षड्यन्त्रले भरिएको नेपालको राजनीतिक इतिहास-भाग ३

वीरशमशेरदेखि चन्द्रशमशेरसम्म

कपिल लोहनी
१२ साउन २०८१ ८:३३

१०४ वर्षको राणाशासनमा ३ पुस्ताले नेपालमा राज्य गरेका थिए। पहिलो पुस्तामा जंगबहादुरका ७ भाइले, दोस्रो पुस्तामा वीरशमशेरका १७ भाइले र तेस्रो पुस्तामा शमशेर दाजुभाइका छोराभतिजाले। यी मध्ये पहिलो पुस्ताका जंगबहादुर र रणोद्दिपसिंहले श्री ३ महाराज भएर शासन चलाए।

बीचमा बमबहादुर र कृष्णबहादुरले छोटो समयको निम्ति नेपालका प्रधानमन्त्री हुने अवसर पाएका थिए। दोस्रो पुस्ताका वीरशमशेर, देवशमशेर, चन्द्रशमशेर, भीमशमशेर र जुद्धशमशेर तथा तेस्रो पुस्ताका पद्मशमशेर र मोहनशमशेर श्री ३ महाराज भए।

पहिलो र दोस्रो पुस्ताको शासनको शुरुवात भयानक खुनखराबाबाट शुरु भयो। पहिलो पुस्ताका जंगबहादुरले त्यतिबेलाका थापा, पाँडे, बस्नेत, शाह र अन्य भारदार र गुरुज्यू-पुरोहित तथा सनकी राजा र युवराज र महारानीहरूको एकापसको खिचातानी र सत्ताको निम्ति भइरहेका षड्यन्त्र, हत्या र हिंसाको फाइदा उठाएर आफ्ना भाइहरूको मद्दतले सन् १८४६ मा कोतपर्व र भण्डारखाल पर्व रची ठूलो रक्तपात बीच नेपालको सत्ता आफ्नो कब्जामा पारेका थिए।

त्यस्तै दोस्रो पुस्ताका वीरशमशेर र उनका भाइहरूले जंगबहादुरका छोरा जगतजंग र उनका भाइहरू तथा छोरामा सत्ता नगई आफूहरू पट्टि आओस् भन्ने हेतुले कोतपर्वको ३९ वर्षपछि सन् १८८५ मा आफ्नै ठाइँला बुवा श्री ३ रणोद्दिपसिंहको र जंगबहादुरका जेठा छोरा जगतजंग र नाति युद्धप्रतापजंगको विभन्स हत्या गरेर नेपालको सत्ता आफ्नो हातमा पारेका थिए।

जंगबहादुरका छोराहरू पद्मजंग, रणवीरजंग, भूपेन्द्रजंग, डम्बरजंग र ललितजंग तथा साहिँला बुवा बद्रीनरसिंहका छोराहरू केदार नरसिंह र ध्वजनरसिंह लैनचौरस्थित वृटिश रेजिडेन्सीमा शरण लिन पुगेकाले ज्यान जोगाउन सफल भएका थिए।

धीर शमशेरका विभिन्न पत्नीहरूबाट १७ जना छोराहरूको जन्म भएको थियो। वीरशमशेर चन्द्रकुमारीको कोखबाट जन्मेका थिए भने खड्गशमशेर, देवशमशेर, चन्द्रशमशेर र भीमशमशेर नन्दकुमारीको र जुद्धशमशेर भारतको पञ्जावकी जुहारकुमारीको कोखबाट।

यसरी दाजुभाइ भएर पनि सौतेनी नातो पर्ने भएकोले होला यी १७ दाजुभाइमा एकअर्कामाथि विश्वास हुँदैनथ्यो। वीरशमशेरको शासनकालदेखि आफ्नै भाइभतिजाहरू बीच शंका-उपशंकाका कारण उत्पन्न षड्यन्त्रहरूले गर्दा बेला बेलामा ठूला उथल पुथल भइरहे। राजदरवारबाट कुनै पनि राजनीतिक कदम नचलियोस् भन्नका लागि राजा पृथ्वीवीर विक्रम र पछि त्रिभुवनलाई पनि शैशवावस्थादेखि नै मोजमज्जामा भुलाएर राखिएको थियो।

वीरशमशेरका माहिला भाइ खड्गशमशेरसँग वीरशमशेर सधैँ सशंकित रहने गर्दथे। किनकी खड्गले नै रणोद्दिपलाई उल्टाएर बुवा धीरलाई प्रधानमन्त्री बनाउने कल्पना गरेका थिए भने पछि उनैको योजना वमोजिम रणोद्दिपको हत्या उनकै हातबाट भएको थियो।

त्यतिबेला बिजुली गारतलाई साम्य बनाउन र वृटिश रेजिडेन्सीमा शरण लिन पुगेकाहरूलाई नयाँ श्री ३ सँग भेटाएर भारत निर्वासनमा पठाउन पनि उनको ठूलो भूमिका रहेको थियो। उनका यिनै खुबी र बहादुरी देखेर वीरशमशेर आफू श्री ३ बनेपछि पनि खड्गशमशेरसँग सधैँ तर्सिएर बस्ने गर्दथे।

उनी यतिसम्म डरपोक र शंकालु थिए कि कतै राति सुतिरहेको बेलामा आएर भाइहरूले मार्लान् भनेर रातमा दुई-तीन पटक कोठा सरेर सुत्ने गर्दथे। आखिर शंकै शंकामा वीरले भाइ खड्गलाई कमाण्डर इन चीफको पदबाट पदच्यूत गरेर शुरुमा पाल्पा गौँडा नजिकको ठाडामा पठाए र पछि पाल्पाका कमाण्डर इन चीफ बनाएर उतै खदेडी दिए।

खड्ग वाहेक शंकै शंकामा वीरले सिँजापति र थापा परिवार लगायत अन्य धेरैलाई कार्वाही गरे। त्यतिबेला मनोरञ्जनको साधनको सिमितताले गर्दा बहुविवाह गर्ने, सुसारेको नाममा सुकुमार नानीहरू राख्ने, जुवा खेल्ने तथा रक्सी र गाँजा-भाङ-धतुरो खाने तथा शिकार खेल्ने चलन निकै चलेकोले राणाशासकहरू यस्ता आदतमा चुर्लुम्मै डुबेका थिए।

जंगबहादुरका दुई दर्जन जायज पत्नीहरू थिए। त्यस्तै उनका भाइभतिजाहरूको पनि त्यस्तै आदत थियो। बेलायत भ्रमण पश्चात् विदेशी रक्सी खान सिकेका जंग र अन्य राणा भाइभारदारको निम्ति बेलायतबाट ठूलो परिमाणमा स्कच ह्विस्की नेपाल भित्रिने गरेको थियो। त्यस्तै पश्चिमा शैलीका आधुनिक दरवारहरूको निर्माण वीरशमशेर प्रधानमन्त्री भएर समृद्धि आएपछि शुरु भएको हो।

पृथ्वीनारायण शाह जस्ता नेपाल एकिकरण गर्ने प्रतापी राजाले स्थानीय च्यूरा, मासु, भात र टुकी बालेर कोदोको रक्सी तथा स्थानीय सितन खाने तथा गाउँमा नै बुनेका कपडा र स्थानीय दमाइले सिलाएका लुगा तथा गाउँका सार्कीले सिलाएका जुत्ता लगाएर पैदल हिँडेर र घोडामार्फत यति ठूलो मुलुकको सिर्जना निकै दुखका साथ गरे भने उनि पछिका शासकले सुखसयलको जीवन व्यतित गर्न पाए।

वास्तवमा आजका आम नेपालीको जति सुखमय जीवन पनि थिएन राजा पृथ्वीनारायणको। तैपनि उनैले बनाएको मुलुकमा बसेर आफूलाई नेपाली भन्दै उनैको खेदो खन्नेहरू थुप्रै छन् हिजोआज।

वीरशमशेरले १५ वर्ष ८ महिनाको शासनकालमा धेरै आर्थिक तथा सामाजिक विकास कार्यहरूको थालनी गरे। दरवार स्कूललाई थापाथलीबाट बाहिर ल्याएर पब्लिक स्कूलको रूपमा चलाउन, वीर अस्पताल बनाउन, हुलाक टिकट प्रकाशन गर्न, वीर पुस्तकालयको स्थापना गर्न र घण्टाघर बनाउन, शहरमा वीर धारामार्फत खानेपानी बाँड्न, शहर सफा राख्न भूमिगत ढलहरूको निर्माण गर्न, मुलुकलाई ३२ प्रशासनिक जिल्लाहरूमा विभाजन गर्न, राम्रो काम गर्नेलाई ‘गोरखा दक्षिणबाहु’ पदक दिन तथा अन्य कार्यको निम्ति ठूलो योगदान पु¥याए। त्यस्तै राजधानी आउँदा सिमा पार गर्ने वित्तिकै बास बस्न र व्यवसायको केन्द्र बनाउन हालको विशाल शहर वीरगञ्जमा बस्ती बसाए।

त्यतिबेला आज जस्तो आधारभूत स्वस्थ्योपचारको राम्रो व्यवस्था नभएकोले साँझ परेपछि रक्सीमा डुब्ने वीरको एकदिन उच्च रक्तचापका कारण मृत्यु भयो। उच्च रक्तचापका साधारण औषधि र रगत पातलो पार्ने एस्पिरिन सेवन गर्ने चलन समेत नभएको त्यो बेलामा उनलाई मस्तिष्कमा रक्तश्राव हुँदा त्यतिबेलाको उपचार प्रणालीले बचाउन सकेन। उनका बुवा धीरशमशेरले कालिजको मासु खाँदा तिखो हाड घाँटीमा अड्केर मधुमेहका विरामी भएका कारणले सो घाउ निको नभएर मृत्यु भएको थियो।

वीरशमशेर पछि नेपालको राज्यसत्ता देवशमशेरमा सर्‍यो। जंगबहादुरका छोराहरूसँग बढ्ता मित्रता भएकोले देवशमशेरको धाक, रवाफ अन्य शमशेर दाजुभाइको भन्दा बढी थियो। सुरा र सुन्दरीसँग झुम्न माहिर देव उदार र खुशमिजास प्रकृतिका थिए। उनले जम्मा ११४ दिन मात्र श्री ३ महाराज भएर शासन गर्ने मौका पाए।

वीरशमशेरको लालदरवार र सेतो दरवारमा करिव १,२०० जना जति तालिमे (सुसारे) नानीहरू उनको सेवामा राखिएका थिए। वीरको मृत्यु पश्चात् उनका जेठा छोरा गेहेन्द्रशमशेरले ती नानीहरूलाई आफ्नो मातहतमा राखेपछि नयाँ प्रधानमन्त्री देवशमशेर निकै रुष्ट भएर तिनलाई आफ्नै दरवारमा फिर्ता गर्न लगाएको कुरा इतिहासमा पढ्न पाइन्छ। देवशमशेरको पतन हुनुमा यस्तै स्त्रीलम्पटपना पनि एक प्रमुख कारण बन्न गयो।

वीरशमशेरको शासनकालदेखि नै गुप्तचर विभाग र प्रहरीको जिम्मा पाएका गेहेन्द्रशमशेर त्यतिबेला निकै शक्तिशाली थिए। उनि नेपालका प्रथम वैज्ञानिक पनि थिए र ‘वीरगज’ नामक अति शक्तिशाली तोप पनि बनाएका थिए तर अति नै धेरै मदिरा सेवन गर्दथे आफ्ना भाइ रुद्रशमशेर र राजा पृथ्वीवीर विक्रमसँग बसेर।

देवशमशेरले लागु गर्न खोजेका प्रजातान्त्रिक र अन्य सुधारका कदमहरू बारे गेहेन्द्रशमशेरसँग सल्लाह गर्ने गर्दथे। देवले भ्रष्टाचार र अन्याय विरुद्ध जनताले उजुरी हाल्न सकुन् भनेर काठमाडौँ उपत्यकामा उजुरी बाकस राख्ने वन्दोवस्त गरेका थिए।

जंगबहादुरले यूरोप भ्रमण पश्चात् शुरु गरेको लेडिज कोर्टलाई देवले पुनः शुरु गरेका थिए। गोरखापत्रको शूरुवात पनि उनैले गरेका थिए जंगबहादुरले बेलायतबाट ल्याएको गिद्दे प्रेस मार्पmत। त्यस्तै काठमाडौँमा महिलाहरूले पनि विद्यालयमा गएर शिक्षा प्राप्त गर्न सकुन् भनेर कन्या विद्यालयहरू खोल्न लगाए।

अर्कोतिर भाइभारदारलाई चिढाउने र आफू श्री ३ भएको उपलक्ष्यमा आयोजित कैयन् सिन्दुरे जात्राहरूमा भाइहरूलाई छाता बोक्न र पङ्खा हम्कन समेत लगाए।
यसरी राणाशासनलाई नै संकटमा पार्ने सुधारहरू ल्याउनुका साथै उदारवादी प्रजातान्त्रिक संरचनाको विकास गर्दै गएको र दुनियाको अगाडि भाइभतिजाहरूको मानहानी गरेको अभियोगमा भित्र भित्रै देवशमशेर विरुद्ध चन्द्रशमशेरको नेतृत्वमा भाइ फत्यशमशेर, भीमशमशेर, जीतशमशेर, जुद्धशमशेर र भतिजा गेहेन्द्रशमशेर लगायत परिवर्तन विरोधी शक्तिहरू उनलाई पदच्यूत गर्ने गोप्य भेटघाटमा व्यस्त हुन थाले।

आखिर रानीपोखरीस्थित पब्लिक स्कूलको एक समारोहमा सरिक भएर फर्कने क्रममा सेतो दरवारमा गेहेन्द्रशमशेर र उनका भाई तेजशमशेरको अंशवण्डाको विवाद मिलाइ दिन त्यहाँ पुगेका देवशमशेरलाई सेतो दरवारको छिँडीमा गेहेन्द्रशमशेरले नै धक्का हानेर ‘अर्काको छोरी, बहिनी, सुसारेमाथि आँखा लगाउनेको यस्तै गति हुन्छ’ भनेर त्यहीँ थुने।

चन्द्रशमशेरले ‘महाराजको शासन गर्ने शैली ठीक नभएकोले हामी सबै भाइभतिजा भएर अहिले नै महाराजलाई धनकुटा पठाउँदै छौँ’ भनेर उनलाई राजिनामा लेखाई अघिल्ला रक्तपातपूर्ण षड्यन्त्रहरू भन्दा पृथक तवरले आफ्नो हातमा सत्ता लिन सफल भए। चन्द्रशमशेर २८ वर्ष ५ महिनासम्म नेपालका श्री ३ महाराज र प्रधानमन्त्री बनेर भीमसेन थापा पछि आजसम्मै सबैभन्दा बढी समय प्रधानमन्त्री बन्ने व्यक्ति हुन पुगे।

धीर शमशेरका छोराहरू मध्ये सबैभन्दा चतुर र पढेलेखेका तथा कुटनीतिका माहिर यिनै चन्द्रशमशेर थिए। सानै देखि विरामी चन्द्रलाई पछि क्षयरोग पनि लागेको थियो। त्यसैले उनि मादक पदार्थको सेवन गर्दैनथे र उनमा अन्य दाजुभाइमा जस्तो स्त्रीसम्सर्गमा पनि त्यति चाख थिएन।

वीर शमशेरलाई सत्तामा पु¥याउन अहम् भूमिका खेल्ने आफ्नै सहोदर दाजु खड्गको विरोधमा वीरलाई भड्काउने र डर पैदा गर्ने सुलसुले यिनै चन्द्रशमशेर थिए भने देवको सत्ताच्यूत गर्न अहम् भूमिका खेल्ने आफ्नै बुद्धिमान भतिजा गेहेन्द्रशमशेरलाई विष खुवाइ मार्ने पनि यिनै थिए।

यस्ता साहसी व्यक्तिहरूले आफ्नो समेत पतन गराउन सक्ने कुराले उनि सधैं सशंकितरहन्थे। श्री ३ हुने वित्तिकै चन्द्रले आफूलाई मद्दत गरेका भाइभतिजाहरूलाई समेत लाखापाखा लगाएर महत्वपूर्ण पदहरू आफ्ना छोराहरू र नजिकका विश्वासपात्रहरूलाई दिए।

आफू प्रधानमन्त्री भए पछि पनि पाल्पा गौँडा सम्हालेर बसेका दाजु खड्गशमशेरलाई आफू दिल्ली भ्रमणमा जाँदा होच्याएपछि खड्ग र चन्द्रको बीच पुनः झगडा बढ्न थाल्यो। चन्द्रले खड्गलाई कमजोर बनाउन उनको मातहतमा भएको सबुज गणलाई बदली गरी आफ्ना विश्वासिला सैनिकहरू पाल्पा पठाएपछि खड्ग भारत पलायन हुन वाध्य भए र उतै उनको निधन भयो।

धनकुटाबाट भारत पुगेका देवशमशेरले नेपाल आइ चन्द्रशमशेरको विरोधमा सैनिक कार्वाही गर्न खोजेको कुरामा पनि वृटिशहरूले उनलाई कुनै सहयोग नगरी चन्द्रशमशेर कै समर्थन गरेका थिए। युवावस्थामा भारतको कलकत्तामा म्याट्रिक उत्तिर्ण भएका चन्द्र अङ्ग्रेजी राम्रैसँग बोल्न सक्दथे भने कानुन बारे पनि ज्ञान राख्दथे।

यसैकारण वीर र वृटिश रेजिडेन्ट तथा अन्य उच्च पदस्थ वृटिश पाहुनाहरूसँगको भेटघाटमा उनि दोभासे तथा सल्लाहकारको रूपमा सधैँ सरिक हुने मौका पाउँथे।
आफू प्रधानमन्त्री भएको २ वर्षपछि वि.सं. १९६० फागुनमा सिंहदरवार बनाएर चन्द्रशमशेर थापाथलीबाट त्यहाँ सरे।

जंगबहादुरले काठमाडौँमा नै रहेको बेला शिकार खेल्न बनाएका हालको लेले क्षेत्रमा रहेको छरियाको जंगल पुरै कटाएर सिंहदरवारको निम्ति काठको जोहो गरिएको थियो भने त्यहाँको जमीन पनि हिनामिना गरे।

नेपालको तराइको वन फँडानी गरेर भारतमा काठ बेच्दै र खाली जमीन बेचेर र आफ्नो स्वामित्वमा राखेर राणाहरूले धन आर्जन गर्न थालेको पनि चन्द्रशमशेर कै पालादेखि हो।

सिंहदरवार बनाउँदा त्यहाँ विभिन्न प्रकारका मजदूरीमा सेना, प्रहरी, पिपा, कैदी तथा अन्य व्यक्तिलाई लगाएर खानपिनमा मात्र रकम खर्च गरे भने अन्य फलाम, जस्ता-पाता आदि तथा सजावटका सामान भारत र बेलायतबाट मगाए। एक अनुमान अनुसार ५० लाख रुपैयाँ जतिमा सिंहदरवार बनेर तयार भएको थियो आजभन्दा १२० वर्ष अघि।

चन्द्र ज्यादै कम बोल्ने र घुसघुसे स्वभावका भएकाले उनको षड्यन्त्र बुझिनसक्नुको हुन्थ्यो। उनले आफ्नै भाइभतिजा र व्यापारीहरूलाई विभिन्न काण्डमा फँसाएर सर्वश्वहरण गरेर तिनका सबै सम्पत्ति आफ्नो नाममा गर्ने गर्दथे।

त्यसैले त्यतिबेला धेरै व्यापारी (खासगरी नेवार व्यापारी)हरू काठमाडौंबाट पलायन भएर मुलुकका विभिन्न ठाउँ र भारतमा गएर बसोवास तथा व्यापार गर्न थालेका थिए। शासनमा रहँदा आज पनि अकुत सम्पत्ति आर्जन गरिने परिपाटी भए पनि राणाशासनमा चन्द्र र उनका छोराहरूले जति भ्रष्टाचार र लुट कसैले गरेनन्।

जंगबहादुरले दैवीप्रकोप तथा युद्धको बेला खर्च गर्न भनेर खडा गरेको ११ करोड रुपैयाँको कोषको दुरुपयोग चन्द्रशमशेरदेखि नै शुरु भएको थियो। उनले अब उप्रान्त सिंहदरवारलाई श्री ३ तथा प्रधानमन्त्रीको निवास र कार्यालयको रूपमा प्रयोग गर्ने भनेर सरकारी ढुकुटी (कोष)बाट २ करोड निकालेर सिंहदरवार राज्यलाई बेचे।

आफैंले सम्पूर्ण रोलवाला र भारदारहरूलाई थापाथलीस्थित पाञ्चायनमा लगेर अब आइन्दा रोलक्रममा कुनै हेरफेर नगर्ने वाचा गरे पनि उनैले रोलक्रम मिच्नुका साथै आफ्नै भाइभतिजालाई ए, बी, सी क्लास राणा भनेर छुट्टाए। पार्सिभल ल्याण्डन भन्ने बेलायती लेखकलाई समेत उनको पुस्तकमा यो कुरा लेखाउन लगाए।

चन्द्रशमशेरको शासनकालमा रक्तपातको स्थिति नआए पनि उनले धेरै योग्य मानिसहरूलाई बिगारे। चन्द्रले वीरलाई भड्काउने षड्यन्त्र गरेझैं जुद्धले चन्द्रलाई विभिन्न प्रकारका षड्यन्त्र गरेर भड्काउने गरेका थिए। चन्द्रले जुद्धकै बहकाउमा लागेर भीमशमशेरलाई धेरै पटक भारदारी सभाहरूमा सबैको अगाडि नराम्ररी हप्काएका थिए।

राणा प्रधानमन्त्रीहरूमध्ये चन्द्रशमशेरकै षड्यन्त्रमा परेर धेरै उच्च पदाधिकारी तथा गुरुज्यु-पुरोहितहरूले उनको आज्ञा नमानेको आरोपमा सजाय भोग्न वाध्य भएका थिए। पञ्चभैया भनेर चिनिने चन्द्रकी जेठी पत्नी लोकभक्तलक्ष्मी पट्टिका ५ जना छोराहरू मोहनशमशेर, बबरशमशेर, केशरशमशेर, सिंहशमशेर र कृष्णशमशेर त्यतिबेला निकै शक्तिशाली बनेका थिए।

चन्द्र निकै कुटिल शासक भए पनि यिनका ज्वाइँ बझाङी राजा जयपृथ्वीबहादुर सिंह उदार, प्रजातन्त्रवादी र शिक्षाप्रेमी थिए। चन्द्रकी जेठी पत्नीको निधन भएको ३ महिना पछि नै उनले बालकुमारीदेवीसँग विवाह गरे।

त्यतिबेला पञ्चभैया निकै रुष्ट भएका थिए। पछि तिनै कान्छी रानीबाट विष्णुशमशेर, शंकर शमशेर, मदन शमशेर र एक छोरीको जन्म भएको थियो। जेठीका छोराहरू भन्दा बालकुमारीका छोराहरू निकै उदारवादी प्रकृतिका थिए। उनकी भारतीय कान्छी पत्नी रोनप पडीबाट बद्रीशमशेरको जन्म भएको थियो।

वास्तवमा चन्द्रशमशेरको शासनकालबाट नै नेपालमा दुनियादारको स्तरमा राणा विरोधी कृयाकलापको शुरुवात भएको थियो। आर्य समाजसँग सम्वद्ध तथा सहिद शुक्रराज शास्त्रीका पिता माधवराज जोशीलाई काठमाडौँमा पक्राउ गरेर र पछि उनका अर्का छोरालाई पनि पक्रेर चन्द्रले निकै यातनाका साथ कारागारमा राखेका थिए।

बी.पी. कोइरालाका पिता कृष्णप्रसाद कोइरालालाई पनि पक्रन चन्द्रले निकै प्रयास गरेका थिए। रातिको समयमा कुनै राजनीतिक कृयाकलाप हुन नपाओस् भन्नको निम्ति जाडोमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म र गर्मीमा राति ११ बजेदेखि बिहान ३ बजेसम्म तोप पड्काई काठमाडौँमा दिनहुँ कफ्र्यू लगाउने गरेका थिए। त्यस्तै विदेशी र नेपालीलाई काठमाडौँ पस्न र बाहिर जान भिमफेदी र थानकोटमा भीसा देखाउनु पर्ने र सामान जाँच गराउनु पर्ने नियम लगाएका थिए।

चन्द्रकै शासनकालमा जंगबहादुरको शिकार कुटनीतिले अझै मौलाउन पाएको थियो भने बेलायतका तत्कालीन प्रिन्स अफ वेल्स प्रिन्स जर्ज समेत नेपालमा शिकार खेल्न आएका थिए।

सन् १९०८ अप्रिलमा चन्द्रशमशेर बेलायतको भ्रमण गर्ने दोस्रा प्रधानमन्त्री भए। उनले राजा एडवर्ड सातौँसँग भेट गरेका थिए। जंगबहादुरले सन् १८५० जनवरीमा बेलायतको भ्रमण गरेर महारानी भिक्टोरीयासँग भेट गरेका थिए। चन्द्रले पनि त्यतिबेला जंगबहादुरले झैं फ्रान्सको भ्रमण गरे र फर्कने क्रममा स्वीट्जल्र्याण्ड, इटाली र मिश्र हुँदै पानी जहाजमा फर्के।

त्यतिबेला उनिसँग यूरोप गएका भाइ जुद्ध, भतिजा रुद्र, छोराहरू मोहन, बबर, केशर, सिंह र ज्वाइँ जयपृथ्वीबहादुर सिंह तथा अन्य व्यक्तिहरू जस्तै इन्जिनियर किशोरनरसिंह आदिले बेलायत, फ्रान्स र अन्य मुलुकको भ्रमणबाट निकै ज्ञान हासिल गर्ने मौका पाएका थिए। कतिपयले पछि सो ज्ञानको सदुपयोग गरे भने कतिपय षड्यन्त्र र भ्रष्ट आचरणमा नै लिप्त भएर बसे।

चन्द्रशमशेरले प्रथम विश्वयुद्धमा लाखौँ सेना पठाएर बेलायतको जीतको निम्ति ठूलो मद्दत पु¥याएको पैँचो तिर्न बेलायतले सन् १९२३ मा नेपाललाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिँदै नेपालसँग ऐतिहासिक सम्झौता गर्‍यो।

यो सम्झौता चन्द्रको शासनमा सबैभन्दा ठूलो कोशेढुङ्गा सावित हुन गयो। वास्तवमा उनले सनद जारी गर्दै गाउँ गाउँबाट जबर्जस्ती युवाहरू जम्मा गरेर युद्धमा पठाएका थिए तर गोर्खाली युवाहरूको बहादुरीले गर्दा ठूलो संख्यामा उनिहरू युद्धमा मरे पनि उनैले बेलायतलाई जिताएका थिए। जस खाने भने चन्द्र भए।

तर त्यतिबेला चन्द्रशमशेरले नेपालले गुमाएका केही भूभाग फिर्ता गरिदेउ भनेर मागेको भए नेपालमा फ्रान्स र जर्मनीको प्रभाव नपरोस् भन्ने हिसाबले पनि त्यस्तो प्रस्तावको बेलायतले समर्थन गर्ने सम्भावना थियो होला।

तर उनिहरूले बेलायतको बैंकमा नेपालको नाममा १० लाख पाउण्ड राखेर खाता खोलि दिनुका साथै २१ लाख रुपैयाँ नगद दिएपछि चन्द्रशमशेर दङ्ग परे। जंगबहादुरदेखि चन्द्रशमशेरसम्मले पटक पटक बेलायतलाई सैनिक सहयोग गरेको भए पनि तिव्वतसँग लडाइँ गर्न चन्द्रले हतियार किन्न खोज्दा बेलायतले उसको नेपाल र तिव्वत दुवैसँग राम्रो सम्बन्ध भएकोले यो युद्ध गर्न नहुने भन्दै नेपाललाई अघि बढ्नबाट रोकेको थियो। यतिबेला पनि चन्द्रले सरकारी ढुकुटीबाट अढाइ करोड झिकेका थिए र पछि भीमशमशेरले पचाए भन्ने हल्ला चल्यो।

चन्द्रशमशेरको शासनकालमा विद्युत उत्पादन, चन्द्र नहर, रेल तथा सडक र झोलुङ्गे पुलको थोरै भए पनि विकास भएको थियो। चन्द्रले नै जंगबहादुरले गर्न खोजेको सती प्रथा उन्मुलन गर्न सफल भए भने नेपालबाट दासप्रथाको अन्त गरेर हजारौँ अमलेखहरूलाई पुर्नस्थापना गर्न वीरशमशेरको पालामा बनेको शहर वीरगञ्जबाट केही किलोमिटर उत्तरमा पर्ने भिक्षाखोरीमा अमलेखगञ्ज भन्ने बस्ती खडा गरे।

यो पनि चन्द्रशमशेरको ठूलो काम हो भने यस्तो असल कार्य त्यतिबेला विश्वमा नै सायदै कतै भएको थियो। देवशमशेरले स्थापना गरेका कन्या स्कूलहरू बन्द गरे पनि पछि त्रिचन्द्र कलेजको स्थापना गरे। उनैले त्रिचन्द्र मिलिटरी अस्पतालको पनि स्थापना गराएका थिए।

राम्रा र नराम्रा कामको ठूलो फेहरिस्तसहित चन्द्रको निधन सन् १९२९ डिसेम्बर १४ को दिन भयो र सोही दिनबाट भीमशमशेर नेपालका श्री ३ महाराज र प्रधानमन्त्री भएर एक नयाँ अध्यायको शुरुवात भयो।

क्रमशः …

– लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *