माओवादीमा हरिबोलले देखाएको उच्च नैतिकता

सुरुवातदेखि नै पद त्यागको कीर्तिमान

डिसी नेपाल
१७ साउन २०८१ ६:५३

काठमाडौं। माओवादी आन्दोलनमा अनवरत रुपमा लागेर त्यसको उत्थानमा प्रमुख भूमिका खेलेका प्रमुख पात्रको नाम हो हरिबोल गजुरेल।

सिन्धुलीका स्थायी बासिन्दा गजुरेल २०४८ सालदेखि निरन्तर माओवादी आन्दोलनमा जोडिएका पात्र हुन्। उसो त त्यस अघि पनि गजुरेल कम्युनिष्ट आन्दोलनमै रहे पनि आजको नेकपा(माओवादी केन्द्र)को तत्कालीन घटकमा उनी सोही बेलादेखि समाहित भएका हुन्।

माओवादीका शीर्ष नेताहरु मध्ये एक रहेका गजुरेलको पार्टी निर्माणमा अतुलनीय योगदान रहेको छ। उनले विगतमा संगठन निर्माण गरी पार्टीलाई उच्च स्थानमा पुर्‍याएको श्रेय लिँदै हालको दूराबस्थामा पनि आफ्नो उत्तिकै भूमिका रहेको स्वीकार गरेका छन्। र, त्यसको नैतिक जिम्मेवारी लिएर पदाधिकारीबाट राजीनामा दिन समेत तयार भएका छन्।

नेतृत्वले सकारात्मक कार्यको जस मात्रै लिने तर गलत परिणामको आत्मालोचना गर्दै त्यसको भागीदार नबन्ने पछिल्लो प्रवृत्तिप्रति कटाक्षस्वरुप उनले आफ्नो राजीनामाको प्रस्ताव पेश गरेर पार्टीमा सबैलाई नैतिकताको सबक सिकाएका छन्।

हालको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा(एकताकेन्द्र)मा २०४८ सालदेखि समाहित भएका गजुरेल आजपर्यन्त सोही पार्टीको मूल घटकका रुपमा रहेको पार्टीमा पदाधिकारी(उपमहासचिव)का रुपमा रहेका छन्।

यद्यपि यही १४ गते पदाधिकारी बैठकमा उनले पार्टीको वर्तमान दूराबस्थामा पुगेको नैतिक जिम्मेवारी लिँदै आफ्नो पदबाट राजीनामाको प्रस्ताव पदाधिकारी बैठकमा पेश गरेका छन्।

उनको राजीनामाको प्रस्ताव फगत जिम्मेवारी मुक्त हुनका लागि मात्र नभएर चार दशक हुनै लाग्दासम्म नेतृत्वमा रहेका प्रचण्ड र पदलोलुप अन्यलाई पनि नैतिकताको बोध गर्नका लागि गरिएको प्रहारका रुपमा लिइएको छ।

माओवादी उपमहासचिव गजुरेलको राजनीतिक इतिहासको सुरुवातदेखि नै उनले पदप्रति आशक्ति नदेखाएको घटनाक्रमले समेत दर्शाउँछ। तत्कालीन अवस्थामा मोहनबिक्रम सिंहले नेतृत्व गरेको नेकपा(मसाल)मा रहेका उनी डा.बाबुराम भट्टराई लगायतका नेताहरुको नेतृत्व गर्दै त्यहाँबाट विद्रोह गरेर प्रचण्ड नेतृत्वको एकताकेन्द्रमा समाहित भएका थिए।

त्यसबखत बाबुरामका समेत नेता रहेका उनले एकीकृत पार्टीको नेतृत्वदायी भूमिकामा बाबुरामलाई अघि सारेर आफूले उनलाई सहजै नेता स्वीकारेका थिए। २०४८ साल यता बाबुराम पार्टीको जिम्मेवार नेता रहँदा गजुरेलले उनकै मातहत रहेर काम गर्दै आए।

माओवादीले सुरु गरेको जनयुद्धमा बाबुराम समानान्तर सरकारको प्रमुख रहँदा गजुरेलले पार्टीको राजनीतिक भूमिकामा रहेरहेर काम गर्दै आएका थिए। शान्ति प्रक्रियामा आए यता एक पटक कृषि मन्त्री भएका उनी हालसम्मै निरन्तर पार्टी र मूल नेतृत्वकै पक्षमा रहँदै आफ्नो जिम्मेवारी वहन गर्दै आएका छन्।

प्रचण्ड नेतृत्वको माओवादीमा समाहित हुने क्रममै आफूलाई सहायक ठानेर बाबुरामलाई नेतृत्वमा अघि सारेका गजुरेलले त्यस यता पनि विभिन्न लाभका पद परित्याग गरेर आफूमा पदमोह नरहेको प्रमाणित गरेका छन्।

गत निर्वाचनमा विगतदेखि निरन्तर जित्दै आएको सिन्धुली- २ मा उठ्ने तिव्र इच्छाका बाबजुद पनि अन्तिममा आफ्नो दाबी छाडेका थिए। यद्यपि आफ्नै कार्यकर्ता रहेका लेखनाथ दाहालले नै बलजफ्ती गजुरेललाई रोकेर आफूलाई एकल उम्मेदवार सिफरिस गरेको बताइन्छ।

अन्तिमसम्म गजुरेलले आफ्नो दाबी पेश गरेपनि पार्टी अध्यक्षबाट टिकट पाउन असमर्थ भएका थिए भने दाहालले त्यहाँको टिकट पाएका थिए। तथापि दाहालको निर्वाचन परिणाममा क्षति पुर्‍याउने कुनै पनि क्रियाकलाप नगरेरै गजुरेलले आफ्नो उच्च राजनीतिक संस्कार प्रदर्शन गरेका थिए।

आफूले टिकट नपाएर रुष्ट बने पनि  सिन्धुलीको चुनावी परिणामलाई प्रत्यक्ष प्रभाव पार्ने  कदम नचाली चुनाव अवधिरभर निष्क्रय रहेर गजुरेलले दाहालविरुद्ध कुनै गतिविधि गरेनन्। जनयुद्धको भूमिगतकालीन समयमा  ‘शितलकुमार’का नामले परिचित उनले टिकट नपाए पनि कुनै आवेग र उत्तेजना प्रदर्शन गरेका थिएनन्।

यहाँ आफूले टिकट नपाए पछि सहकर्मीलाई हराउनै विपक्षीसँग लाग्ने प्रवृत्ति व्याप्त रहेको बेलामा उनले त्यसप्रकारका कुनै पनि कार्य गरेनन्। निर्वाचन अवधिभर दाहालविरुद्ध उग्ररुपमा प्रस्तुत नभएरै शान्त रहेका उनले आफ्नो नामजस्तै शीतल स्वभावको परिचय दिलाएका थिए। यस प्रकारको एक राजनीतिकर्मीमा हुनुपर्ने संयमता र उच्च राजनीतिक चरित्र उनले गत निर्वाचनमा स्पष्टरुपमा देखाएका छन्।

निर्वाचनको मत परिणाम पछि माओवादी-एमाले गठबन्धनसहित बनेको आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकार भएकै बेलामा उनलाई प्रचण्डले उपराष्ट्रपति पदका लागि प्रस्ताव गरेका थिए। गजुरेलले सो प्रस्ताव ठाडै अस्वीकार गरेर सक्रिय राजनीतिमै रहने भन्दै पार्टीमा कार्यकारी भूमिका दिन माग गरेका थिए।

त्यसलगत्तै मन्त्री सरह सेवा सुविधा पाउने गरी प्रधानमन्त्री रहेका पार्टी अध्यक्ष प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका उनले त्यसबाट पनि स्वेच्छाले राजीनामा दिएका थिए। दास बनेरै भए पनि पद जोगाउने विद्यमान प्रवृत्तिका अगाडि उनले आफ्नो सल्लाहको कुनै अर्थ नरहने भएपछि सो पद त्याग गरेकोे सार्वजनिक रुपमा स्पष्ट ढंगले बताएका थिए।

अहिले फेरि पार्टीको उपमहासचिवबाट पनि राजीनामा दिन तयार रहेको जनाउँदै अन्य पदाधिकारीलाई पनि पार्टीको वर्तमान अवस्थाको नैतिक जिम्मेवारी लिएर पद त्याग गर्न सुझाएका छन्।

बाचुञ्जेल पद प्राप्तिका लागि मरिहत्ते गर्नेका लागि यो पनि उनको नैतिक चरित्र प्रदर्शित गर्दै आफ्नो पद त्याग गरेर अरुलाई नैतिकताको पाठ सिकाउने अदम्य साहस हो।

पार्टीका जिम्मेवार नेताका कमजोरीको उपज वर्तमान दलको दुरावस्था उत्पन्न भएकाले त्यसको भागीदार पनि सबै रहेको गजुरेलको तर्क छ । उनले पार्टी कमजोर हुनुका पछाडिका हरेक क्रियाकलापमा आफ्नो पनि सहमति रहेकाले त्यसको नैतिक जिम्मेवारी लिन आफू तयार रहेको बताएका छन्।

यस अघि अध्यक्ष प्रचण्डले गरेका हरेक सही एवं गलत निर्णय सबैको सर्वसहमतिमा गरिएकाले पार्टी कमजोर हुनुमा सम्पूर्ण पदाधिकारीको भूमिका रहेको उनको प्रष्टोक्ति छ। तसर्थ सबैले आत्मसमीक्षा गर्नुपर्ने उनी बताउँछन्।

त्यसकै लागि सोमबार आफूले आफूसहित सबै पदाधिकारीले राजीनामा दिएर नैतिक जिम्मेवारी लिन लिखित प्रस्ताव नै पेश गरेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *