प्रतिनिधिसभा बैठक : विद्यालय बसको गति नियमन गर्न सुझाव

काठमाडौं। सांसदहरुले कास्कीको पोखरा महानगरपालिका-२१ मा दुर्घटनामा परेको विद्यार्थी बोकेको स्कूल बसको विषयबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद शिव नेपालीले तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष रहेको उल्लेख गर्दै विद्यालयको बसको गति सीमित बनाउन र नियमन गर्न सरकारलाई सुझाव दिए।
उनले भने, “चालकले तीव्र गतिमा बस कुदाउने गर्दछन्, त्यसकारण नेपाल सरकारले कडाईका साथ विद्यालयका बसको गति सीमिततालाई कार्यान्वयन गर्न जरुरी छ।”
कास्कीको पोखरा महानगरपालिका-२१ मटिखान नजिकै एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको बस आज बस दुर्घटनामा परेको थियो। दुर्घटनामा ६ वर्षीय प्रिन्स विक र ३३ वर्षीया आरती विकको मृत्यु भएको थियो।
सांसद नेपालीले भने, “पछिल्लो समयमा सडक तथा हवाई दुर्घटना बढेको छ, उड्नेबाट यात्रा गरे शव नै नचिनिने र गुड्नेबाट यात्रा गरे शव नै नभेटिने अवस्था छ, दुर्घटना न्यूनीकरणमा सरकारको ध्यान जानुपर्छ।”
सांसद नेपालीले बिपी कोराइलाको ‘उत्पादन र उद्यमशीलतामा जोड दिनुपर्छ’ भन्ने भनाइलाई स्मरण गर्दै नेपालमा प्रजातन्त्र तथा गणतन्त्र आए पनि तीनै तहका सरकारले सही ढङ्गबाट काम गर्न नसकेको आरोप लगाए। गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय यातायातसम्बन्धी ऐन, कानून तथा नियमावली जारी गरे पनि सो ऐन, कानुन तथा नियमावली यातायात व्यवसायी विरुद्ध भएको उनको भनाइ थियो।
“कानुनका कयौँ बुँदा यातायात व्यवसायीका विरुद्धमा छन्, यातायात महासंघ, स्थानीय समितिसँग छलफल नै नगरी ऐन ल्याएको देखिन्छ,” सांसद नेपालीले भने।
सांसद रोशन कार्कीले महिला हिंसाको उजुरी परेका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई कुनै पनि सरकारी निकायमा नियुक्त गर्न नहुने जिकिर गरिन्।
Facebook Comment