क्यानडामा भयानक आगोले झण्डै आधा सहर जलेर नष्ट
काठमाडौं । क्यानडाको ऐतिहासिक सहर ज्यास्परमा लागेको आगलागीका कारण आधा सहर जलेर नष्ट भएको छ । यहाँका हजारौं मानिसले आफ्नो घर छाड्नु परेको छ ।
अधिकारीहरूका अनुसार तीव्र गतिमा फैलिएको डढेलोका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्परको झण्डै आधा भाग ध्वस्त भएको र आगो अझै नियन्त्रणमा आउन सकेको छैन।
पश्चिमी क्यानडाको ज्यास्पर नेशनल पार्क शहरका सडकहरू आगलागीका कारण ध्वस्त भएका छन् । यहाँबाट आएको भिडियोमा घर र जलेको गाडीको भग्नावशेष देख्न सकिन्छ ।
ज्यास्परका अधिकारीहरूले अग्नि विभागका कर्मचारीहरूले सकेसम्म धेरै भवनहरू बचाउने प्रयास गरिरहेको बताएका छन्।
अहिलेसम्म कसैको मृत्युको खबर प्राप्त भएको छैन । तर, करिब २० हजार पर्यटक र पाँच हजार स्थानीय बासिन्दा अल्बर्टा प्रान्तको पहाडी क्षेत्रमा बसाइँ सरेका छन् ।
एक पत्रकार सम्मेलनको क्रममा, अल्बर्टा प्रिमियर डेनियल स्मिथले भने “सम्भवतः ३० देखि ५० प्रतिशत” भवनहरू ध्वस्त भएका छन्।
Facebook Comment