माधव नेपालले सेनापतिबारे सफेद झुठ बोलेपछि

डिसी नेपाल
१६ साउन २०८१ १७:३५

काठमाडौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू शक्तिशाली हुँंदा भ्रष्टाचारविरुद्ध कडा कदम चालेको प्रमाण दिने क्रममा नेपाली सेनाबारे गलत कुरा बोलेका छन्।

आफूलाई अब्बल भ्रष्टाचार विरोधी देखाउन नेता नेपालले ०५२ सालमा उपप्रम एवं रक्षामन्त्री भएका बेलाको उदाहरण दिँदै मंगलबार राजधानीको एक कार्यक्रममा आफूले तत्कालीन राजा बीरेन्द्रले भनेको पनि नमानी भ्रष्टाचारमा परेकाले तत्कालीन प्रधानसेनापतिलाई बर्खास्त गरेको भाषण गरेका दिए। तर, वास्तविकता विल्कुल भिन्न थियो।

के भएको थियो त्यो बेला?

कुरा २०५२ सालको हो। तत्कालीन प्रधानसेनपाति गडुलसमशेर जवरालाई गोप्य सूचना आएपछि उनले तत्कालीन जर्नेल योगेन्द्रप्रताप राणाको भ्रष्टाचारबारे शुरुमा कोर्ट अफ इन्क्वायरी गठन गरी अनुसन्धान शुरु गराए।

अनुसन्धानका क्रममा जर्नेल राणाले भ्रष्टाचारजन्य कसुर गरेको पत्ता लागेपछि उनले कोर्ट मार्शल गठन गरे । कोर्ट मार्शलले जर्नेल राणासहित संलग्नहरुमाथि वार्खास्त गरी कारवाही गर्नुपर्ने र जेल नै सजाय हुनुपर्ने गरी फैशला गरी प्रधानसेनापति गडुलसमशेरसमक्ष पेश गर्‍याे।

त्यसपछि सेनापति राणाले सूचनादातासमेत रहेका तत्कालीन कर्णेल गिर्वाणबिक्रम शाह र लेफ्टिनेण्ट कर्णेल महेन्द्रभक्त विष्टको हकमा सूचनादाता भएको र उनीहरुको संलग्नता पनि नभएको भन्दै बाँकी अरुलाई जेल, बर्खास्ती र पदमुक्त गर्ने जस्ता जेजे मा सिफारिस भएको हो सोही वमोजिम कारावहीको प्रक्रिया अघि बढाए।

तत्कालीन कानूनअनुसार, कोर्ट मार्शल बोर्डले सेनापतिलाई सिफारिस गरेको विषयमा सेनापतिले थप जाँची अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पठाउनु पर्ने व्यवस्था थियो। सोही बमोजिम उनले फाइल सिफारिससहित अघि बढाए।

यसबारेको निर्णय आउनुभन्दा केही दिनअघि उनको पदावधिका कारणले अनिवार्यरुपमा विदामा बस्नै पर्ने भयो। किनकि सेनापतिको कार्यकाल सकिन एक महिना बाँकी छँदा नयाँ कामु प्रधानसेनापति बनाई पुराना सेनापति विदामा एकमहिना बस्ने अनि रिटायर्ड हुने गर्दछन्। यो चलन अहिले पनि छ।

त्यसबेला गडुलसमेशर पनि एक महिना विदा बसेको केही दिन भएको थियो। जर्नेल योगेन्द्रप्रताप राणासहित विभिन्न व्यक्तिहरुलाई सेनापतिका हैसियतमा लडुल समेशेरले गरेको सिफारिस माधव नेपालले अस्वीकार गरे।

उनले सिफारिसमा नाम नपरेका कर्णेल गिर्वाणविक्रम शाह र लेफ्टिनेण्ट कर्णेल महेन्द्रभक्त श्रेष्ठलाई पनि बर्खास्त गर्ने निर्णय गरे। सेनापतिको सिफारिसमा नपरेका दुईजनालाई समेत कारवाही गर्ने निर्णय माधव नेपालले गराएपछि विदामा बसेका सेनापति गडुलसमशेर राणाले पदावधि सकिनुभन्दा केही दिनअघि राजीनामा दिएका थिए।

सेनापति पदको गरिमाका लागि आफूले राजीनामा दिएको तत्कालीन सेनापति राणाले राजीनामा पत्रमै लेखेको बताइन्छ। उनलाई नेता नेपालले बर्खास्त गरेको होइन। सेनापति राणा त्यसबेलाको भ्रष्टाचारमा परेका पनि होइनन्। बरु भ्रष्टाचारको छानविन गराएर कारवाही गराउनेमा सेनापति राणा थिए।

सेनापति राणाले सिफारिस विपरीत नेता नेपालले त्यसबेला कर्णेलहरु शाह र विष्टलाई पनि कारवाही गरेपछि परिस्थिति निकै गम्भीर भयो। दुबै कर्णेलहरुले तत्कालीन कानूनअनुसार, तत्कालीन श्री ५ को सरकारमा पुनरावेदन गरे हामीले भ्रष्टाचार गरेको होइन भनेर। माधव नेपाल आफ्नो पुरानो निर्णयमा अड्न सकेनन्। दुबै कर्णेललाई पद वहाली गर्ने निर्णय उनले नै मन्त्रिपरिषद्बाट गराएका थिए।

बरु गडुलसमेशरपछि सेनापति बनेका धर्मपालबरसिंह थापाले माधव नेपालले पदवाहाली गरेका दुई कर्णेलहरु शाह र विष्टलाई सेनामा लिन मानेनन्। एकपटक हटिसकेको व्यक्तिलाई भित्र ल्याउनु हुन्न भन्ने तर्कका आधारमा राणालाई राष्ट्रिय सेवा दलको प्रमुख बनाइयो भने र विष्टलाई तत्त्कालीन नेपाल गुप्तचर विभागमा सरुवा गरिएको थियो।

किन झुठो बोले नेपालले ?

अहिले जनताको सेन्टिमेण्ट भ्रष्टाचारको विरुद्धमा छ। भ्रष्टाचारीप्रति आक्रोश बढेको बेला आफूलाई विगतका काण्डहरुबाट चाखो देखाएर त्यो बेलैदेखि आफू भ्रष्टाचार विरोधी थिए भन्ने भान पार्नका लागि नेता नेपालको भरमग्दुर प्रयास देखिन्छ।

यसै पनि पार्टी खुम्चिँदै गएको र सत्तारोहण सम्भावनाहरु पनि टर्दै गएको अवस्थामा नेता नेपालका लागि आफू चोखो हो भन्ने दावी जनताले पत्याइदिने अवस्था ल्याउनु पर्ने वाध्यता छ। यसका लागि अरुतिरका कुरा उठाउँदा विरोध हुने तर सेनाको कुरा उठाउँदा खासै कसैले नबोल्ने भएकाले नेपालले झुठ बोल्न पनि सेनासम्बन्धी विषय उठाएका हुन् ।

भ्रष्टाचारजन्य विभिन्न लफडाहरुमा विवादित हुँंदै उम्कँदै गरेका पूर्वप्रधानमन्त्री नेपाल विगत केही बर्षदेखि ललिता निवास काण्ड र केही महिनाअघिदेखि पतन्जलीलाई जग्गा खरिद विक्री गर्न दिएको काण्डमा चर्को विवादमा पर्दै आएका छन्।

ललिता निवास प्रकरण विभिन्न चरणमा अनुसन्धान हुँंदै राजनीतिक शक्तिको प्रभावमा रुमल्लिइरहेको छ अझै भने पतन्जली प्रकरण अझै छानविनमै छ। दुबै काण्ड माधव नेपाल प्रधानमन्त्री भएका बेला गरिएका भ्रष्टाचारका ठूला काण्ड हुन्।

तत्कालीन सेनापतिबारे नेता नेपालले झुठ बोलेकोमा सामाजिक सञ्जालहरुमा आक्रोशसमेत पोख्न थालिएको छ। बरिष्ठ अधिबक्ता एवं पूर्वमहान्यायाधिबक्ता सुशीलकुमार पन्तले फेसबुकमै एक स्ट्याटस लेख्दै माधव नेपालले सफेद झुठ बोलेको प्रतित्रिया दिएका छन्।

उनले लेखेका छन्-‘यो सफेद झुठ हो। तत्कालीन सेनापतिले निजको रायको सरकारबाट कदर नभएको हुँंदा प्रधानसेनापति पदको मर्यादाका लागि राजीनामा दिएका थिए। बर्खास्त गरिएको सफेद झुठ कुरा हो ।’

नेपाली सेनाको कानून विभाग प्रमुखसमेत भइसकेका पूर्व जर्नेल नीरेन्द्र अर्यालले पनि सामाजिक सञ्जालमा नेता नेपालले गलत कुरा बोलेको उल्लेख गरेका छन्। उनले तत्कालीन घटनाक्रमको तिथिमितिसमेत उल्लेख गरेर सेनापतिले दिएको राजीनामा तत्कालीन श्री ५बाट स्वीकृत गरेको हो सरकारले बर्खास्त गरेको होइन भनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *