कथाः डायरीका पानाहरु

खेमराज पोखरेल
१२ साउन २०८१ ७:१७

दिन १ः

मैले १५ पुग्दै एस.एल.सी. पास गरेकी थिएँ। पढाइ राम्रो थियो भन्थे। मलाई भने राम्रो नराम्रो थाहा थिएन। केवल म पढिरहन्थेँ। पढ्न रमाइलो लाग्थ्यो। अल्जेब्राका सुत्रहरु प्नि सजिला लाग्थे। जोमेटीका बांगा टिंगा रेखाहरु प्नि रमाइला लाग्थे। सरहरु भन्नु हुन्थ्योः

“यो शर्मिलालाई कस्तो पढ्न आउने हौ। यो एकदिन विद्वान हुन्छे”

म फुरुङ्ग परेर होमवर्कमा सरहरुले कोरेका राता राइटहरु हेरेर मनमनै मुस्कुराउँथेँ।

त्यो दिन म एस.एल.सी.को प्रमाणपत्र बोकेर घर आएकी थिएँ। खुसी मारे म उफ्री रहेकी थिएँ। मलाई संसारको आइरन ढोका फोडेजस्तो लागेको थियो।

हामी धनी मध्यम वर्ग रहेछौँ। खानदानी रहेछौँ। सामाजिक मर्यादा रहेछ। कुल घरान प्रतिष्ठा रहेछ। धेरैपछि मात्र मैले थाहा पाएँ कि हाम्रो परिवार आम मान्छेभन्दा फरक रहेछ। तर मलाई त डल्ले घर्ती असल लाग्थ्यो। एउटै क्लास। ऊ पनि पढ्न अब्बल थियो। हामी बराबर।

र ए अँ मैले एस.एल.सी. पास गरेपछि घरका सबै खुसी देखिए। सहर पढ्न जाने मेरो रहर थियो।

मध्य रात थियो सायद। मेरा आमा र बा बोलेको प्रष्ट सुनिन्थ्यो। बा आमासँग भन्दै हुनुहुन्थ्योः

“सानीकी आमा, छोरीले एस.एल.सी. पास गरी। अब पो के गर्ने? माथि पढ्छु भन्छे। सहराँ हाम्रा कोही छैनन्। छोरी मान्छे त्यसै पठाउन पनि भएन। कुल इज्जतको सवाल छ। केही भयो भने जोरीपारी हाँस्छन्। हामी त मर्नु न बाँच्नुका हुन्छौ। के पो गर्ने हौ बुढी?”

आमा सुस्तरी जवाफ दिँदै हुनुहुन्थ्योः

“सानीका बा, छोरीको जात अर्काकै नासो त हो नि। फेरि छोरीले हरहिसाब सबै जानेकै छे। पहाडा जानेकै छे। घर राम्रोसँग खान्छे। स्वास्नी मान्छे भएपछि छोराछोरी पाउने त हो नि। अर्काकै भाँडा माझ््ने त हो नि। अर्काकै भित्तो टाल्ने त हो नि। किन धेर पढाउनु पर्यो र?”

“माथि पढ्छु भनेर भुखुन्ड गरिरा’की छे। कसरी सम्झाऊँ त्यसलाई ?” बाबाको जवाफ थियो।

आमा एकछिन घोरिनु भयो र भन्नु भयोः “तालुकदार श्रीकान्तले हाम्री छोरी मागेका मागै छन् त, छोरो पनि सहराँ इन्जिनियर छ रे, खानदान पनि गतिलो। सबै कुरा मिल्ने। बरु बिहे गरिदिन पाए सहराँ लैजान्थ्यो। पढे उतै पढ्थी। जे गर्थी। हाम्रो टन्टा त खलाँस हुन्थ्यो नि बरु”

मेरो मुटु ढुकढुक गर्न थालेको थियो। म कान थापेर अब बाबाले के भन्नु हुुन्छ भनेर सुन्दै थिएँ।

बाबाले भन्नु भएको थियोः “हाम्री छोरी बल्ल १६ टेकी। श्रीकान्तको छोरा त खोई के भएर हो बिहे नगरी बसेका ३० वर्ष पो पुगे रे त। कसरी दिनु त हौ चिचिली हाम्री छोरी?, फेरि छोरी त पक्का मान्दिन”

बाबाको उत्तरले अलिकति सास पलाएको थियो र लामो सास फेरेकी थिएँ।

आमा अलि ठूलो स्वरले पो झर्किन थाल्नु भयोः

“कस्तो बेतुकको कुरो पो गर्न थाल्नु भो त? तपाईँ र मेरो पनि त १५ वर्षकै फरक त हो नि। खोइ हामीले छोरा छोरी पनि पायौँ। सासूससुरा पनि सुमर्यौँ। बुहार्तन पनि खेप्यौँ। यत्रो खेती जिमिन जेथा पनि गरि खायौँ क्यार। केही भएन त? मैले पनि त बिहे नगर्ने भनेर भागी भागी हिँडेकी थिएँ। परालको टालमा लुकेकी थिएँ। धर पाएँ?”
बाबा बोल्नु भएन।

दिन २ः

म रोएँ। कराएँ। चिच्याएँ। र आमाले जस्तै मैले पनि धर पाइन। म बेहुली भएँ। बनाइएँ। म नपढी इन्जिनियरनी भएँ।

दिन ३ः

आज चाल पाएँ मेरा इन्जिनियर लोग्नेकी अघिल्ली स्वास्नी थिइन रे। उनी भन्थिन रेः “यस्तो पातकीसँग जीवन गुजार्नुभन्दा त बन्ठे साइँलो नै ठिक”। उनी त सारा सम्पत्ति लत्याएर त्यही हली बसेको बन्ठे साइँलोसँग पोइल पो हिँडेकी रे। सारा सामन्ती खानदानलाई पछारेर स्वतन्त्र भएकी रे।

दिन ४ः

मेरो पढाइ त हावासरी उडेको थियो। र म कठोर बुहार्तनमा परेकी थिएँ। घरभन्दा बाहिर निस्कन नपाइने र जतिबेला पनि घरभित्र भान्साकै काम गर्नु पर्ने। म त बँधुवा मजदुर जस्ती पो भएँछु। त्यसमाथि सहरबाट कहिलेकाँहि आउने लोग्ने राक्षसकै प्रतिमूर्ति थियो। र यो सबै सहन म बाध्य थिएँ। मेरा माइती, साथीभाइ, इस्टमित्र सबैजना मलाई भन्थेः

“यो शर्मिला साह्रै भाग्यमानी रहिछे बाइ, इन्जिनियर पोइ पाई। त्यसमाथि त्यत्रो खानदान्, सोहोरि नसक्नु सम्पत्ति छ”

दिन ५ः

मैले बिहे भएको एकवर्षमै एउटा छोरो पाएँ र अर्को वर्ष छोरी। याने कि म १८ वर्ष हुँँदा नहुँदा नै आइमाई भइसकेकी थिएँ। म सम्झिरहेकी छु। म कहिले तरुनी भएँ ?

मलाई कहिले बैँस आयो थाहा भएन। एउटा सपना देख्दा देख्दै बुढी भएँ। एउटा जिन्दगी हेर्दाहेर्दै खँदारिएँ। र मलाई यति धेरै सामन्ती रवाफले पोल्यो कि मैले मुन्टो उठाएर जीवनलाई हेर्न सकिनँ। तर एकदिन इन्जिनियर साहेबले याने कि मेरो लोग्नेले आफ्ना आमा बासँग भनेको सुनेः

“यो कान्छी यो गाउँमा बस्दा झन गँवार हुने भई। छोरा छोरीको पनि भविष्य हेर्र्नु पर्यो। आखिर काठमाडौँको घर पनि हेर्र्नु पर्छ नै। लैजान्छु है”
आखिर मलाई सोधिने कुरो थिएन। म छोराछोरी बोकेर काठमाडौँतिर लगिएँ। तर पनि मेरा मनमा भने कपास फुटिरहेको थियो। वाह काठमाडौँ सहर। अब कम्तिमा सासूससुराको निर्मम बुहार्तन त खप्नु पर्ने छैन।

दिन ६ः

एकदिन मेरो लोग्नेले भनेथेः

“कान्छी, यो सहर हो। तँ इन्जिनियरकी स्वास्नी होस्। मेरो मान प्रतिष्ठा छ यो सहरमा। अलि आधुनिक हुन सिक। लवाइ खुवाइ अलि मिला। त्यो कोर्के पाराले चल्दैन”
बिस्तारै बिस्तारै घरमै रक्सी पार्टी बाक्लिन थाल्यो। भेट्दा एकदम हँसिलो बन्नु पर्ने र भित्र जुठा जाँडका भाँडा माझ्दा माझ्ला हत्तु हुन थालेँ। श्रीमान्का साथीहरु आउने र जिस्क्याउने त सामान्य थियो। जिस्क्याइमा नमिठो गन्ध आउँथ्यो। श्रीमानलाई भन्थेँ। उनी भन्थेः “यो सहर हो। ती मेरा साथी खानदानी ठूला मान्छे हुन्। मौकामा काम लाग्छन्”

मैले ठानेकी थिएँ, त्यसै होला। अनि कहिले म ठमेल त कहिले झमेल पुर्याइन थालेँ। नाच्न पर्ने भयो। रक्सी नपिए पनि कोक रक्सीको ग्लासमा हालेर पिउन थालेकी थिएँ। अरु इन्जिनियरका स्वास्नीहरु त घटाघटी पिइदिन्थे। अर्काका लोग्नेको कम्मर समाएर नाचिदिन्थे। म अचम्म मानेर हेरिबस्थेँ।

एकदिन म बसेकै ठाउँमा मेरा श्रीमानका बोस आएर कानमा भनेः “भाउजू, अलि यसो मोडर्न पनि हुनु पर्यो” भन्दै मलाई गम्लंग अँगालो हाले। उनी मातिएका थिए। र उनले मेरो वक्षस्थलमा हात लगाए। नितम्बमा चिमोटि दिए र भनेः “हामी पनि लोग्ने मान्छे नै हौँ क्यारे भाउजू”

म भाउन्न भएँ। र मैले कराएरै भनेः “मलाई त्यस्तो नठान्नु, म त्यस्ती होइन”

म डाइभर लगाएर घर पुर्‍याइएँ।

बिहानको चार बजे मेरा लोग्ने घर आइपुगे। सर्बप्रथम मलाई केही नभनी दुइचार झापड हाने। अनि भन्न थालेः “साले कुलङ्गार्र्नी, कत्रो काम पटाउन बोसलाई बोलाएर पार्टी दिएको थिएँ। सब बरबाद भो। गँवार। कुकुरको पुच्छर। अलिकति जिस्किएको भए के जान्थ्यो तेरा बाउको ?, सभ्यता तँ गँवार्नीले कहिले सिक्ने होस्”

दिन ७ः

म आकाशबाट खसेजस्ती भएकी थिएँ। यो सहरीया सभ्यताभन्दा त सासुससुराको बुहार्तन नै ठिक। घरभित्र जति दलिनु परे पनि बाहिरकाले त सम्मान गर्थे। माया गर्थे। एउटा मिठो तर सडेको खोल थियो, त्योभित्र म चपाइन्थे र पनि सुरक्षित थिएँ। कसैले चिमोट्ने आँट गर्न सक्दैनथ्यो। गोज्यांग्री थिएँ तर सबैले राम्री र असल भन्थे।
यो सहरीया सभ्यता। उफ, यो सहरीया सभ्यता। त्यहाँ बाहिरबाट इन्जिनियरनी नामको सुकिलो खोल थियो र भित्र मैलो थियो। गन्दा थियो। र मैले कल्पना नगरेको नर्क थियो।

म कहाँ न्याय मागूँँ ? कसलाई पीडा सुनाऊँ ?

मेरो लोग्नेले सधैँ रक्सी खान थालेका थिए। सधैँ रात अबेर आउन थालेका थिए। हेला, अपमान मेरो नियति भइसकेको थियो।

मैले बाआमालाई सुनाएँः “बुवाआमा, मैले सधैँ रक्स्याहा लोग्नेको कुटाइ खानु पर्छ ?”

आमाले हतार हतार जवाफ दिनु भएको थियोः “सुरुसुरुमा तेरा बाउले पनि हाम्लाई कुटेकै हुन् क्यारे। अलिकति सहँनुपर्छ। दिन फिर्छन। त्यत्रो सम्पत्ति छ। छोरा छोरी छन्। मारे पाप पाले पुन्य भनेर दिएको हो। तैले ठूला मान्छेको कुरो नबुझेकी होस्”

बाबा बोल्नु भएको थिएन।

मेरी साथीको लोग्ने पनि इन्जिनियर थियो। साथीले मलाई भनेकी थिईः

“छोड्दे शर्मिला, यी इन्जिनियर भनेका घ्याम्पे हुन्छन्। काम पटाउन जे पनि गर्ने। काम भनेको पैसा आउने काम क्या। तँ पछि सिक्दै जान्छेस्”

दिन ८ः

र रक्सी खाँदा खाँदा मेरो लोग्ने झल्लु भइसकेका थिए। र एकदिन राति आफैँ गाडी हाँकेर आउदै गर्दा एक्सिडेन्टमा ठहरै मरे।

अब मेरा झन दुर्दिन सुरु भए। लोग्ने मारेको अभियोग ममाथि लाग्यो। घरबाट निकालिएँ। माइती पुगेँ। माइतीले आश्रय त दिए। केही समयपछि आमाबाको असामयिक निधन भयो। र भाउजू उफ भाउजू। भाउजूको अपमानको अगाडि म टिक्न सकिनँ।

सारा माइतीका समाज पनि मेरो बिरुद्धमा खनिए। मानौँ मैले ती सबैको तोरीबारी फाँडिदिएकी छु। मलाई अर्को बिहे गरि दिन पो तयार पारेछन्। मेरा छोरा छोरी अनाथालयमा सोर्स लगाएर राखिदिने र म एउटा चार छोराछोरीको बाउ लोग्ने मान्छेकी स्वास्नी बन्नु पर्ने।

उसका ४ जना छोराछोरी मैले स्याहार गर्नु पर्ने। तर ऊ मेरा सन्तान न व्योहोर्ने। जिन्दगिले मबाट मेरो पढाइ खोसेको थियो मैले कुनै उजुर गर्न पाइनँ। समयले मेरो १८ वर्षे जोवनमा मबाट जँड्याहा नै भए पनि लोग्ने खोस्यो मैले गुनासो गर्न पाइनँ।

आमाबाबु खोस्यो, मैले कसलाई भन्नु र ? र अहिले परिवेश र मेरो समाज मबाट मेरो मातृत्व खोस्न तयार थियो। मेरा छोरा छोरी अनाथालयमा पुर्याएर टुहुरो बनाउन र मलाई मातृत्वको पीडामा सधैँ सदाकाल धकेल्ने योजनामा थियो। र मैले अब विद्रोह गर्र्नु पथ्र्यो। किनकि म आमा थिएँ। मैले तिनलाई दस महिना गर्भमा राखेर जन्म दिएकी थिएँ। र मैले कराएरै भनेँः

“ए समाज, भो मलाई अब निगाह नगर। म अब तिम्रो नियम थेग्न सक्तिनँ। तिम्रो चलन तिमीसँगै राख, म मातृत्वविहीन हुन सक्तिनँ”
प्रधान बा पनि फतफताउँदै थिएः

“हाम्ले त तिम्रो भलो अर्न खोजेका हौँ क्यारे। अब तिमी नै मान्दिनौ भने क्याअर्नु त नि ?”

दिन ९ः

म ससाना छोराछोरी च्यापेर फेरि काठमाडौँ लागेँ। त्यहाँ मेरो सम्पर्क मेरा साथीहरु मिना, रुपासँग भेट भयो। उनीहरुको पीडा त झन डरलाग्दो रहेछ। लोग्नेले नै बम्बैमा बेचेको रहे छ। म बाध्य थिएँ। छोरा छोरीलाई पढाउने मातृत्व जागेर आयो। पढाइ बढाउने तृष्णा जागेर आयो। जागिर खोजिहिँडेँ।

आखिर सुनसान मानब जंगलमा जहाँ शेर बस्छन् र म शेरलाई काँचो मासु बेच्न बाध्य भएँ। आखिर म फेरि झमेल पुगेँ। फेरि ठमेल पुगेँ। र पछि त थाहा पाएँ कि हरेक सभ्य चोकहरुमा अड्डा खुलेका छन्। र यौन प्यासाहरु तथा खास गरेर पैसा भएका र श्रीमतीसँग असन्तुष्ट शेरहरु त्यस्ता घरेलु अड्डा आउँदा रहेछन्।

ती उमेरले पाका, पैसाले परिपूर्ण र समयले दिउँसोको समयमा आउने रहेछन्। मलाई यो सजिलो भयो। छोरा छोरीलाई स्कूल पुर्यायो र अड्डा गयो। काम सक्यो र छोराछोरीलाई स्कूलबाट लिँदै घर आयो।

दिन आजः

भाग्यले नै होला। कम्तिमा यति त भगवानले मेरो सुनिदिए। छोराछोरी यो सहरमा गरिखाने भएका छन्। चोहकी थिएँ, मेरो छोराले महिलालाई नहेपोस्। र छोरीले हेपिएको महसुस नगरोस्। तर उफ, छोरो त्यो सफा भनिएको गन्दा खोल ओडिरहेछ। छोरो पनि यही समाजको घमन्डी लोग्ने मान्छे भएछ। छोरोले आजै मलाई भन्योः

“लोग्नेले छोडेकी त्यो पल्ला घरकी उर्मिला त वेश्या पो भइछे”

र छोरीले आजै मलाई प्रश्न गरीः

“आमा, यो समाजमा महिला किन हेपिनु पर्ने ?”

र आज म आश्चर्यमा छु। ती लोग्नेमान्छे जो मलाई भोग्छन्। अनेकोँ विशेषण जोडेर भोग्छन् र बाहिर समाजमा गएर साखुल्ले हुन्छन् र वेश्या भन्छन्। पुरुष त पुरुष भयो। महिला पनि किन कुर्लन्छन् “वेश्या, वेश्या, वेश्या, वेश्या”। यसको उत्तर नपाएर अहिले पनि छट्पटिएकी छु। छोरा छोरीको प्रश्नले भने झन् मन नै गलित भएको छ। म कहाँ गएर विद्रोह गरूँ ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *