आफूले हारे रक्तपात र गृहयुद्धको धम्की दिएका निकोलस मदुरो फेरि भेनेजुएलाका राष्ट्रपति बने

डिसी नेपाल
१६ साउन २०८१ १२:४७

काठमाडौं । भेनेजुएलामा भएको राष्ट्रपतीय निर्वाचनको नतिजा आएको छ । निकोलस मदुरो तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएका छन् । नतिजा अनुसार उनले ५१ प्रतिशत मत प्राप्त गरेका छन् । योसँगै विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजले ४४ प्रतिशत मत पाएका छन् ।

तर, विपक्षीहरुले भने चुनावी नतिजामाथि प्रश्न उठाइरहेका छन् । किनभने अधिकांश एक्जिट पोलमा विपक्षीको जित हुने अनुमान गरिएको थियो । यति मात्र होइन, विपक्षी दलले एडमन्डो गोन्जालेजले ७० प्रतिशतभन्दा बढी मत प्राप्त गरेको दाबी गरेका छन् । विपक्षीले गोन्जालेजको जितको तथ्यांक पनि रहेको दाबी गरेको छ ।

सोही क्रममा विपक्षी नेता मारिया कोरिनो मचाडोले सामाजिक सञ्जाल पोस्टमा सेनालाई ‘सही पक्ष’सँगै उभिन अपिल गरेका छन् । उनले लेखेका छन्, ‘यो सही पक्षमा उभिने समय हो । तपाईंसँग एउटा मौका छ र यो अहिले छ।’ मारियालाई सैन्य लक्ष्यमा आक्रमण गर्ने र देशलाई अस्थिर बनाउने षड्यन्त्र गरेको आरोपका कारण चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो।

भेनेजुएलाको निर्वाचन प्राधिकरणले विपक्षी उम्मेदवार गोन्जालेजले ४४ प्रतिशत मत प्राप्त गरेको जनाएको छ । यद्यपि, गोन्जालेज भन्छन् ‘नतिजा लुकाउन सकिँदैन। देशले शान्तिपूर्ण परिवर्तन रोजेको छ ।’

राष्ट्रपति निकोलस मदुरो ११ वर्षदेखि सत्तामा छन् । उनले गत हप्ता आफ्ना समर्थकहरूलाई यदि उनले चुनाव हारे भने भेनेजुएलामा रक्तपात र गृहयुद्ध सुरु हुने भनेका थिए ।

मदुरोको जितमा विपक्षी मात्रै होइन बेलायतले पनि प्रश्न उठाएको छ । बेलायतले निर्वाचन प्रक्रियामा ‘गम्भीर अनियमितता’ भएको आरोप लगाएको छ । बेलायतले विस्तृत नतिजा सार्वजनिक गर्न माग गरेको छ । यसैबीच अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले भेनेजुएलाका जनताको साथमा उभिने बताएकी छन् ।

निकोलस मदुरो सन् २०१३ देखि राष्ट्रपति छन् । उनी सत्तामा आएदेखि भेनेजुएला राजनीतिक र आर्थिक संकटसँग जुधिरहेको छ । १० वर्षमा ७८ लाखभन्दा बढी मानिसले भेनेजुएला छोडेको अनुमान गरिएको छ । प्रतिवेदनले भेनेजुएलाको ८२ प्रतिशत जनसंख्या गरिबीसँग संघर्ष गरिरहेको देखाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *