कोशी प्रदेशमा कांग्रेस-एमालेबीच सहमति, सोमबार मन्त्रिपरिषद विस्तार हुने

डिसी नेपाल
१३ साउन २०८१ १०:४९

काठमाडौं। अन्तत कोशी प्रदेशमा नेपाली कांग्रेस सहभागी हुने भएको छ। कांग्रेस–एमालेबीच मन्त्रालयको भागवण्डामा सहमति जुटेपछि कांग्रेस एमाले नेतृत्वको सरकारमा सहभागी हुने भएको हो।

दुई दलबीच मन्त्रालयको भागवण्डामा सहमति जुटेपछि सोमबार मुख्यमन्त्री हिक्मत कार्कीले सरकार विस्तार गर्ने भएका हुन्।

दुई दलबीच भएको सहमति अनुसार नेपाली कांग्रेसले चार मन्त्री र एक राज्य मन्त्री लिने छ भने सरकारको नेतृत्व गरेको दल एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय पाउने छ। स्रोतका अनुसार यसअघि माओवादीले लिएका मन्त्रालय कांग्रेसले लिने सहमति भएको छ।

कोशी प्रदेश सरकारमा माओवादी केन्द्रले सरकार छाडेपछि अहिले भौतिक पूर्वाधार, स्वास्थ्य, पर्यटन वन तथा वातावरण मन्त्रालय खाली रहेको छ। उद्योग, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालय कांग्रेसले पाउने सम्भावना रहेको छ।

त्यस्तै केन्द्रमा केपी शर्मा अ‍ोली प्रधानमन्त्री बनुञ्जेल कोशीमा हिक्मतनै मुख्यमन्त्री रहने र शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति पनि भएको एक नेताले जानकारी दिए। सहमति अनुसार कोशीमा अब हिक्मत कार्कीपछि उद्धव थापा मुख्यमन्त्री बन्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *