उनले बताइन्। तीन तहको सरकारको साझेदारीमा बन्न लागेको रंगशाला समयमा नै निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गराइने उनले बताइन्।

कम्पनीले खेल मैदान, पिच, प्रोटेक्सन वाल, दुई वटा टावर बिल्डिङ र थप १० हजार क्षमताको प्याराफिट निर्माण गर्नेछ। निर्माणाधीन रंगशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा थियो। रंगशालाको सबै काम पूरा गर्न रु तीन अर्बभन्दा बढी खर्च लाग्ने छ। पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ।

महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले निर्माणका क्रममा देखिएका समस्या सामूहिक रुपमा समाधान गर्दै जाने बताए। निर्माण व्यवसायीलाई चाँडो काम सुरु गरेर समयमा नै सम्पन्न गर्न उनले निर्देशन दिए। त्रिभुवन विश्वविद्यालयसँग ३० वर्षका लागि जग्गा भाडामा लिएर रंगशाला निर्माणअघि बढाइएको हो। रंगशाला त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिघा छ कठ्ठा जग्गा बन्ने छ।

विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेशनबीच निर्माणका लागि सम्झौता भएको थियो। अधिकारीले फाउण्डेशनले काम गर्न नसकेर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेसँगै संघ र प्रदेशसँग समन्वय गरेर रंगशाला निर्माण गर्न लागिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *