शिक्षा र सेवामा हरिचरण सिटौला (३)
विकासको गति रोकिएन
चुहानडाँडाका शिक्षा विकासका दुई हस्ती–हरिचरण र पद्मप्रसदाद विभिजित भए पनि चुहानडाँडामा विकासका गतिविधि रोकिएन। सुख्खा डाँडामा खानेपानीको व्यवस्था गर्ने योजना सम्पन्न भयो।
लक्ष्मीप्रसाद उप्रेती,पद्मप्रसाद,हरिचरण,जेलबाट छुटेका सूर्यप्रसाद कन्दङ्वा आदिको प्रमुख सकृयतामा खानेपानी योजना सम्पन्न भएको हो। आफू पनि खट्ने र आम उपभोक्तालाई पनि खटाउन सक्ने उनीहरुको नेतृत्वदायी क्षमता र व्यवहार अनुकरणीय थियो।
इलामदेखि नाला पाइप बोक्नुुपर्ने,तमोर नदीबाट बालुवा बोक्नुपर्ने,तीन फिट गहिरो पाइपलाइन खन्न्ुापर्ने ,साथै खानेपानी ट्यांकी खन्नुपर्ने जस्ता काममा जनसहभागिताको पाटोभित्र पर्दथ्यो।
कसैले पैसा दिएर जनसहभागिता जाहेर गरे,कसैले श्रम दिएर जनसहभागिता जाहेर गरे। विकासमा श्रम संस्कृति जाहेर गर्न सक्ने चुहानडाँडाबासी एकताका साथ अघि नबढ्ने त प्रश्नै उठ्दै उठ्दैनथ्यो।
वीरेन्द्र इन्टर कलेज तेह्रथुम बहुमुखी क्याम्पस भएर बौरियो।
शिक्षा, राजनीति, चेतना,जागरण र सङ्घर्षबाट डराएको पञ्चायती शासन सत्ताले विवेकहीन भएर जनताले त्यत्रो मेहनत र कष्ट गरेर खडा गरेको शिक्षण संस्था बन्द गरेको कुरा माथि भनिएको छ।
आश्चर्य यो छ कि तत्कालीन युवराजधिराज श्री ५ वीरेन्द्रको नाममा रहेको वीरेन्द्र नाममा रहेको वीरेन्द्र इन्टर कलेज बन्द गराएर पछि उनै वीरेन्दुुमहाराजाधिराज भएकै समयमा उनै वीरेन्द्रको नाम हटाएर कसरी तेह्रथुम बहुमुखी क्याम्पस नामकरण कुन शक्तिले गर्न सक्यो ? मलाई यो आश्चर्य लागेको छ।
जे होस्,दशकभन्दा लामो समयसम्म चलिसकेको वीरेन्द्र इन्टर कलेजले केही वर्ष मृत्युवरण गरेर पुनः तेह्रथुम बहुमुखी क्याम्पसको नाममा अवतारित हुन पाएर गरिबहरुलाई शिक्षाको उज्यालो दिन पायो। संस्थापक लगायत सबैलाई यसले पुनः खुशी दिएको हुनुपर्छ। वास्तवमा सबैलाई खुशी दियो।
नाति र छोरा चीफ सरबाट क्याम्पसको स्तरोन्नति
२०१७ सालमा स्थापित भएको वीरेन्द्र इन्टर कलेज २०३० साउन देखि २०३३ सालसम्म बन्द गराइएको थियो। अब ३४ सालदेखि तेह्रथुम बहुमुखी क्याम्पस नाम पाएर आएको छ।
तेह्रथुम बहुमुखी क्याम्पस भएपछि प्रथम क्याम्पस प्रमुख क्याम्पसप्रमुख निरञ्जन राजभण्डारी हुनुहुनुहुन्थ्यो भने त्यसपछि क्रमशःभद्ररत्न बज्रचार्य,मोहन सिटौला,वशन्तकाजी बुढाथोकी,थिरलाल शर्मा आदि पछि अनेक क्रम चलिरहेछ।
क्याम्पसप्रमुख परिवर्तन गर्ने क्रममा भद्ररत्न बज्रचार्यको अवधि सकिएपछि वीरेन्द्र इन्टर कलेज भवन निर्माणको प्रथम शिला राख्ने याने शिलान्यास गर्ने द्रोणचार सिटौलाका नाति उक्त कलेजका सक्रिय संस्थापक हरिचरण सिटौलाका जेठा छोरा,उक्त कलेजका प्रथम सत्रका विद्यार्थी एवम् पूर्व प्राध्यापक विद्वान साहित्यकार मोहन सिटौला क्याम्पसप्रमुखको जिम्मेवारी लिएर आउनुभयो।
वीरेन्द्र इन्टर कलेजका प्रथम सत्रका विद्यार्थी वीरेन्द्र इन्टर कलेजका प्राध्यापक मोहन सिटौला कलेज बन्द भएपछि पृथ्वीनारायण क्याम्पस पोखरामा स्थानान्तरण हुनुभएको थियो। हजुरबुबा द्रोणचार सिटौलाले शिलान्यास गरेको,बुबा आदिले स्थापना गरेको अनि आफू पूर्व विद्यार्थी एवं पूर्व प्राध्यापक भएको गाउँकै कलेजमा प्रमुख जिम्मेवारी पाउनु मोहन सिटौलाको लागि अवसर र चुनौती दुबै थियो।
तर उहाँले अवसरलाई रत्तिभर खेर जान दिनुभएन। उहाँले सकृय रुपमा कसरत गरेरै आई.ए. बाट तेह्रथुम बहुमुखी क्याम्पस बी.ए.सम्म उक्लियो। त्रि.वि.बाट बी.ए.सम्मको स्वीकृति प्राप्त गर्न उहाँ सफल हुनुभयो।
यसरी हजुर बुबाले शिलान्यास गरेको कलेज भवनमा बुबासमेतको नेतृत्व र सकृय सहभागिताबाट स्थापना गरिएको कलेजको इतिहासमा अर्को अध्याय थप्नुभयो -नाति,छोरा चीफ सरले। २००८ सालमा शारदा मिडिल स्कुल २०१३ सालमा शारदा हाइस्कुलको स्वीकृत लिने काम हरिचरण सिटौलाको नेतृत्वमा भयो। २०१७ सालमा वीरेन्द्र इन्टर कलेज को स्वीकृति लिने कामको नेतृत्व पद्मप्रसाद उप्रेतीले गर्नुभयो। त्यसरी नै २०४४ सालमा बी.ए.स्तरको स्वीकृति लिने काम मोहन सिटौलाको नेतृत्वमा भयो।
चुहानडाँडामा त्यसबेला हरिचरण सिटौलाका जेठा छोरा मोहन सिटौलाका मोहन सिटौला तेह्रथुम बहुमुखी क्याम्पसको क्याम्पसप्रमुख हुनुहुन्थ्यो। माइला छोरा शिव सिटौला पनि बुबाले स्थापना गरेको शारदा हाइस्कुल को प्रधानाध्यापक हुनुहुन्थ्यो।
पछि शिव सर याने हेढसरकै नेतृत्वमा शारदा मा.वि.शारदा उच्च मा.वि.मा स्तरवृद्धि भएको थियो। अर्को अन्तरे छोरो खगेन्द्र त्यही समयमा स्थानीय चुहानडाँडा गाउँ पञ्चायतको उपप्रधानपञ्च र तत्कालै तेह्रथुक जिल्ला पञ्चायतको उपसभापति र पछि २०४६ सालको परिवर्तनपछि जिल्ला विकास समितिको सभापतिमा निर्वाचित भएको भएको अवस्था हरिचरणको लागि निकै उत्साहपूर्ण समय थियो।
त्यही समयमा काठमाडौँमा रहेको ठाइँलो छोरो चैतन्यको व्यापार उद्योगमा राम्रो भएको अवस्था थियो। अर्को ठूलो कान्छो छोरो नगेन्द्र सिटौलाहरुकै प्रथम इन्जिनियर भएको पनि उहाँको लागि अर्को सुखद अवस्था थियो। झापामा साइँला छोरा रामले स्थापना गरेको बोर्डिङ स्कुलको प्रगति पनि राम्रो थियो।
पङ्तिकार ज्ञाननाथ सुवेदी सभापति भएर नेतृत्व गरेको जिल्ला पञ्चायत तेह्रथुमले क्याम्पसको बी.ए.सम्मको स्तरवृद्धिको लागि पचास हजार रुपियाँ हस्तान्तरण गर्न उपसभापतिको हैसियतमा क्याम्पस आएको थियो र क्याम्पस प्रमुख मोहन सिटौला काजमा काठमाडौँ गएको बेलामा निमित्त क्याम्पसप्रमुख वशन्तकाजी बुढाथोकीलाई हस्तान्तरण गरेको थियो। त्यसबेलाको पचास हजारले निकै मानिन्थ्यो।
राजनीति थिएन,सही नीति थियो
त्यसबेला स्कुल स्थापना गर्ने र सञ्चालन गर्ने काम साँच्चै कठिन थियो। सरकारी अनुदान हुन्नथ्यो या नाम मात्रको हुन्थ्यो। विद्यालय सञ्चालन खर्च तथा तलब आदिको स्रोत विद्यार्थीको शुल्क या चन्दा मात्र हुन्थ्यो। गाउँलेहरुसँग अहिलेको जस्तो आम्दानीको श्रोत हुँदैनथ्यो।
मुस्किलले छाक टार्न पुग्थ्यो,त्यो पनि थोरै परिवारलाई। त्यस्तो बेलामा विद्यालयमा छोराछोरी पढाउन झनै कठिन हुन्थ्यो। गाउँका अगुवाहरु नै धेरैजसो उनै व्याक्ति विद्यालय सञ्चालक समितिका सदस्य हुन्थे। प्रायाः हरिचरण तथा पद्मप्रसाद नभएको सञ्चालक समितिका सदस्य हुन्थे। प्रायः हरिचरण तथा पद्मप्रसाद नभएको सञ्चालक समिति हुँदै हुँदैनथ्यो।
यो सञ्चालक समितिले स्कुलको नयाँ शैक्षिक सत्र सुरु हुने पुसमाघमा हरेक वर्ष फिस निः शुल्कसम्बन्धी निवेदन माग्दथ्यो। निवेदनको आधारमा स्कूलमा पढ्ने नयाँपुराना विद्यार्थीको लागि फिस निःशुल्कसम्बन्धी नीतिनियम बनाउँथ्यो। विद्यार्थी पढाउने परिवारको संख्या,आर्थिक हैसियत,आम्दानीको स्रोत केलउँथ्यो।
अनि तथ्यमा आधारित न्यायपूर्ण निर्णय गथ्र्यो। कसलाई पूर्ण,अर्ध,वा चौथाई दिने वा नदिने,दिएको सहुलियत वा बढाउने सबै निस्पक्ष यथार्थमा आधारित हुन्थ्यो। कसैलाई गुनासो गर्ने ठाउँ नै हुँदैनथ्यो। अहिले जस्तो जे कुरामा पनि राजनीति आफ्नो नीति वा घुसनीति हुन्नथ्यो।
उच्चस्तरको निस्पक्षता र स्वच्छता हुन्थ्यो। विद्यालय मात्र होइन कि समाज सञ्चालनको विधि र नीति पनि यही सिद्धान्तमा आधारित थियो। हरिचरण,पद्मप्रसाद आदिद्वारा स्थापित विकसित निस्पक्षताको नीति अहिलेका पक्षपातीहरुले पच्छ्याउन सके धेरै कुरा सप्रन सक्ने थियो।
गाउँतिर कि अमेरिका तिर
गाउँतिर कि अमेरिकातिर भनेर अहिलेका पुस्तालाई सोध्यो भने एकै स्वरले अमेरिकातिर भन्ने जवाफ आउँछ। गाउँतिर कि सहरतिर वा राजधानीतिरको सवालमा पनि राजधानी सहरकै जवाफको पल्ला भारी हुन्छ। गाउँतिर भनेर राजधानी सहरको अवसर छोडेर अरुको लागि गाउँ फर्कने हरिचरणहरु लाई अहिलेको पुस्ताले के भनेर मूल्यांकन गर्ला ?
मानिस अब सम्भावना,अवसर र सुविधाको लागि सधैँ एकै ठाउँमा रहेन। कहाँदेखि कहाँसम्म पुग्यो। अहिले पनि घुम्दै छ,कुद्दै छ ज्ञान,सीप र अवसरको खोजीमा। गाउँको कुरै छोडौँ नेपालका सहर राजधानी पनि अहिलेका पुस्तालाई अपर्याप्त साँगुरो भएका छन्। त्यसैले उनीहरुलाई कुनै सीमाले छेक्न सकेन,भावनाले मात्रै बाँध्न सकेन।
लाग्छ हरिचरणहरुको उद्देश्य पनि शिक्षामार्फत ज्ञानको पखेटा लिएर गाउँका युवाहरु पनि संसारभर फटफटाउन सक्ने हैसियतका बनून भन्ने नै होला। सबै गाउँमै थुप्रिरहुन्,सम्भावनाका खोज गर्न देशविदेशै नगरुन् भन्ने होइन।
हरिचरणहरुको सन्देश यत्ति हो- जहाँ बसे पनि आफूलाई सुसंस्कृत र शिक्षित बनाऊ,गरिखाने योग्य सक्षम बनाऊ। आफ्नो लागि मात्र होइन,अरुको लागि केही सोच केही गर। पुर्खाका राम्रा पदचिन्ह पछ्याउँदै जाऊ।
स्वयम् हरिचरणकै परिवारका सदस्यहरु दुई दर्जन जति अमेरिका र युरोपमा छन्। द्रोणचारका सन्तान जोड्यो भने अरु दर्जन बढी पुग्लान्। कुस्माखरका सन्तान त झन कति हो कति ? विवाद कतातिर प्रमुख होइन आफूतिर मात्रै कि समाजतिर पनि।
समाजतिर पनि भन्ने जवाफ व्यवहारले दियो भने जहाँ बसे पनि हरिचरणहरुको बाटोलाई पछ्याएको र श्रद्धा प्रकट गरेको ठहर्छ। तर पनि मूल सत्य भने के हो भने हरिचरणको पहिलो प्राथमिकता गाउँ नै हो आफू जन्मेको हुर्केको ठाउँ नै हो।
जीवित पुराना पुस्तासँग विकासका नयाँ पुस्ता
चुहानडाँडाको धुले स्कुलदेखि अहिलेको क्याम्पससम्म आइपुग्दा पनि अविछिन्न रुपमा शिक्षा र विकासका हरेक कार्यमा जोडिएर आउनु भएका हरिचरण सिटौला र पद्मप्रसाद उप्रेतीका सहयात्री लक्ष्मीप्रसाद उप्रेतीले भने वाहाँहरुको अनुपस्थिति वा देहवसान पछि पनि लामो समससम्म पनि चुहानडाँडामा शिक्षा लगायत अन्य विकासमा सकृय सहभागिताको साथ छाहारी भएर नेतृत्व दिइरहनु भएको थियो।
नब्बे वशन्त पार गर्नुभएका लक्ष्मीप्रसाद उप्रेतीकै उत्साहपूर्ण साेच,अठोट र नेतृत्वले जनपरिचालन र श्रम परिचालन गरेर तमोरनदीदेखि चुहानडाँडासम्म कच्ची मोटरबाटो खनिएको थियो।
यही बाटो तीस वर्ष अगाडि नै खन्न यो लेखक तेह्रथुमको जिविस सभापति भएको बेलामा कामको लागि खाद्यान्न कार्यक्रमबाट खनाउन सकिन्छ जिविसको सिफारिसमा भन्नुभएको थियो -उहाँकै छोरा डा. वेदप्रकाश उप्रेतीले। तर जिविसबाट प्राविधिक कारणले त्यो सिफारिस गर्न सकिएन।
नत्र यो बाटो अझ अघि नै बन्थ्यो होला। जे भए नि उहाँहरु तात्नुभयो,अरुलाई पनि तताउनु भयो,तान्नुभयो र बाटो अगाडि बढाउनुभयो। अहिले यो बाटो पुष्पलाल मध्यपहाडी लोकमार्ग को अंश भएर फराकिलो र पिचसमेत भएको छ। सतक निकट लक्ष्मीप्रसाद उप्रेतीले उमेरको पर्वाह नगरी आफूलाई निरास हुन नदिई युवा पुस्तालाई हौसला र नेतृत्व दिदै सतक आसपासमा उहाँ पनि स्वर्गबासमा जानुभयो।
हरिचरण,पद्मप्रसाद लगायत अन्य गन्यमान्य सबैको पहलमा लामो समयदेखि चुहानडाँडाको थुम्किीमा हवाईमैदानको माग भइरहेकोमा ती सबै मध्ये त्यो पुस्ताको एकमात्र जीवित लक्ष्मीप्रसाद उप्रेतीले भने सबैको प्रतिनिधित्व गर्दै हवाईमैदानको योजना अधि बढेको समाचार सुनर स्वर्गबास हुनुभयो। वाहाँको पनि थुम्किको हवाईमैदानबाट काठमाडोैँ चढेर जाने र आउने सपना भने पुरा हुन सकेन।
बाइस वर्षे युवाहरु भावी पिढीका आदर्शहरु !
तेह्रथुम आठराई चुहानडाँडामा जन्मिएका तथा त्यही क्षेत्रको शिक्षा,चेतना,राजनीति र विकासमा योगदान पु¥याउने करिब दशक फरकका तत्कालीन तीन युवाको बाइस वभर्म उमेरको अनौठो संयोग रहेछ। १९७८ सालमा जन्मनु भएका हरिचरण सिटौला काठमाडँ(नेपाल) बाट गाउँमा विद्यालय स्थापना गर्ने अठोट लिएर फर्कँदा उहाँ बाइस वर्षका हुनहुन्थ्यो।
उहाँका अर्का सहकर्मी उहाँ भन्दा नौ कान्छा १९८७ सालमा जन्मनु भएका पद्मप्रसाद उप्रेती चुहानडाँडाको शिक्षा विकासमा २००९ सालदेखि सकृय हुनुहुँदा उहाँ पनि बाइस वर्षको नै हुनुहुन्थ्यो। त्यस्तै पद्मप्रसाद भन्दा नौ वर्ष कान्छा सूर्यप्रसाद कन्दङ्वा पनि वीरेन्द्र इन्टर कलेज सञ्चालक समितिको सेक्रेटरी अर्थात सचिव हुँदा बाइस वर्षकै हुनुहुँदो रहेछ। यो पनि एउटा संयोग हो,करिब एक देखि दुई दशक फरक उमेरका युवाहरु आ-आफ्नो युवा कालमा बाइस वर्षमानै सामाजिक दाइत्व बहन गर्दै समाजलाई नेतृत्व गरेर स्थापित हुन पुग्छन्।
खैरे,रागेमाले,दार्मु,चुल्ठे र मुनेहरु
हरिचरण सिटौला कुकुरका त्यति सौखिन नभउ पनि अक्सर उहाँको घरमा कुकुर पालिएको हुन्थ्यो। एउटा नामी र असल खैरे नाम राखिएको कुकुर थियो – उहाँको घरमा। तेह्र वषै बाँचेर मर्यो। दिउँसो चनाखो हुने तर नभुक्ने र नटोक्ने तर राती कसैलाई ठिम्किन नदिने।
एकदिन कसैले घिउ र मासुको पोको घरभन्दा केही परको दोकान दोकानडाँडाममा बिर्सिएछ। मान्छे लिन नआएसम्म खैरे रुँगेर बसेछ। पोको जिम्मा लगाएर मात्रै खैरे घरमा आएछ। खैरे उहाँको प्रिय साथी थियो।
उहाँको थियो- नयाँ नेपालको सपना
अहिले सबै नेता र छापाहरुले दोहर्याइरहेको नयाँ नेपालको सपना हरिचरणकै थियो। उहाँको नयाँ नेपालको सर्त हो -हरेक क्षेत्रमा जनताको उत्साह,राम्रो संगठन र विकासको लागि एकता। उ
हाँले २०४१ साल अर्थात् निर्दलकालमै उत्साहले भरिएका जनताको राम्रो संगठन विकास र परिवर्तनका लागि अघि बढे नयाँ नेपाल टाढा छैन भन्नुभयो। जनसंगठन र जनसेवा ठूलो सम्पत्ति र ठूलो कार्य ठान्नुभयो। विकासका लागि अग्रगामी सोँच उत्साही जनताको संगठनलाई उहाँले ठूलो धन मान्नुभयो। कुसङ्गठन र कुविचार नयाँ नेपालको आधार हुँदैन भन्ने उहाँको विचारको सार हो। उक्त विचार भारद्वाज द्वैमासिक,वर्ष १ अंक ६, २०४१ मा अभिव्यक्त भएको छ।
कवि लेखनाथको अचार
हरिचरण सिटौला साहित्याअनुरागी व्याक्ति हुनुहुन्थ्यो। उहाँ भानुभक्त आचार्य,मोतिराम भट्ट,लेखनाथ पौडेल,बालकृष्ण सम,लक्ष्मीप्रसाद देवकोटा,महानन्द सापकोटा,भीमनिधि तिवारी,धरणीधर कोइराला आदि साहित्यकारबारे राम्रो जानकार हुनुहुन्थ्यो।
ती साहित्यकार र उनीहरुका कृतिबारे उहाँ प्रायःचर्चा गरिरहनुहुन्थ्यो। कविशिरोमणि लेखनाथको बुद्धिविनोद का पङ्क्ति र धरणीधरका उद्योग ,भानुभक्तको रामायण आदि कविता काव्यका पङ्क्ति आदि विभिन्न प्रसङ्गमा उद्धृत गर्नुहुन्थ्यो। धर्मराज थापा उहाँलाई औधि मनपर्ने गायक थिए।
करफोक साहित्य सम्मेलनमा हो क्यार ! लेखनाथको भाषणको चर्चा गर्नहुन्थ्यो। लेखनाथको भाषण गर्ने पालो अन्तिममा थियो रे ! उहाँले भन्नुभयो रे-दाल,भात,तिहुन,तरकारी त अगाडिका वक्ताहरुले पस्किसक्नुभयो म ती कुरा थप्दिन,म तपाईहरुलाई अचार थप्छु। कसैलाई बढी पिरो होला कसैलाई बढी अमिलो पनि होला। तर साहित्यको अचार जहिल्यै स्वादिलो हुन्छ भन्दा हल ताली र हाँसोले गुञ्जिएको थियो रे।
ज्योतिषको मनोविज्ञान र बाह्र वर्ष
हरिचरण सिटौला युवा अवस्था हुदा नै उहाँको दाइ पर्ने ज्योतिष मन्तरे सिटौलाले उहाँको चिना हेर्नुभएको रहेछ। उहाँले ग्रहदशाको स्थान,पालो,असरको विश्लेषण गर्दै –भाइ साठी वर्ष पुगेपछि कुनै नराम्रो ग्रह (सायद शनि,राहु या सङ्कटा)को पालो आउँछ। साठी वर्षमा त्यसले बिराम सुरु गराउँछ। त्यसको पालो बाह्र वर्षसम्म छ।
बाह्र वर्ष अर्थात बहत्तर वषृ पुगेपछि भाइलाई संसारबाट मुक्त गराएपछि मात्र त्यस ग्रहको पालो सकिन्छ। बहत्तर वर्षको खड्को साह्रै ठूलो छ। भनेका रहेछन्। नभन्दै उहाँ साठी वर्ष पुगेपछि झनभनाउने रोग रुरु भयो। त्योभन्दा अगाडि उहाँलाई कुनै रोग बिराम भएको थाहा थिएन।
हात झनझनाउने रोग क्रमश बढ्दै गयो। ठुलठूला अस्पतालमा लगेर उपचार गरियो निको भएन,बरु झनझन बढ्दै गयो। अब उहाँ मन्तरे दाइ सम्झन थाल्नुभयो। ज्योतिषले दिएको साटाी वर्षको समयसीमा मिल्यो र बहत्तर वर्ष पनि मिल्छ भन्ने मनोविज्ञानले जित्दै लग्यो। सायद तनसँगै मन पनि गल्दै गयो कि ? सकृय जीवनको अर्को नाम -हरिचरणको।
सकृय जीवन आत्मीय मरण
बाइस वर्षको उमेरदेखि सर्वाजनिक एव सामाजिक जीवज सुरु गर्नुभएको हरिचरण सिटौला अटुट रुपमा लगातार आधा शताब्दी याने पचास वर्षसम्म सक्रिय भएर बहत्तर वर्षको उमेरममा विदा हुनुभयो,यो लोकबाट–ठ्याक्कै ! ज्योतिषले तोकेको उमेरमा। उहाँले आफ्नो उर्जावान् सकृय जीवन समाज र राष्ट्रको लागि चढाउनुभयो।
उहाँ त्यसैमा रमाउनुभयो त्यसैमा हराउनुभयो। बहत्तर वर्ष आफ्नो मृत्यु वर्षको आभाषबाट गलेको तनमनले दिएर हो कि ? उपचार तथा भेटघाट आदिमा झापा जान अनिच्छा गर्नुभयो।
सायद बाउबाजे अर्थात् पुर्खा याने कुस्माखरले सिर्जेको सम्पूर्ण सिटौलाको मुलघरमा तथा आफ्नो सामाजिक ,शैक्षिक पौरख र गौरव चुहानडाँडामा नै आफ्नो प्राण जाओस् भन्ने भावना पनि होला। साथै उपचारले पार लाग्दैन भन्ने जोतिष मनोविज्ञानले पनि होला। तर पछि सम्झाइ बुझाइ गरेपछि झापा जान तयार हुनुभयो र लगियो।
जीवनको अन्तिम बेलामा कुनै बिरामीले परिवार तथा अन्य इष्टमित्रसँग यति आत्मीय व्यवहार सायद कसैले देखाएको होस्। चेहराले,आँखाले,शरीरले,हाउभाउ सबैले अन्तरहृदयको माया दिन्थ्यो। आत्मीयताको साथ एक अभिभावक,शिक्षा क्षेत्रको अभिभावक,समाजका भरपर्दा साथी सदाका लागि बिदा हनुभयो।
शिक्षाका लागि जीवनभर समर्पित भएर लाग्नुभएका हरिचरण सिटौला शिक्षासँग सम्बन्धित सरस्वतीपूजाको प्रातकालीन समयमा सरस्वतीको पूजा हुँदै गर्दा आफ्नै शिक्षाको मन्दिर बालकल्याण बोर्डिङ स्कुल-घर मा प्राण विसर्जन गरेर बिदा हुनुभयो। शिक्षालयदेखि शिक्षालयमा नै गइ बिलिन हुनुभयो। त्यसमा पनि सरस्वती कै काखमा बिलिन हुनुभयो। सबै भलादमीहरु यिनै र यस्तै शब्दका साथ श्रदाञ्जली दिइरहेका हुन्थे।
माथि खाम्लालुङ महभीर जुरेडाँडो उस्तै छ। तमोर नदी उसरी नै बग्दैछ। मान्छे र बस्तीहरु बदलिदै छन्। पुस्ता पिढिहरु बन्दै अनि बढ्दै इतिहास निर्माण गर्दै छन् ।साथै कन्काई नदीको किनारमा हरिचरण सिटौलाको भौतिक उपस्थिति आगोसँग खरानी भएको यतिका वर्ष पनि बितिसकेका छन्।
तर फेरिपनि हरिचरणहरु ःआपूm मिटाइ अरुलाई दिनेहरु … का गीत गाउँदै तमोर बग्दै छ कन्काई बग्दैछ,उहाँसँग निकट भएको चारपानेको सानो घाग्रा पनि बग्दै छ। जसलाई उपरको पाथीभरा देवीको डाँडा र कञ्चनजङ्घाले हेरिरहेको छ,हरिचरणको चुहानडाँडालाई। अनि त्यसरी नै सल्लो सुसाइरहन्छ गीतमा–हरिचरणहरुको सुकिर्तिको स्मृतिमा।
यो पनि
Facebook Comment